Comments Add Comment

चितवनको रामपुरमा अन्तर्राष्ट्रिय भैंसी सम्मेलन हुने

३ असोज, चितवन । चितवनको रामपुरमा नेपालमा नै पहिलोपटक अन्तर्राष्ट्रिय भैंसी सम्मेलन हुने भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा हुन लागेको ३ दिने सम्मेलन कात्तिक २९ देखि मंसिर २ गतेसम्म चल्नेछ ।

सम्मेलनमा देश-विदेशका भैंसी नै जम्मा पार्ने भने होइन । भैंसीको क्षेत्रमा लामो समयदेखि लागेर अध्ययन र अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता बैज्ञानिकहरू सम्मेलनमा भेला हुनेछन् ।

सम्मेलनमा विश्वका ९ देश नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरीका र क्यानडाका भैंसी सम्वन्धी अनुसन्धानकर्ताहरूको सहभागीता रहने कार्यक्रमका सदस्यसचिव डा.भूमिनन्द देवकोटाले जानकारी दिए ।

सम्मेलनमा ५५ जना बिदेशी पाहुनाहरूसहित २ सय जनाको सहभागीता रहनेछ । सम्मेलनमा भाग लिन ‘इन्टरनेशलन बफ्यालो फेडेरेशन’का महासचिव प्रा. डा. एन्तेनियो बर्गिस र पाकिस्तानको लाहोरस्थित भेटेनरी विश्वविद्यालयका प्रा. भाइस चान्सलर नासिम अहमद नेपाल आउँदैछन् ।

‘खाद्य तथा आर्थिक उन्नयनका लागि भैंसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ हुन लागेको सम्मेलनमा विभिन्न विश्वविद्यालयका १७ जना डीनहरूको पनि सहभागिता हुनेछ ।

पशुपंछी विकास मन्त्रालय, पशुपंछी विभाग र मिचिगन स्टेट् युनिभर्सिटी समेत यसका साझेदार संस्थाका रूपमा रहनेछन् । नेपालमा सञ्चालित फिड्स तथा फ्यूचर कार्यक्रम अन्तर्गत रहेको यूनिभर्सिटी अफ फ्लोरिडा यूएसएको पनि सम्मेलनमा सहयोग रहनेछ ।

के हुनेछ सम्मेलनमा ?

विश्वका विभिन्न देशमा रहेको भैंसीका प्रजातीहरूको बारेमा गरिएको अनुसन्धान र भूगोल सुहाउँदो प्रविधि एवम् ज्ञानसीपको आदानप्रदान गर्ने मूल उद्देश्य सम्मेलनको रहने पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको डीन प्रा.डा.शारदा थपलियाले जानकारी दिइन् ।

सम्मेलनमा नेपालसहितका १६ वटा ‘पेपर’ प्रस्तुतीकरण गरिनेछ । प्रमुख वक्ताका रुपमा १६ जनाले आ-आफ्नो देशमा भएका अनुसन्धानबारे बिषेश प्रस्तुती राख्ने छन् ।

दोस्रोखण्डमा ५० जना विज्ञहरूको मौखिक प्रस्तुती रहने र २० जना विद्यार्थीहरूको ‘पोष्टर’ प्रस्तुतीकरण रहने सदस्यसचिव डा. देवकोटाले जानकारी दिए ।

भैंसीको व्यवसायिक उत्पादनका लागि सरकारी निकायलाई नीति निर्माणमा समेत सहयोग पुग्ने गरी सम्मेलनमा निष्कर्ष निकालिने छ । राज्यको समेत कम प्राथमिकताका पारेको भैंसीपालन व्यवसायको दायरालाई थप प्रस्ट पार्दै लगानीमैत्री वातावरणका लागि प्रविधि र ज्ञानसहिको स्पष्ट खाका सम्मेलनले दिने डा. देवकाटाले दावी गरे ।

नेपालमा कस्तो छ भैंसीको अवस्था ?

नेपालमा पछिल्लो दिनमा भैंसीपालनमा ह्रास आएको पाइएको छ । उत्पादकत्व घट्दै जाँदा किसानहरू वैकल्पिक पेशामा आवद्ध हुन थालेका छन् । दूध उत्पादनभन्दा पनि भैंसीलाई मासुका रूपमा अत्याधिक प्रयोग गर्दा भैंसीको संख्या घटेको विज्ञहरु बताउँछन् । भैंसीमा देखिने बाँझोपन, दूध उत्पादनको समय छोटो र लागत बढी पर्न गएकाले गाईको तुलनामा नेपालमा व्यसायिक भैंसीपालन फस्टाउन नसकेको भैंसीको प्रजनन् प्रविधीमा अनुसन्धान गर्दै आएका डा. भूमिनन्द देवकोटाले बताए ।

देशको पशुजन्य उत्पादनमा भैंसीको योगदान अग्रणी भागमा पर्दछ । कूल मासु उत्पादनको आधाभन्दा बढी र दूध उत्पादनको २ तिहाई हिस्सा भैंसीले ओगट्ने गरेको छ । संख्याको हिसावले नेपालमा ५० लाख भैंसी रहेको अनुमान छ ।

नेपालमा ३ प्रजातिका भैंसी पाइने गरिन्छ । लिमे, पार्कोटे, गड्डी ३ प्रजातिका भैंसी छन् । पहाडी एवम् बेसीफाँटहरू र खोला किनाराका फाँटमा सदियौंदेखि अधिक भैंसी पाल्दै आएको पाइन्छ । नेपालमा पानीमा आहाल बस्ने ‘वाटर बफेलो’ पाइन्छन् । जंगलमा बस्नेलाई ‘स्वाम्प् बफ्यालो’ भनिन्छ ।

तराई क्षेत्रमा भारतीय प्रजातीको मूर्रा प्रजातिसँग ‘क्रस बि्रडिङ’ गराएर नेपाली मौलिकताको मूर्रा ‘क्रस’ भैंसी उत्पादन भैरहेको छ । नेपालमा अझैपनि परम्परागत रूपमा नै भैंसीपालन भैरहेको छ । भैंसीको आर्थिक महत्वलाई राज्यले नजरअन्दाज गरेको भैंसी सम्वन्धी अनुसन्धानकर्ता डा.भूमिनन्द देवकोटाको भनाई छ । ‘गाईभन्दा भैंसीको महत्व बढी छ, गाईलाई नेपालमा मासुका रुपमा प्रयोग गर्न सकिँदैन तर भैंसीलाई सकिन्छ, मःम लोकप्रिय नै छ,’ डा. देवकोटाले भने, ‘भैंसीको दूध पोसिलो, चिल्लो पदार्थ गाईकोमा भन्दा २ गुणा बढी हुन्छ ।’

बेमौसमी दूध उत्पादनमा अनुसन्धान

नेपालमा साउन, भदौदेखि फागुनसम्म दूधको प्रचुर सिजनका रूपमा लिइन्छ भने, चैतदेखि असारसम्म दूधको ‘ड्राई सिजन’ भनिन्छ । ‘ड्राई सिजन’ दूधको माग बढी र आपूर्ति कम हुन्छ । गाईको तुलनामा भैंसी ढिलो बढ्ने, ढिलो तयार हुने, खर्च बढ्ने, कम दूध दिने र दूध दिने अवधि पनि छोटो भएको कारणले यसको व्यवसायिकपनमा कमि आएको बैज्ञानिकहरूको निष्कर्ष छ । भैंसीको उत्पादत्व बढाउन पोषक तत्वको उपलब्धता, प्रजननमा सहजता र नस्ल सुधारमा जोड दिइएको भैंसी विज्ञ डा. देवकोटाले बताए ।

स्थानीय जातिको संरक्षण गर्दै नस्ल सुधार गरी उत्पादनशिल प्रजातिको विकास गर्न अहिले पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा अनुसन्धान भैरहेको छ । विषेश गरी दूधको सुख्खा सिजनलाई तोड्न र भैंसीको उत्पादकत्व बढाउन चैतमा नै भैंसीलाई कसरी सुत्केरी गराउने भन्नेबारेमा अनुसन्धान निष्कर्षमा पुगेको डा. देवकोटाले जानकारी दिए । ‘अब चैतमा पनि भैंसीको ब्याउती खाने दिन आउँदैछ,’ डा. देवकोटाले भने ‘यो एउटा भैंसी प्रजननमा ब्रेक थू्र नै हो ।’

उनले सुख्खा सिजनका लागि भैंसीको पोषण र दानाका सम्वन्धमा पनि अनुसन्धान भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment