Comments Add Comment

खाद्य संस्थानले भोलिबाट खसीबोका र च्याङ्ग्रा बेच्ने, यस्तो छ मूल्य


४ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा काठमाडौं भित्र्याउन थालेको छ । संस्थानले बुधवार नै ५ सय च्याङ्ग्रा काठमाडौं ल्याइसकेको छ भने दुई सय खसीबोका बिहीवार आउँदैछन् ।

संस्थानका प्रवक्ता शंकर सापकोटाले बिहीवारदेखि च्याङ्ग्राको बिक्री थालिने जानकारी दिए । खसीबोकाको बिक्री भने शुक्रवारदेखिमात्र थालिने छ ।

२० देखि ५० रुपैयाँ सस्तो

काठमाडौं ल्याएसँगै ती चौपायाको विक्री मूल्यसमेत कायम गरिएको छ । बुधवार बसेको संस्थान सञ्चालक समितिको बैठकले च्याङ्ग्राको सहुलियतसहितको प्रतिकिलो विक्री मूल्य छ सय ७५ रुपैयाँ, खसीको प्रतिकिलो त्यस्तो मूल्य चार सय ५५ र बोकाको ४ सय ५० रुपैयाँ कायम गरेको छ ।

दशैंको समयमा बिक्री गर्ने चौपायामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने घोषणा संस्थानले यसअघि नै गरिसकेको थियो ।

हाल चौपायाको बजार मूल्य नतोकिएको भए पनि व्यापारीले खसीबोकामा प्रतिकिलो चार सय ५० देखि चार सय ६० र च्याङ्ग्रा प्रतिकिलो सात सय २० देखि सात सय ५० रुपैयाँसम्म विक्री गर्दै आएका छन् ।

‘हाल कायम रहेको बजार मूल्य अनुसार संस्थानका च्याङ्ग्रामा प्रतिकिलो ५० रुपैयाँ र खसीबोकामा १५ देखि २० रुपैयाँसम्म सस्तो छ,’ संस्थानका प्रवक्ता सापकोटाले भने ।

मुस्ताङ्दा, दाङ र हेटौंडाबाट ल्याइयो

संस्थानले मुस्ताङ्बाट च्याङ्ग्राा र दाङ र हेटौंडाबाट खसीबोका भित्र्याएको हो । काठमाडौं उपत्यकाको खपतका लागि ल्याइएका ती चौपाया संस्थानको थापाथलीस्थित बाग्मती अञ्चल कार्यालयमा राखिएको छ ।

त्यहीँबाट ती चौपायाको विक्री गरिने संस्थानका प्रवक्ता सापकोटाले बताए । संस्थानले यसपटकको दशैंका लागि एक हजार पाँच खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment