+
+
Shares

मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक

टिकट वितरणमा संस्थापन पक्षले मनपरी गरेको नेपाल पक्षको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ५ गते ८:२१

५ असोज, काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेको स्थायी कमिटी बैठक आज काठमाडौंमा बस्दैछ । अपरान्ह बस्ने बैठकमा २ नम्बर प्रदेशको चुनावको समीक्षा हुनेछ ।

शुक्रबारदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्न बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले बताए । तर, बैठकमा स्वभाविक रुपमा चुनावको परिणाममाथि पनि छलफल हुने उनले बताए ।

दुई नम्बर प्रदेशका अधिकांश स्थानीय तहमा मतगणना चलिरहँदा एमालेले प्रारम्भिक चरणमा कांग्रेसलाई पछ्याउँदैछ । तर, अग्रतामा एमाले भन्दा अन्य दलहरु अगाडि रहेका छन् । जित्ने अपेक्षा गरेको कतिपय स्थानीय तहमा समेत एमालेका उम्मेदवार पराजित भएका छन् ।

माधव नेपाल पक्षको असन्तुष्टि

उम्मेदवारी चयनमा धेरै ठाउँमा संस्थापन पक्षले एकलौटी गर्दा परिणाम सन्तोषजनक नआएको माधव नेपाल पक्षको ठहर छ । आजको बैठकमा बरिष्ठ नेता नेपाल स्वयंले यो विषय उठाउन लागेको एमाले स्रोतले अनलाइनखबरलाई बतायो ।

माधव नेपालकै गृहजिल्ला रौतहटमा समेत जित्ने निश्चित रहेको चन्दू्रपुर नगरपालिकामा दुई व्यक्तिलाई टिकट दिँदा अन्तिममा संस्थापन पक्षका उद्धव रेग्मीलाई आधिकारिक घोषणा गरियो । त्यसको असर अहिले मतगणनाका क्रममा देखिएको छ ।

चन्द्रपुरको गणना जारी रहँदा एमालेका मेयरले उपमेयर वडाध्यक्षको भन्दा हरेक वडामा कम मत पाएका छन् । उम्मेवारीमा असन्तुष्टिकै कारण एमाले कार्यकर्ताले नै उनलाई भोट नदिएको पाइएको छ ।

धनुषा, सिरहा र महोत्तरीमा पनि टिकट वितरणमा पक्षपात भएकाले परिणाम सोचेजस्तो नआएको एमाले स्रोतले जनाएको छ । केन्द्रीय कमिटी बैठक नै शुक्रबारदेखि सुरु हुने भएकाले चुनावी समीक्षा केन्द्रीय सदस्यहरुबाटै हुने एक नेताले बताए ।

एमालेको आज बस्ने बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार चयनको मापदण्ड बनाउने र भावी प्रधानमन्त्री तथा मुख्यमन्त्रीका उम्मेदवार घोषणा गर्ने सम्भावना रहेको एमाले नेता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?