Comments Add Comment

दशैंमा पतिको प्रतिक्षाः ६ वर्ष बित्यो, भेटिएनन् यामबहादुर

पतिसँगै टीका लगाउन माइती जान पाइने आशा मारेकी छैनन्, इन्द्रमायाले

श्रीमान् यामबहादुरको पर्खाइमा रहेकी इन्द्रमाया ।

८ असोज, झापा । देशभर दशैंको तामझाम सुरु भइसक्यो । विदेशिएकाहरु ‘दशैं’ लिएर घर फर्किँदैछन् । किनमेलमा व्यस्त छन्, सबै । चोक, बजारमा चहलपहल बढेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका ४ की इन्द्रमाया श्रेष्ठ ६ वर्षअघि बेपत्ता पति यामबहादुरको बाटो हेर्दै बसेकी छन् । सुस्त श्रवणकी उनले उस्तै समस्याका पति दशैं बोकेर घर फर्किने आशा त्यागेकी छैनन् । त्यही आशामा उनले पाँच वटा दशैं बिताइसकिन् ।

एक समय थियो, घरमा दशैं भित्र्याएर टीका लगाउन माइती-ससुराली जान्थे । उनीहरुको प्रगाढ माया देख्दा छरछिमेकलाई डाहा लाग्थ्यो ।

तर, त्यो मायाले निरन्तरता पाएन । मंसिर ०६८ मा यामबहादुर एकाएक बेपत्ता भए ।

वर्षदिन अघिसम्म उनी खेतीपातीमा रमाएका थिए । सवारी दुर्घटनामा परेर उनका खुट्टामा समस्या आयो । त्यसैले खेती छाडी गाउँघरमा मागेर जीवीकोपार्जन गर्न थाले, जुन इन्द्रमायाले चाहेकी थिइनन् ।

मागेर हिँड्ने क्रममा टाढा पुग्दा बाटो भुलेर फर्किन नसकेको हुन सक्ने परिवारको शंका छ । परिवारको आँखा छलेर माग्न निस्किन्थे, उनी ।

पति बेपत्ता भएपछि इन्द्रमायालाई दशैं आउन छाडेको छ । ज्वाईं अम्मरबहादुर प्रधानका अनुसार यामबहादुर हराएपछि इन्द्रमायाको निद्रा पनि गायब भएको छ । आँगनमा बसेर उनको बाटो हेरिरहन्छिन् ।

राति निद्रामा बर्बराउँछिन्, रोइरहन्छिन् ।

हरेक वर्ष जब दशैं आउँछ, उनको पीडा दोब्बर हुन्छ । ‘पहिले श्रीमान्सँगै दशैं मनाएको याद आउँदो हो,’ काका रुपनारायण भन्छन्, ‘अझै आउँछन्जस्तो लाग्छ, उनलाई ।’

उनको खोजी गर्ने प्रयास नगरिएको होइन । इलाका प्रहरी बुधबारेले केही समय खोज्न सक्रियता देखायो । नभेटिएपछि प्रहरी पनि सुस्तायो । इन्द्रमायाबाहेकका परिवारजनले फर्केर आउने आशा मारिसकेका छन् । इन्द्रमायाको मन भने अझै बुझ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment