Comments Add Comment

नवनिर्वाचित मेयरको बाचाः मिश्रित संस्कृतिलाई जनकपुर फर्काउँछु

विजयी भएपछि मतदातालाई धन्यवाद  मेयर लालकिशोर साह र उपमेयर रिता झा । तस्वीर : रासस

८ असोज, जनकपुरधाम । कांग्रेसलाई भारी मतान्तरले हराउँदै जनकपुर उपमहानगरको मेयरमा विजेता बनेका राष्ट्रिय जनता पार्टीका लालकिशोर साहले भने- ‘मेरो पहिलो प्राथमिकता सामाजिक सद्भाव र मिक्स कल्चरलाई प्रमोट गर्नु हुनेछ ।’

ऐतिहासिक नगरी जनकपुर विविधितायुक्त शहर हो, जहाँ मधेसीसँगै पहाडी समुदायको पनि मिश्रति बसोबास छ ।

तर, पहिलो मधेस आन्दोलनसँगै यो सामाजिक सदभाव नराम्रोसँग खल्बलिएको छ । विस्तारै पहाडी समुदायले जनकपुर छाड्न थाले, जसले जनकपुरको व्यापार मात्र होइन, विभिन्न समुदायका मानिसहरु मिलेर बसेको समाजको संरचना नै बिगि्रयो ।

जनकपुरका नवनिर्वाचित मेयर साह, जो पहिलो मधेस आन्दोलन हुँदा कांग्रेसमा थिए । अहिले उनी तराई मधेसका ६ दल मिलेर बनेको राजपाका महामन्त्री पनि हुन् । यसको सुरुवात कांग्रेस र एमालेकालमै भएको मान्छन् । त्यसपछि माओवादी सशस्त्र विद्रोहसँगै तराई मधेसमा जन्मिएका सशस्त्र समूहले यसलाई बढाए ।

मधेस आन्दोलनमा पनि मिलेर बसेकालाई खलबल्याउने घटना भएको उनी स्वीकार गर्छन् ।

तर, अब आफ्नो प्राथमिकता मिश्रति संस्कृतिलाई फेरि जनकपुर फर्काउनु भएको बताउँछन् । भन्छन्, ‘म आफ्नोतर्फबाट सबै पक्षलाई समेटेर अघि बढ्न चाहन्छु ।’

‘जितेर पनि खुसी छैन’

जनताका आकांक्षा असीमित छ । झन जनकपुर अस्तव्यस्त छ । त्यसैले नवनिर्वाचित मेयर लालकिशोर कति सफल हन्छन्, अहिले अनुमान मात्र लगाउन सकिन्छ ।

भन्छन्, ‘म निर्वाचित भएँ, तर म खुस छैन । किनभने यो मुलुकलाई दिनुपर्ने कुराहरु दिइरहेका छैनौं । मैले जितेर कसरी काम गर्छु ? काम गर्न सकिनँ भने, समाजिक सद्भाव, एकता र परिर्वतन गर्न सकिनँ भने के अर्थ हुन्छ र ?’

स्थानीय स्तरमा गर्ने कामहरुलाई प्राथमिकता दिने तर, केन्द्रको पनि सहयोग चाहिने उनी बताउँछन् ।

‘राज्यमा हाम्रो लगानी छ, योगदान छ । ८० रुपैयाँ मधेसबाट गएको छ भने त्यसमा पनि जनकपुरको पनि हिस्सा छ’ उनले भने, म अपेक्षा राख्छु, राज्यको आयमा जसरी हाम्रो शेयरिङ छ, केन्द्रबाट त्यसरी नै सहयोगको वातावरण बनोस् ।’

उनलाई यसमै शंका छ । पछिल्लो वर्षहरुमा एउटा पनि ठूला परियोजना नआएको भन्दै लालकिशोरले भने, ‘नश्लका आधारमा हुने विभेद भनेकै त्यही हो ।’

को हुन् लालकिशोर ?

राजपाबाट मेयर जितेका लालकिशोर कांग्रेसका पुराना कार्यकर्ता हुन् । पञ्चालयकालदेखि कांग्रेसमा लागेका उनी पहिलो मधेस आन्दोलन र संविधानसभा चुनावमा पनि कांग्रेसमै थिए ।

तर, कांग्रेसको सोचमा परिर्वतन नभएको महसुस गरेपछि पार्टी छाडेको उनले सुनाए । राजपाको राजनीतिमा लागे पनि उनलाई लाग्छ, देशलाई जोगाउन कांग्रेस नै जिम्मेवार हुनुपर्छ । ‘कांग्रेस हजारौं कार्यकर्ताले बनाएका हुन्, बालुवा गिट्टी र रुखले होइन’ भन्छन्, तर, अहिले पनि कांग्रेसका नेताहरुको व्यवहार देखेर दुःख लाग्छ । मधेसविनाको देशको कल्पना नै गर्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment