Comments Add Comment

कास्की कांग्रेस सभापतिलाई कारबाही सिफारिस, चुनावमा अन्तर्घात गरेको आरोप

८ असोज, पोखरा । नेपाली कांग्रेस रुपा गाउँपालिका कास्कीले स्थानीय तहको निर्वाचनमा कांग्रेस पराजित हुनुमा पार्टीका जिल्ला सभापति कृष्ण केसी र क्षेत्रीय सभापति बिर्जमान गुरुङसहितको अन्तर्घात मुख्य कारण भएको भन्दै कार्वाहीका लागि सिफारिस गरेको छ ।

गत असार १० गते बसेको नेपाली कांग्रेस रुपा गाउँपालिकाको बैठकले पार्टीको आधिकारिक उम्मेद्वारबिरुद्ध पार्टीका जिल्ला सभापति केसी, क्षेत्रीय सभापति गुरुङसहितका नेता/कार्यकर्ता लागेर हराएको भन्दै उनीहरुबिरुद्ध कार्वाहीका लागि सिफारिस गरेको खुलाशा भएको हो ।

समीक्षा बैठकले कार्वाहीका लागि सिफारिस गरेपनि पार्टीका जिल्ला सभापति केसी र क्षेत्रीय सभापति गुरुङले आफूबिरुद्ध कार्वाहीको सिफारिस भएपछि पार्टीको केन्द्रमा सिफारिस नगरी पेन्डिङमा राखेका थिए । क्षेत्र र जिल्लाले सिफारिस नगरेपछि रुपा गाउँपालिका कार्यसमितिले सिधै केन्द्रमा कार्वाहीको सिफारिस पत्र पठाएपछि अहिले कांग्रेस कास्कीमा हल्लीखल्ली मच्चिएको छ ।

रुपा गाउँपालिका कांग्रेसको सबैभन्दा राम्रो पकड भएको क्षेत्र हो । कांग्रेसले रुपा गाउँपालिकामा सहज जीत हासिल गर्ने अनुमान गरेको थियो । उसो त एमालेले पनि कास्कीका रुपा गाउँपालिकाबाहेक अन्य क्षेत्र जित्ने विश्लेषण गरेको थियो । तर कांग्रेसको अनुमान बिपरित र स्वयम् एमालेको अपेक्षाबिपरित आश्चर्यजनक नतिजा एमालेको पक्षमा गएको थियो ।

कांग्रेसले रुपा गाउँपालिकाको प्रमुखमा पोखरा उपत्यका नगर विकास समितिका बहालवाला अध्यक्ष प्रकाशमोहन खनाललाई उम्मेद्वार बनाएको थियो । खनाल पोखरा उपत्यका नगर विकास समितिबाट राजिनामा दिएर रुपा गाउँपालिकाको उम्मेद्वार बन्न पुगेका थिए । तर खनाल उम्मेद्वार बनेदेखि कांग्रेसको एक पक्ष उनीबिरुद्ध मोर्चाबन्दीमा लागेको बताइन्छ ।

कांग्रेस कास्कीका सभापति कृष्ण केसी तथा क्षेत्रीय सभापति बिर्जमान गुरुङले खनाललाई उम्मेद्वार बनाउन पटक्कै नचाहेको स्रोत बताउँछ । तर खनालको व्यक्तित्व र केन्द्रमा रहेको पहुँचका कारण क्षेत्र र जिल्ला नेतृत्व टिकट दिन बाध्य भयो । टिकट पाएपनि उक्त समूह हराउ अभियानमा लागेको रुपा गाउँपालिका कार्यसमितिको बैठकले निश्कर्ष निकालेको हो ।

त्यसको प्रमाणको रुपमा खनाललाई पार्टीले आधिकारिक उम्मेद्वार बनाएको ३ दिन पछि कांग्रेसबाट प्रमुख पदका दाबेदार भनिएका ७ जनाले खनालबिरुद्ध मोर्चाबन्दी गर्दै विज्ञप्ती निकालेका थिए । विज्ञप्ती निकाल्नेमा प्रमुखका दाबेदार भनिएका टेकनाथ घिमिरे, बलबहादुर आले, नारायणकुमार श्रेष्ठ, बद्रीनाथ बसौला, खेमबहादुर गुरुङ, आनन्द सुबेदी र तिलबहादुर खड्का थिए । उनीहरुले जनभावना बिपरित खनाललाई टिकट दिएको भन्दै विद्रोह गर्ने धम्की दिएका थिए ।

समीक्षा बैठकले खनाललाई हराउन पार्टीका तीन थरिका व्यक्तिको भूमिका रहेको उल्लेख गरेको छ । जस अनुसार एक थरी उक्साउने र संरक्षण गर्ने, अर्कोले विज्ञप्तीबाजी गर्ने र अर्को समूहले बिपक्षी पार्टीसँग साँठगाँठ गरेको निश्कर्ष निकालेको छ । उक्साउने र संरक्षण गर्नेमा पार्टीका जिल्ला सभापति कृष्ण केसी र कास्की क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिर्जमान गुरुङ रहेको ठहर गरेको छ ।

सो समूहले विज्ञप्ती जारी गरेर निर्वाचनको माहोल बिगारेको, असर पार्ने, आफ्ना कार्यकर्ताको मनोबल खस्काउने गरेको आरोप लगाइएको छ । त्यस्तै, पार्टीका महाधिवेशन प्रतिनिधि खलिद मिया, गेहेन्द्र कोइराला र नवराज ढुंगानाले बिपक्षी पार्टीसँग साँठगाँठ गरेर अन्तर्घात गरेको भन्दै उनीहरुलाई पनि कार्वाहीका लागि सिफारिस गरेको छ । उनीहरुलाई पार्टी बिधान अनुरुप कार्वाही गर्न माग गरिएको छ ।

यसअघि नेपाली कांग्रेस कास्कीका प्रचार विभागका नवीन सिग्देलले चुनावमा नेतृत्वले कमाण्ड सम्हाल्न नसक्दा कास्कीमा पराजय भोगेको भन्दै कास्कीमा पार्टीको सम्पूर्ण संरचना नै भंग गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव पनि जिल्ला सभापति केसीले कार्यान्वयन नगरी पेन्डिङमा राखेर निस्तेज पार्ने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment