Comments Add Comment

दशैंमा सुरक्षा: राजमार्ग, सीमा र बैंकमा प्रहरीको विशेष निगरानी

खुल्ला सीमाका कारण हुने अपराध रोक्न भारतीय प्रहरीसँग समन्वय

११ असोज, झापा । दशैंलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार चाडपर्वको समयमा हुन सक्ने झै-झगडा, चोरी, डकैती, लुटपाट, चन्दा आतङ्क लगायतका उच्शृृङ्खल क्रियाकलापलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो ।

यो समयमा अत्याधिक मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप बढ्ने गरेको छ । यसका अलावा दशैंमा सबै व्यस्त रहँदा चोरी, तस्करी गर्नेहरु पनि सल्बलाउने गरेका छन् ।

त्यस्ता गतिविधिलाई लक्षित गरेर प्रहरीले झापामा विशेष निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख, प्रहरी उपरीक्षक -एसपी) विष्णुकुमार केसीले बताए ।

संवेदनशील क्षेत्रमा रात्री गस्ती

झापामा प्रहरीले संवेदनशील क्षेत्रहरुको पहिचान गरी त्यस्ता क्षेत्रहरुमा रात्री गस्ती बढाएको छ ।

‘सामान्य अवस्थामा भन्दा बढी सक्रियतासहित व्यापक प्रहरी परिचालन गरिएको छ’, एसपी केसीले भने, ‘रात्रीकालिन गस्ती बढाइएको छ । बजार एरिया र एकान्त रहने ठाउँहरुमा पनि विशेष निगरानी गरिएको छ ।’

प्रहरीले मुख्य राजमार्ग क्षेत्रका ठाउँहरुलाई संवेदनशील मानेको छ । झापाको भद्रपुर, काँकरभिट्टा, चारआली, बुधबारे, बिर्तामोड, गौरिगञ्ज, दमक, झिलझिले, दूधे, सुरुङ्गा लगायतको क्षेत्र प्रहरीको संवेदनशील क्षेत्रको सूचिमा छन् ।

ती क्षेत्रहरुलाई लक्षित गरेर क्वीक रेसपोन्स टिम (क्यूआरटी) पनि परिचालन गरिएको केसीले बताए ।

उनका अनुसार सादा पोशाकमा समेत प्रहरी परिचालन गरिनेछ । बैंक तथा वित्तीय कारोबार हुने क्षेत्रहरुमा पनि प्रहरीको विशेष नजर छ ।

होटल र मदिरा सेवन गर्ने ठाउँहरुलाई लक्षित गरेर पनि प्रहरीले विशेष सतर्कता अपनाएको केसी बताउँछन् ।

चाडपर्वमा जुवा, तास खेलेर हुन सक्ने सम्भावित झगडालाई लक्षित गरेर विशेष निगरानी बढाइएको छ । प्रहरीले उद्योग, कलकारखानालाई पनि सम्वेदनशील क्षेत्र मानेको छ ।

चाडपर्वको मुखमा बजारमा कालोबजारी, आर्थिक अनियमितता लगायतको समस्या समेत उपभोक्ताले भोग्नु परेको छ ।

सधैँ बजार अनुगमन झारो टराईमा सीमित हुने गरेको भन्दै उपभोक्ताले यस पटक बजार अनुगमनमा पनि थप कडाई गरिनु पर्ने माग गरेका छन् ।

सीमामा कडाई

चाडपर्वलाई अवैध सामग्री ओसारपसार गर्ने गिरोहले पनि उत्तम अवसर बनाउने गरेका छन् । अधिकांश चाडपर्व मनाउन व्यस्त रहँदा उनीहरुले अवैध सामग्रीलाई भित्र्याउने गरेका छन् । यो कुरालाई पनि प्रहरीले ध्यानमा राखेको जनाएको छ ।

नेपालको पूर्वोत्तर जिल्ला झापाको विभिन्न ठाउँ भारतसँग जोडिएको छ । काँकरभिट्टा नेपालकै एक प्रमुख नाका हो । जसले पश्चिम बंगालको दार्जिलिङ जिल्लालाई छुन्छ ।

त्यस्तै, भद्रपुर, झापा बजार (लसुना), केचना, खजुरगाछी लगायतको क्षेत्रले बिहार राज्यको किसनगञ्ज जिल्लासँग जोडिएको छ ।
काँकरभिट्टाको सीमावर्ती बजार पानीट्याङ्की हो भने भद्रपुर, झापा बजार र केचनाको क्रमशः गलगलिया, दिघलबैंक र कादोगाउँ सीमावर्ती बजार हो ।

खुला सीमाका कारण पनि आपराधिक क्रियाकलाप गर्नेहरुलाई सहज हुने गरेको प्रहरी बताउँछ । त्यसलाई निस्तेज पार्न जिल्ला प्रहरीका कार्यालय, झापाले दार्जिलिङ, सिलगढी र किसनगञ्ज प्रहरीसँग पनि छलफल गरेको छ ।

‘चाडपर्वको समयमा दुवै देशतर्फ सुरक्षा जटिलता सिर्जना हुने भएकाले हामीले समन्वय गरेका हौं’, केसीले अनलाइनखबरसँग भने, ‘दुवैतर्फ शंकास्पद व्यक्ति भेटिए विशेष निगरानी गरेर तत्कालन छानबिन गर्नेछौंं ।’

चाडपर्वको समयमा सीमापारिबाट पनि आपराधिक मनसाय बाकेर मानिसहरु नेपाल छिर्ने गरेको प्रहरी स्रोत बताउँछ । त्यस्ता अपराधीहरुको पनि झापाली बजारमा विगविगी हुन सक्ने प्रहरीको अनुमान छ । मानिसहरु दशैँ मनाउनलाई टाढाटाढाबाट घर फर्किन्छन् ।

फरार अभियुक्तलाई पक्राउ गर्ने अवसर

विदेशबाट आउनेको समेत लर्को हुन्छ । यही अवसरमा आपराधिक गिरोह सक्रिय हुने गर्छन् ।

प्रहरीका लागि पनि चाडपर्वको समय अपराध गरेर फरारको सूचीमा रहेका व्यक्तिहरुलाई पक्राउ गर्ने उत्तम अवसर हो । त्यस्ता व्यक्तिहरु दशैं मनाउन घर फर्किदा उनीहरु पक्राउ पर्ने गरेका छन् ।

प्रहरीले जिल्लामा कहीँकतै शङ्कास्पद गतिविधि भएको थाहा पाए सूचना दिन समेत नागरिकलाई आग्रह गरेको छ । र, चाडपर्वमा संयमित भइदिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

झापामा हाल ८० प्रहरी युनिट छन् । उनीहरुले विभिन्न क्षेत्रमा चेक पोइन्ट खडा गरेर सुरक्षालाई मजबुत बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment