Comments Add Comment

राजविराजमा राजपाको रोमाञ्चक जीत

११ असोज, सप्तरी । प्रदेश नम्बर २ मा असोज २ गते भएको स्थानीय निकाय निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । १३६ वटा स्थानीय तह रहेको यो प्रदेशको अन्तिम नतिजा राजविराज नगरपालिकामा संघीय समाजवादी फोरमले बाजी मारेको छ ।

१५ मतको झिनो अन्तरले संघीय समाजवादी फोरमका भिमराज यादवलाई हराउँदै राजपाका शम्भु यादव विजयी बने । मेयरमा राजपाका शम्भुले ४ हजार ७७४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवले ४ हजार ७५९ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा राजपाकी साधना झा ५ हजार १९५ मतसहित निर्वाचित भइन् । उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी किरण साहले ४ हजार २६९ मत प्राप्त गरिन् ।

कुल १८ स्थानीय तह रहेको सप्तरीमा राजपाको यो पाँचौ जित हो । यसअघि राजपाले डाक्नेश्वरी र हनुमानगगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी र रुपनी गाउँपालिकामा राजपाले जितेको थियो ।

जिल्लामा कांग्रेस र फोरमले पाँच-पाँच तह जितेका छन् । एमालेले दुई र नयाँ शक्तिले एक तह जितेको छ । कांग्रेसले सुरुंगा र शम्भुनाथ नगरपालिका तथा बेल्ही चपेना, विष्णुपुर र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा जित हात पारेको छ ।

यस्तै संघीय समाजवादी फोरम नेपालले जिल्लाको खड्ग नगरपालिका र बोदे बर्साइन नगरपालिका तथा तिरहुत, महदेवा एवं बलान बिहुल गाउँपालिका जितेको छ ।

एमालेले सप्तकोशी नगरपालिकामा मेयर तथा उपमेयर र कञ्चनरुपमा मेयर जितेको छ । नयाँ शक्तिले छिन्नमस्ता गाउँपालिकामा प्रमुख जितेको छ । कञ्चनरुपको उपमेयरमा कांग्रेस र छिन्नमस्ताको उपप्रमुखमा राजपाले जित हात पारेकको छ ।

रोमाञ्चक गणना

अन्तिम नतिजाको रुपमा आएको राजविराजको गणनालाई बुधबार दिनभरी क्रिकेट खेलसँग तुलना गरिएको छ । बुधबार बिहानसम्म राजपाले फोरम नेपालसँग फराकिलो अग्रता लिएपनि त्यसपछि राजपाको अग्रता क्रमशः घट्दै गयो । यद्यपी अग्रता भने राजपाकै रह्यो अन्तिम समयसम्म ।

बुधबार दिउँसो यस्तोसम्म परिस्थिति बन्यो, जुन बेला राजपाको अग्रता मात्रै १९ मतको थियो । यस बेला झण्डै ३ सय मतको गणना बाँकी थियो । यो बेला दुबैतिरका उम्मेदबार तथा समर्थक र कार्यकर्ताहरुको धड्कन बढ्दै गएको थियो । यही धड्कनकाबीच राजपाले जीत निकाल्न सफल भएको हो ।

हुन त पराजित भएका फोरम नेपालका उम्मेदबार भीमराज यादव पनि चुनावको केहि महिना अगाडि मात्रै फोरम नेपालमा प्रवेश गरेका थिए । उनी त्यसअघि राजपाकै केन्द्रीय सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment