बिहीबार, २ कार्तिक, २०७४
OnlineKhabar.com

कथाः नेपाल, जहाँ बाँदरहरु निरिक्षक छन्

अशोक सिलवाल

मार्च १५, १९९९ ।

साँझको ६ बजिसकेको थियो । अरु सबै आ-आफ्ना घर फर्किसके पनि क्लस हलको कुनापटि्टको कम्प्युटरमा काम गरिरहेको थियो । डेनमार्कको कोपेनहेगनबाट केही बर्षअघि अमेरिकाको क्यालफोर्निया सिफ्ट भएको ऊ त्यहाँको एउटा चल्तीको कम्प्युटर सफ्टवेयर कम्पनीमा कार्यरत थियो ।

त्यही कम्पनीको अर्को विभागमा काम गर्ने स्यारोन पनि सिंगापुरबाट केही अघि मात्र क्यालफोर्निया सिफ्ट भएकी थिई । सिंगापुरबाटै केही दिन अमेरिका घुम्न आएकी उसकी साथीलाई ऊ पनि त्यही हलमा कुरिरहेकी थिई । साथीलाई सँगै लिएर त्यो साँझ एउटा ‘वाइन टेस्टिङ प्रोग्राम’मा जानु थियो उसलाई । साँझ निकै छिप्पिएपछि मात्र उसकी साथी आइपुगी ।

हलमा स्यारोन, उसकी साथी र क्लस मात्र थिए । त्यसअघि एउटै कम्पनीमा काम गर्ने भएर पनि उनीहरुको खासै चिनजान थिएन । बोलचाल त झन् हुने कुरै भएन । तर, सहकर्मी भएको नाताले मन नलागीनलागी स्यारोनले क्लसलाई पनि संगै जाने निम्तो गरी । कामले लखतरान क्लस पनि उनीहरुसँग जान तयार भइहाल्यो ।

उनीहरु ‘वाइन क्लव’मा पुगे । ‘वाइन टेस्ट प्रोग्राम’ सुरु भयो । साँझ रातमा बदलिएको उनीहरुले चालै पाएनन् । ‘टेस्ट’बाट सुरु भएको ‘वाइन प्रोग्राम’ मध्यरातसम्म चल्यो । त्यति बेलासम्म उनीहरु निकै नजिकिइसकेका थिए । ‘नबोलेसम्म को हो, को हो ? बोलेपछि माया मोह’ भनेजस्तै भयो ।

त्यसपछि उनीहरु कैयौं साँझ संगै रेस्टुरेन्ट गए । क्लव गए । थियटर गए । सिनेमा घर गए । उनीहरु निकै गहिरो साथी भए । क्लस र स्यारोनले त्यसरी तीन बर्ष बिताएपछि एउटा घमाइलो दिन निकै उत्साहसाथ बिहे गरे ।

अगस्ट ७, २०१७ ।

दिनको ४ बजेतिर बौद्धबाट ठमेल फर्किदै गर्दा उनीहरुले गरेको कुराकानी सुन्दा लाग्थ्यो, उनीहरु भर्खरै प्रेममा परेका वा क्रस जोडी हुन् । उनीहरु पति-पत्नी कम र साथी बढी देखिन्थे । बेला बेला एक अर्काको हात समात्थे । अनायास मेरो आँखा पर्दा जोडले जोडिएका हातहरु फुत्काइहाल्थे ।

क्लस खानाको सौखिन रहेछ । स्यारोनलाई अनेक परिकारका खाना पकाउन निकै मजा लाग्छ रे । त्यसरी एक-अर्काका पुरक रहेछन् उनीहरु । उनीहरु दुईको अर्को फरक विशेषता के रहेछ भने क्लस कुनै पनि बस्तु, घटना वा गतिलाई पटक पटक लेन्स चेन्ज गर्दै अति सुक्ष्म गरी नजिकबाट खिच्दोरहेछ । स्यारोन भने आँखाले देखिएजति सबै दृश्य टाढाबाट क्यामरामा कैद गर्दै थिई । विपरितजस्ता लाग्ने यी फरक गुणले पति-पत्नीको जीवनलाई निरस हुन दिदैन मात्र होइन, त्यसलाई अझ रमोन्टिक बनाउँछ भन्ने क्लस र स्यारोन दुवैको बुझाई रहेछ ।

बौद्ध जानु पहिले हामी स्वयम्भु र पशुपति गएका थियौं । साउनको अन्तिम सोमबार परेकोले पशुपतिमा भीड निकै बाक्लो र लाइन निकै लामो थियो । त्यसैले पशुपतिको चहलपहल अरु दिनभन्दा निकै रंगीन र जीवन्त थियो । उता स्वयम्भुमा बाँदरका अनेक कृयाकलापले पनि उनीहरुलाई निकै मोहित बनाएको थियो ।

स्वयम्भुमा क्लसले बाँदरहरुका अनेक हाउभाउ आफ्नो क्यामरामा कैद गरेको थियो । । त्यसमध्ये एउटा बाँदरलाई त उसले पापाराजीजस्तै गरी नै पछ्याएको थियो ।

‘म तस्विरमा मुड समात्न खोज्छु’, उसले भन्यो ।

‘त्यही मुड समात्न खोज्दा त्यो बाँदरले तिमीलाई झन्डै झम्टेको थियो । तैपनि तिमी कत्ति पनि नडराइकन तस्विर लिइरहेका थियौ’, मैले भनें ।

‘कहाँ म त्यो बाँदरको नजिक थिएँ ? बाँदर र मबीच क्यामरा थियो नि । त्यसैले म ढुक्क थिएँ । मलाई मेरो क्यामरामा विश्वास छ’, त्यति भन्दै उसले मलाई त्यो रिसाएको बाँदरको तस्विर लामो लेन्सवाला क्यामराको स्त्रिmन खोलेर देखायो ।

ऊ त्यतिमै रोकिएन । भन्यो, ‘यदि मैले थोरै पनि रिस्क नलिएको भए बाँदरको मुड कसरी कैद गर्न सक्दिन थिएँ ।’

‘हो, ऊ यस्तै छ । नचाहिने कुरामा साँच्चै संवेदनशील छ’, निकै बेरदेखि केही नबोलिरहेकी स्यारोनले भनी ।

क्लस पनि के कम ? उसले पनि जस्तालाई तस्तै झैं गरेर भन्यो, ‘म यस्तै खालको संवेदनशील भएरै तिमीलाई मन पराएको थिएँ । होइन भने ‘म कहाँ ? तिमी कहाँ ?’ भइरहन्थ्यौं ।

‘ल, ल । भो, भो । बढी कुरा नगर’, स्यारोनले थोरै रिसाएर भनी ।

‘हामी आज बिहान निकै अचम्भित भयौं । किन थाहा छ ?’, क्लसले केही खास कुरो भए झैं गरी भन्यो ।

‘भनेकै छैनौ ? कसरी थाहा हुन्छ ? भनेपछि पो थाहा हुन्छ’, मैले पनि अलिकति जिस्किएर भनें ।

‘ल सुन । म भन्छु’, स्यारोनले त्यति मात्र भनेकी थिई तर उसले थप कुरा गर्न पाइन । स्यारोनलाई बीचमै रोकेर क्लसले क्यामराको स्त्रिmन नजिक ल्याउँदै भन्यो, ‘बिहान दुईटा कुरा भयो । एउटा, हाम्रो पूर्वनिर्धारित माउन्टेन फ्लाइट मौसमको खराबीले क्यान्सिल भयो । अर्को, हामीले तिमीहरुको एयरपोर्टमा बाँदरहरुको हुल देख्यौं । उनीहरु एयरपोर्टको कोठाकोठामा पुगेका थिए ।’

‘एयरपोर्टमा बाँदरको बथान हाम्रो लागि दुर्लभ हो । त्यो दुर्लभ दृश्यलाई क्लसले खिचेको छ’, स्यारोनले थपी ।

क्लसले मलाई बाँदरको भिडियो देखायो । मलाई पनि भिडियोको दृश्य साँच्चैको दुर्लभ लाग्यो ।

‘एयरपोर्ट पशुपतिबाट केही सय मिटर मात्र पर छ । पशुपति वन क्षेत्र पनि हो । त्यहाँ प्रशस्त बाँदरहरु छन्, जुन तिमीहरुले अघि देखिहाल्यौ । तिनै बाँदर कहिलकाहीँ नजिकैको एयरपोर्टको स्थिति कस्तो छ भनेर निरिक्षण गर्न पुग्छन् । नेपाल यस्तो देश हो, जहाँ बाँदरहरु निरिक्षक छन् ।’

उनीहरु हाँसे । म पनि हाँसिदिएँ ।

‘जे होस्, हामी खुशी छौं, हामीले हिमाल देख्न पाएनौं तर एयरपोर्टमा बाँदरहरु देख्यौं । हामी धन्य छौं । आशा गर्छौं, भोलि मौसम खुल्ला र हिमाल पनि पक्कै देखौंला’, स्यारोनले भनी ।

‘तिमीहरुलाई आर्शीवाद छ, भोलि तिमीहरुले हिमाल हेर्न पाउनेछौ’, मैले तथास्तु स्टाइलमा भनिदिएँ ।

‘तिम्रो मुखमा दुधभात जाओस्’, यस्तै नभने पनि उनीहरुले यही भावको कुरा गरे ।

उनीहरु जम्मा दुई दिनका लागि नेपाल आएका थिए । भोलिपल्ट मध्यान्ह उनीहरु नेपाल छाडेर इन्डोनेसियाको बाली जाँदै थिएँ ।

‘बालीमा मन्की फरेस्ट छ । हामी त्यहाँ पनि जाँदै छौं’, क्लसले फेरि बाँदरको कुरा गर्‍यो ।

विदेशीमाझ स्वयम्भु मंकी टेम्पलको रुपमा चर्चित रहेको बताउँदै मैले भनें, ‘एयरपोर्टमा मंकी, मंकी टेम्पलमा मंकी, पशुपतिमा मंकी, तिम्रो क्यामरामा मंकी र नेपालपछि फेरि तिमीहरु बालीको मंकी फरेस्ट जाँदैछौं । यो प्रसंग ठ्याक्कै एउटा नेपाली उखानसँग पो मिल्दोरहेछ । सुन्ने हो ?’

‘सुनाऊ’, उसले भन्यो ।

‘घरै पिडालु वनै पिडालु ससुराली गयो, बाह्र हात पिडालु’, मैले पनि स्वादैले भनिदिएँ ।

‘गजज्बको उखान रहेछ । फोटो खिच्न मिल्ने भए म यो उखानको पनि फोटो खिचिदिन्थें’, हाँस्दै क्लसले भन्यो ।

उसले धेरै तस्विरहरु खिचेको थियो । उसको फोटोग्राफीप्रतिको प्यासन देखेर मैले भनें, ‘तिमी रङ र प्रकाशसँग खेल्छौ । वस्तु, घटना वा गतिसँग कुरा गर्छौं । र, तिमी निकै संवेदनशील छौं । होइन त ?’

कुनै कुरामा सहमति जनाएर हो भन्नैलाग्दा टाउको, अनुहार, आँखा र ओठमा जुन भाव आउँछ, क्लस त्यस्तै भइसकेको थियो । तर, बीचमै मैले स्यारोनतिर पनि हेरें । ऊ त मेरो कुरामा ओठ पो लेब्राइरहेकी रहिछ ।

त्यसपछि मैले आफ्नो कुरा अलिकति भए पनि नसच्याई भएन । सच्याइहालें, ‘स्यारोन Û मैले भन्न खोजेको के हो भने फोटोग्राफीको हकमा क्लस संवेदनशील छ । जीवनका अरु घटना, परिस्थिति र मोडहरुमा ऊ कति संवदेनशील छ वा छैन भन्नेबारे त तिमीलाई नै थाहा होला ।’

उत्तरमा स्यारोन केही बोलिन तर खुशीले चम्की । उसको चम्केको अनहार हेरेर क्लस झन् बढी खुशी भयो ।

मंगोल मोहोडाकी स्यारोन र आर्यन अनुहारको क्लसको जोडी त्यस्तो थियो, जो बेला-बेला एक-अर्काको प्रशंसा गरेर मात्र होइन, घोचपेच गरेर पनि उत्तिकै वा अझ बढी रमाउँथ्यो ।

२०७४ असोज ११ गते २१:१२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this