Comments Add Comment

एमालेसँग तालमेलभन्दा पार्टी एकता सजिलो: अनन्त

तीनवटा प्रदेशमा मुख्यमन्त्री दाबी

१५ असोज, रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा एमालेसँग पार्टी एकता गर्न सकिने बताएका छन् ।

प्रेस सेन्टर रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा अनन्तले भने, ‘एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकता गर्न सजिलो छ । अब यसबारे बहस गर्न सकिन्छ ।’

अनन्तले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन अघि एकता सम्भव नभए पनि त्यसपछि बहस चलाउन सकिने बताएको प्रेस सेन्टर रोल्पाका अध्यक्ष नविन लोचन मगरले अनलाइनखबरलाई जानकारी दिए ।

दुबै दल समाजवादी क्रान्तिको बाटोमा अगाडि बढेकाले पार्टी एकताको सम्भावनालाई नकार्न नसकिने अनन्तको भनाइ छ । ‘दुवै पार्टीले पुँजीवादी क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्ति पूरा गर्न अगाडि बढ्ने बताएका छन्,’ अनन्तको भनाइ उद्धृत गर्दै नविनले भने, ‘पार्टी एकता हुनसक्छ । चुनावपछि बहस गर्न सकिन्छ ।’

एमाले र माओवादीले अब समाजवादी क्रान्तिको बारेमा बहस गर्नुपर्ने उनको भनाई छ ।

तीनवटा प्रदेशमा मुख्यमन्त्री दावी

प्रदेश नम्बर ५ का माओवादी इञ्चार्ज समेत रहेका अनन्तले चुनावमा प्रमुख राजनीतिक दलहरुबीच तालमेलको सम्भावना कम रहेको बताए । हरेक पार्टीमा आकांक्षी धेरै भएकाले पनि तालमेलको सम्भावना कम रहेको उनको भनाइ छ ।

अनन्तले भने ‘कांग्रेस, एमालेसँग कुनैपनि प्रदेशमा सेटमा तालमेल हुँदैन, हामी स्वतन्त्र रुपले निर्वाचनमा जान पनि सक्छौं ।’

अनन्तले २, ५ र ६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको दावीसमेत हुने बताए । गृहजिल्ला रोल्पामा उनले भने, ‘स्थानीय तह चुनावमा पाएको मत अनुपातको आधारमा हाम्रो दावी २, ५ र ६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment