+
+

१६ अर्बको सेयर निष्कासन हुँदै, दशैंलगत्तै चार कम्पनीको आउँदै

प्राथमिक र हकप्रद गरी ४० कम्पनीको सेयर बिक्रीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १६ गते १०:४९

१६ असोज, काठमाडौं । १६ अर्बबराबरको सेयर निष्कासन अनुमति माग्दै विभिन्न कम्पनी धितोपत्र बोर्डको प्रक्रियामा छन् ।

१८ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ/एफपीओ) निष्कासनका लागि अनुमति मागेका छन् । सबैले अनुमति पाउँदा तीन अर्ब ४१ करोडको सेयर बजारमा आउने छ । तीमध्ये १० वटा संस्था जलविद्युत् क्षेत्रका छन् ।

रसुवागढी हाइड्रो, बुटवल पावर, साञ्जेन, आँखुखोला, गर्जाङ, जोशी, लाफिङ बुद्ध, युनिक हाइडेल, सीईबीडी हाइड्रो, कालिका पावर, युनियन, राधी विद्युत्, सुभम् पावर र पञ्चकन्यामाई नामका जलविद्युत कम्पनी सेयर निष्कासनको प्रक्रियामा छन् ।

यस्तै, प्रिमियर इन्स्योरेन्स र एनएमबी बैंकले थप एफपीओ जारी गर्न लागेका छन् ।

यस्तै, १२ अर्ब ९४ करोडबराबरको हकप्रद सेयर निष्कासनका लागि १८ वटा कम्पनी प्रक्रियामा छन् ।

सिभिल, प्रभु र सिद्धार्थ बैंकले हकप्रद जारी गर्न लागेका हुन् । गुराँस लाइफ, एसियन लाइफ, प्रुडेन्सियल र एभरेस्ट इन्स्योरेन्सले हकप्रद जारी गर्न बोर्डमा अनुमति मागेका छन् । विकास बैंकहरुमा सांग्रिला, कर्णाली, सहारा, माउन्ट मकालु, गण्डकी, ग्रिन डेभलपमेन्ट बैंक पनि प्रक्रियामा छन् ।

उत्पादनमुलक समूहबाट श्रीराम सुगर मिल्स हकप्रद जारी गर्ने तयारीमा छ । वित्त कम्पनीहरुमा रिलायन्स, श्रीइन्भेस्टमेन्ट र सेन्ट्रल फाइनान्सले हकप्रद जारी गर्न लागेका छन् ।

दशैंलगत्तै भने चार वटा कम्पनीको सेयर निष्कासन हुँदैछ । ती कम्पनीले सेयर जारी गर्ने मिति तोकेर आव्हान पत्र पनि सार्वजनिक गरिसकेका छन् ।

सपोर्ट माइक्रोको १८ असोजदेखि

सपोर्ट माइक्रोफाइनान्सले सर्वसाधारणका लागि १८ असोजदेखि एक लाख ८० हजार कित्ता सेयर जारी गर्दैछ । त्यसमध्ये दुई प्रतिशत कर्मचारी र पाँच प्रतिशत सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।

एक सय अंकितमूल्य रहेको सेयर २३ असोजसम्म बिक्री खुला रहनेछ । उक्त मितिमा पनि बिक्री नभएमा १६ कात्तिकसम्मको अवधि थपिनेछ ।

उक्त कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल तोकिएको छ । र, कम्पनीमार्फत् नै पनि सेयर भर्न सकिनेछ । आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ उक्त कम्पनीले सेयर निष्कासन गर्न लागेको हो । हाल उक्त कम्पनीको पूँजी चार करोड २० लाख रुपैयाँ छ ।

आर्थिक वर्ष ०७२/७३ मा सपोर्ट माइक्रोफाइनान्स १९ लाख ९० हजार रुपैयाँ नोक्सानमा थियो । ०७३/७४ मा भने ४८ लाख रुपैयाँ नाफा कमाएको परिष्कृत हुन बाँकी वित्तीय विवरणले देखाउँछ ।

चालु आवको अन्त्यसम्ममा पूँजी १२ करोड पुग्ने उक्त माइक्रोफाइनान्सको भनाइ छ । त्यसो हुन सक्दा लगानीकर्ताले दोब्बर दरमा हकप्रद वा बोनससहितको प्रतिफल पाउन सक्नेछन् ।

असार ०७२ देखि सञ्चालनमा आएको उक्त कम्पनीको कार्यक्षेत्र १० जिल्ला र केन्द्रीय कार्यालय सुनसरीमा छ ।

एक्सेलको पनि १८ असोजदेखि

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर १८ असोजदेखि निष्कासन हुँदैछ । २१ भदौसम्म सेयर स्वामित्व भएका लगानीकर्ताले हकप्रद भर्न सक्नेछन् ।

त्यसका लागि २१ कात्तिकसम्मलाई तोकिएको छ । दुई कित्ता सेयर हुने लगानीकर्ताले एक कित्ताको दरमा आवेदन दिन पाउने छन् । सय रुपैयाँ अंकितमूल्य छ ।

बिक्री प्रबन्धक एस क्यापिटल, नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा र एक्सेल बैंककै शाखाहरुबाट आवेदन दिन सकिनेछ ।

हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । गत आवमा बैंकले १५ करोड नाफा गरेको प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ ।

ओम डेभलपमेन्टको २३ असोजदेखि

ओम डेभलपमेन्ट बैंकको २३ असोजदेखि हकप्रद बिक्री खुला हुँदैछ । २६ कात्तिकसम्मलाई बिक्री खुला गरिएको छ । र, २९ भदौसम्म सेयर स्वामित्व रहेकाहरुले मात्र आवेदन दिन पाउनेछन् । बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल, नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा र ओमकै शाखाहरुबाट सेयरमा आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनपछि बैंकको चुक्ता पूँजी दुई अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल कम्युनिटीको २६ असोजदेखि

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद सेयर २६ असोजदेखि १ बराबर १.२ अनुपातमा हुने भएको छ ।

१७ असोजसम्म सेयर स्वामित्व हुनेले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । २९ कात्तिकसम्ममा समय तोकिएको छ । बैंककै शाखाहरु, बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल र नेपाल इन्भेस्टमेन्ट बैंकका विभिन्न शाखाबाट आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनपछि बैंकको सेयर पूँजी ४८ करोड ४६ लाख रुपैयाँ पुग्ने छ । थप पूँजी बढाएर चालु आव अन्त्यमा ५२ करोड ५८ लाख रुपैयाँ पूँजी पु¥याउने बैंकको लक्ष्य छ । बैंक गत आवमा एक करोड ४२ लाख नाफामा छ । र, प्रतिसेयर आम्दानी सात रुपैयाँ २७ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?