Comments Add Comment

एमालेले भन्यो-चुनावअघि सरकार ढाल्ने योजना छैन

दुई तिहाई बहुमतसहित वामपन्थी सरकारको नेतृत्व गर्ने लक्ष्य

१८ असोज, काठमाडौं । माओवादी केन्द्र र नयाँ शक्तिसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेको प्रमुख विपक्षी नेकपा एमालेले वामपन्थी गठवन्धनको उद्देश्य शेरवहादुर देउवा नेतृत्वको वर्तमान सरकार ढाल्ने नरहेको बताएका छन् ।

एमालेसँग चुनावी तालमेलको सहमति गरेको सत्तारुढ माओवादीले पनि सरकारको समर्थन फिर्ता नलिने बताइसकेको छ ।

एमालेले देउवा सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गराउँदा आपत्ति नरहेको बताएको छ ।

एमाले माओवादी गठबन्धन लगत्तै अहिलेको सत्ता गठबन्धन भत्किएको र नयाँ सरकार बन्ने आशंका भइरहेका बेला एमाले उपमहासचिव बिष्णु पौडेलले सरकार परिवर्तनतिर एमालेको कत्ति पनि रुची नरहेको प्रतिक्रिया दिए ।

पौडेलले अनलाइनखबरसँग भने, ‘अहिले निर्वाचन कार्यक्रम आइसकेको र आचारसंहिता समेत लागु भइसकेको छ । निर्धारित मितिमा चुनाव गराउने बाहेक एमालेको अरु कुनै उद्देश्य छैन ।’

वामपन्थी गठबन्धन बनेपछि प्रधानमन्त्री देउवाले संसद भंग गर्ने हल्ला चलिरहेका बेला एमालेले भने त्यसको अर्थ नरहेको प्रतिक्रिया दिएको छ । पौडेलले भने, ‘कात्तिक ४ गतेबाट अहिलेको संसद स्वतः बिघटन हुने भएकाले अहिले आइरहेका हल्लाको कुनै औचित्य छैन ।’

नेपालको बामपन्थी पार्टीहरु मिल्दा कांग्रेस र अन्तर्राष्ट्रिय शक्ति भस्किनु पर्ने अवस्था नरहेको उनले बताए । ‘यो गठबन्धन चुनावी तालमेल हुँदै एउटै कम्युनिस्ट पार्टी निर्माणका लागिमात्र हो, यो कांग्रेसविरुद्ध वा कुनै विदेशी शक्ति विरुद्ध होइन’ उनले भने ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि केन्द्र र प्रदेश सबैतिर वामपन्थी नेतृत्वको सरकार गठन गर्ने बाहेक एमालेको अरु लक्ष्य नरहेको गठबन्धन निर्माणका सहभागी एमाले उपाध्यक्ष बामदेव गौतमले बताए । उनले स्थानीय तह चुनावबाट एमाले ठूलो पार्टी भइसकेको र अब दुवै चुनावमा एमाले र माओवादी मिलेपछि दुई तिहाई बहुमत आउने दाबी गरे ।

माओवादी एमालेसँग मिल्न गएकोमा भारत असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला एमालेले भारत र चीन दुवैसँग समदूरीमा रहेर नेपालमा अब कम्युनिस्ट सरकार सञ्चालन हुने बताएको छ । ‘२०७४ सालमा नेपालमा वामपन्थीको बहुमतको सरकार बन्छ, हामी दुई तिहाई बहुमत सहित मुलुकलाई शान्ति, स्थायित्व, विकास र सम्बृद्धिको बाटामा अघि बढाउन एउटै पार्टी बनाउन अग्रसर भएका हौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment