+
+

कन्काई नदीमा बल्छी थाप्दा पैसा !

नदीमा चढाएको सिक्का बटुलेर गुजारा

गौरव पोखरेल गौरव पोखरेल
२०७४ असोज १९ गते १०:२१

१९ असोज, झापा । झापाको शिवसताक्षी नगरपालिका-१०, माइधामका शेरबहादुर शेर्मा प्रायः कन्काई नदीको आसपास भेटिन्छन् । उनको साथमा चुम्बक कहिल्यै छुट्दैन ।

नदीमा चुम्बकलाई डुबाउँदै उनी यत्रतत्र हिँडिरहन्छन् । वेलावेला नदीबाट केही झिके जस्तो पनि गर्छन् । सामान्य नजरले हेर्दा लाग्छ, उनी त्यहाँ बल्छी थापेर माछा मारिरहेका छन् ।

तर, जब नजिकबाट उनलाई नियालिन्छ, तब उनको बल्छीबाट माछा होइन, पैसा निस्किरहेको देख्न सकिन्छ । उनी विगत ५ वर्षदेखि कन्काई नदीमा मानिसहरुले फ्यालेको सिक्का बटुलेर गुजारा चलाइ रहेका छन् ।

नदीमा चढाएको सिक्का बटुलेर गुजारा

शेर्मा मात्र होइन, यस क्षेत्रका अन्य थुप्रै वृद्ध र बालबालिका नदीबाट सिक्का टिपेर गुजारा गर्छन् ।

कन्काई पुलबाट यात्रा गर्ने बटुवा र आफ्ना आफन्तको अन्त्येष्टी कार्यमा सरिक हुन आएका मलामीजनले नदीमा फ्याँकेका सिक्कालाई सङ्कलन गर्नु उनीहरुका लागि पेशा नै बनेको छ ।

नदी किनारमा बसेर उनीहरु सिक्क टिप्नलाई बल्छी थाप्छन् । ‘घुँडा-घुँडासम्म पानी हुँदा सजिलै टिपिन्छ’, शेर्मा भन्छन्, ‘एक अञ्जुली बालुवा निकालेर सिक्का टिप्छौं ।’

एक दिनमा ३ सयसम्म कमाई !

उनका अनुसार सामान्यतयाः २० अञ्जुली बालुवामा कम्तिमा ६ रुपैयाँदेखि १० रुपैयाँसम्म भेटिन्छ । कतिपय समयमा एकै अञ्जुलीमा १५ रुपैयाँसम्म भेटेको स्मरण पनि उनलाई छ ।

हरेक साताको शनिबार र मंगलबार उनले एकैदिन ३ सय रुपैयाँसम्म भेला पार्छन् । अरु दिन पनि कम्तिमा एक सय रुपैयाँ भेला पार्छन् ।
यसरी उनले बल्छीमा सिक्का थापेर ४ जनाको परिवार धानेका छन् ।

नदीमा बाढी आएको वेलामा भने उनी छुट्टी पाउँछन् । त्यसवेला पानीको बहाव कम भएतिर मात्र उनी बल्छी थाप्छन् । तर, खासै पैसा भेटिँदैन ।

‘बाढी आएको वेला सिक्का पनि बगाएर लान्छ’, शेर्माले सुनाए, ‘फेरि नदीमा पस्न पनि त डर मर्दो हुन्छ नि !’

५ वर्षअघि गाउँका अन्य बालबालिकाले चुम्बकले पैसा तानेको कुरा सुन्दा उनी आश्यर्चमा परेका थिए ।

‘त्यसवेला बच्चाहरुले झुठ बोले होला भन्ने लागेको थियो’, उनले सुनाए, ‘तर, वास्तवमै चुम्बकले पैसा तान्दो रहेछ ।’
भाग्य चम्किँदा सुनको औंठी !

चुम्बकले पैसा तानेको देखेपछि आफूले पनि त्यही काम सुरु गरेकेा उनले स्मरण गरे । हाल उनी विहानै उठ्छन् । नृत्यकर्म सक्छन् । र, नदीमा पसिहाल्छन् ।

खाना खाने वेलामा घर आउँछन् । त्यसपछि फेरि नदीमै पस्छन् । अनि, साँझ परेपछि झोला भरि सिक्का बोकेर फर्किन्छन् ।
कहिलेकाँही भाग्य चम्किँदा सुनका गरगहना पनि भेटिने गरेको उनले सुनाए । दुई वर्षअघि आफूले सुनको औँठी भेट्टाएको उनले सम्झिए ।
नदीबाट पैसा टिप्ने पेशासँगैको उनले अर्को सहायक पेशा पनि अंगालेका छन् । उनी बाढी आएका वेला दाउरा सङ्कलन गर्छन् । र, त्यो दाउरा शव जलाउने क्रममा प्रयोग गरिन्छ ।

जसबाट पनि उनले राम्रो आम्दानी गर्छन् । दाउरा बेच्दा एक जनाले नै ४५ सय रुपैयाँसम्म दिने गरेको उनले बताए ।

एकैदिन पैसा टिप्न १५ जना !

पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी र कनकाई नगरपालिकालाई जोड्ने ७ सय ३ मिटरको कन्काई पुलबाट हिँड्ने मानिसहरुले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले नदीमा पैसा चढाउने गरेका छन् ।

शेर्मा सम्झन्छन्, ‘कहिले काहीँ त पैसा टिप्दा टिप्दै टाउकोमै सिक्काले लाग्छ ।’

स्थानीयका अनुसार कन्काई पुल आसपास शनिबार र मंगलबार पैसा टिप्नेहरुको भिड नै लाग्छ ।

कन्काई नदीबाट पैसा टिप्दै आएका अर्का व्यक्ति कुलबाहादुर राई भन्छन्, ‘शनिबार र मंगलबार १२ देेखि १५ जना सम्म हुन्छौ ।’

उनका अनुसार अन्य दिन पनि कम्तिमा ५/६ जनाले पैसा टिपिरहेका हुन्छन् । लामो लौरोमा फलामेको काँटी र चुम्बक बाँधेर उनीहरुले पैसा टिपिरहेका हुन्छन् ।

यी मानिसहरुले नदीमा फ्याकेको पैसा टिपेको देख्ने व्यक्तिहरु चाहिँ छक्क पर्ने गरेका छन् ।

 

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?