Comments Add Comment

स्थानीय तहकै गल्ति दोहोर्‍याउँदै कास्की कांग्रेस

नौ उम्मेदवार छान्न एक सय ६० जनाको नाम सिफारिस

१९ असोज, पोखरा । कास्की कांग्रेस सभापति कृष्ण केसी संघीय संसद र प्रदेश निर्वाचनमा जिल्लाबाट सिफारिस उम्मेदवारको सूची बोकेर मंगलबार काठमाडौं हानिए । संघीय संसद र प्रदेश निर्वाचनमा क्षेत्रगत रुपमा सिफारिस डेढ सय जनाको लामो सूची उनले सोही दिन पार्टी केन्द्रीय कमिटीमा बुझाएका छन् ।

केन्द्रीय नीतिअनुसार नै क्षेत्रबाट सिफारिस भइआएका प्रत्यक्ष र सामानुपातिक उम्मेदवारको नाम केन्द्रको जिम्मा लगाइएको सभापति केसी बताउँछन् । ‘सिफारिस भएका नाम कतै काँटछाँट नगरी केन्द्रलाई बुझाइएको हो,’ उनी भन्छन्, ‘यति धेरै जनाको नाम पठाउनु जिल्ला समितिको कमजोरी होइन, जस्ताको तस्तै पठाउनु भन्ने केन्द्रको निर्देशन नै हो ।’

पार्टी सचिव रामराज लामिछानेका अनुसार संघीय संसदका लागि तीन र प्रदेशका लागि ६ निर्वाचन क्षेत्रमा एक सय ६० जनाको नाम पठाइएको छ । जिल्ला सभापति केसी आफैं क्षेत्र नम्बर १ अन्तर्गत् प्रदेश ‘ख’मा प्रत्यक्षतर्फका उम्मेदवार हुन् । उनी आफैं टिकट हात पार्न दौडधुपमा छन् ।

पूर्वसभामुख तारानाथ रानाभाट र कानुन मन्त्री यज्ञबहादुर थापा, केन्द्रीय सदस्य जीवन परियार, वैदेशिक रोजगार व्यवसायी तिलक रानाभाट, संघीय संसदको प्रत्यक्षतर्फ पूर्वमन्त्री महादेव गुरुङ, पूर्वसचिव बाबुराम आचार्य, नेताहरु शुक्रराज शर्मा, खेमराज पौडेल, पोषनाथ शर्मा, देवराज चालिसे, पोखरा महानगरपालिकाको मेयरमा पराजित रामजी कुँवर, उपमेयरमा पराजित सरस्वती गुरुङ, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापासम्म टिकट हात पार्न दौडधुपमा छन् ।

स्थानीय निर्वाचनकै गल्ती

यसअघि स्थानीय तह निर्वाचनमा पनि आकांक्षी सबैको नाम उम्मेदवारका रुपमा केन्द्रलाई सिफारिस गरेका सभापति केसीले अहिलेको निर्वाचनमा पनि सबै नाम केन्द्रको जिम्मा लगाए । स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा ३३ जनाको नाम केन्द्रलाई सिफारिस हुँदा बढी अन्तर्घात भएको आरोप जिल्ला समितिमाथि लागेको थियो ।

फेरि संघीय संसद र प्रदेश निर्वाचनमा डेढ सय जनाबाट टिकट दिने जिम्मा पार्टीको केन्द्रीय कमिटीलाई दिँदा त्यही नियति दोहोरिने शंका कार्यकर्ता पंक्तिमा देखिन्छ । स्थानीय तहको निर्वाचनमा पोखरा महानगरको मेयरमा सिफारिसमा परेका केही वडाध्यक्षमै पराजित भएपछि अन्तर्घात भएको बताउँदै आलोचना गरेका थिए ।

मेयरमा नाम सिफारिस भएर पोखरा १३ को अध्यक्षको टिकट पाएका पोखरा नगर सभापति वृजमान श्रेष्ठले अन्तर्घात भएको बताउँदै नतिजा नआउँदै राजीनामासमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment