Comments Add Comment

सलोन बस्नेतको सपना ‘सोलो हिरो’


काठमाडौं । नायक सलोन बस्नेतलाई ‘सोलो हिरो’का रुपमा हिट हुन हम्मे हम्मे परिरहेको छ । यही कारण उनको तत्कालीन लक्ष्य हो, मुख्य नायकको भूमिकामा हिट र फिट हुने ।

सोलो नायकमा जम्न नसके पनि दर्शकले आफूलाई ‘राम्रो कलाकार’का रुपमा चिन्न थालेकामा भने उनी खुशी छन् ।

‘आजसम्म मेरो भूमिकालाई दर्शकहरुले मन पराइदिनुभएको छ । सह-नायक या अन्य भूमिका निर्वाह गर्दा पनि मेरो करिअरमा खासै असर गरेजस्तो लाग्दैन,’ उनी भन्छन्, ‘अब लिड रोलमै काम गर्छु र त्यसमै स्थापित हुन्छु ।’

कमजोरी आफ्नै

बाल-कलाकारका रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका सलोनलाई बाबु शोभित बस्नेत निर्देशक भएकाले यस क्षेत्रमा पहिचान बनाउन कुनै कठिनाइ भएन । तर, सोलो नायकका रुपमा चल्न भने उनलाई धौ धौ पर्‍यो ।

चलचित्रको पर्दामा उनको अभिनय रुचाइन्छ तर सोलो हिरोका रुपमा दर्शक तान्न उनी असफल छन् । यसमा आफ्नै कमजोरी रहेको उनी स्वीकार्छन् ।

‘मैलो सोलो अभिनय गरेका चलचित्र चलेका छैनन् । यसमा मेरो आफ्नो पनि गल्ती छ,’ सलोन भन्छन्, ‘मैले चलचित्रको सेलेक्सन गर्न जानिनँ । कतिपय अवस्थामा मैले चलचित्रलाई सामान्य रुपमा लिइदिएँ ।’

‘बाबु कान्छा’को आशा

अब भने सलोनले धमाका मच्चाउने सुर कसेका छन् । चलचित्र ‘बाबु कान्छा’बाट सोलो नायकका रुपमा हिट हुने उनको आशा छ ।

‘यसअघि मैले सोलो नायकका रुपमा काम गरेका चलचित्रलाई उत्कृष्ट बनाउनमा धेरै सहयोग गर्न सक्थेँ होला तर मैले हेलचेक्रयाइ गरें, अब त्यस्तो हुँदैन,’ सलोन भन्छन् ।

बाबु शोभितकै निर्देशनमा बन्न लागेको ‘बाबु कान्छा’मा सलोन सोलो नायक छन् ।

‘यो चलचित्रमा मलाई दर्शकले विभिन्न भूमिकामा देख्नुहुनेछ,’ उनी भन्छन्, ‘यसमा मनोरञ्जनसँगै भावुकता पनि छ ।’

हुन त, धेरैले उनलाई ‘आफ्नै बाबुको चलचित्र नखेलेको भए पनि हुन्थ्यो’ भन्ने सल्लाह पनि नदिएका होइनन् । उनलाई भने त्यस्तो लाग्दैन ।

‘बुवा आफ्नो चलचित्रमा नयाँ-नयाँ प्रयोग गर्न रुचाउनुहुन्छ । यो चलचित्रमा पनि उहाँले नयाँ प्रयोग गर्नुभएको छ । उहाँमाथि मलाई विश्वास छ । त्यही जोशले हामीले काम गरेका छौं,’ सलोन भन्छन् ।
‘छोरो’ हुनुका फाइदा

चलचित्र क्षेत्रमा चिनिन सलोनले सुरुमा आफ्ना पिता शोभितकै फेर समात्नु परेको सत्य हो । यही कारण उनलाई ‘शोभितको छोरा’ भनेर चिन्नेहरुको जमात पनि कम छैन । यसलाई उनले अन्यथा लिएका पनि छैनन् ।

‘अहिलेको पुस्ता मलाई मेरै परिचयले चिन्छ तर ड्याडका समकालीन साथी र फ्यानहरुले त मलाई उहाँकै छोरा भनेर त चिन्ने हुन् नी,’ सलोन भन्छन्, ‘यसले मेरो पहिचानमा असर पारेको छैन ।’

हो, बाबुका कारण चलचित्र क्षेत्रमा प्रवेश गर्न र चिनिन भने उनलाई सजिलो भयो ।

उनको डेब्यू चलचित्र ‘होस्टेल’कै कुरा गरौं । त्यसका निर्माता सुनील रावललाई उनले आफ्नो बाबुकै कारण पोखरामा भेटेका थिए । त्यसको केही दिनमै सुनीलले उनलाई चलचित्रको अफर गरे ।

‘बुवा चलचित्र क्षेत्रमा नभएको भए मैले निर्माता सुनीलज्यूलाई त्यति सजिलै भेटन पाउँदिनथें,’ सलोन भन्छन् ।

चलचित्र क्षेत्रमा आफूले सानोतिनो पहिचान कायम गरेको भए पनि लामो समयसम्म टिक्न भने बाबुको छायाँ र परिवारको मायाकै भरमा मात्र सकिन्न भन्ने उनले बुझेका छन् ।

‘परिवारले मात्र सबै काम गर्दैन । आफूले पनि मिहिनेत गर्नुपर्छ । म आफ्नै मिहिनेतकै कारण अगाडि बढेको हुँ,’ उनी कुराकानीको बिट मार्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment