News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटा नगरपालिका–२ का वडाध्यक्ष चन्द्रलाल तामाङ बिहान गोठमा काम गरेर १० बजेपछि वडा कार्यालयमा जनसेवा गर्छन् ।
- नेकपा एमालेबाट दोस्रो कार्यकाल नेतृत्व गरिरहेका तामाङले १८ गाई र दुई भैँसी पालेर दैनिक करिब १४० लिटर दूध उत्पादन गर्छन् ।
- तामाङले करिब ७ लाख ऋण लिएर सुरु गरेको मधुगंगा एग्रो पशुपालन फर्म अहिले ४० लाख रुपैयाँभन्दा बढीको भएको छ ।
५ कात्तिक, विराटनगर । राजनीतिमा लागेका अधिकांशमाथि प्राय: लाग्ने आरोप हो– पेसा वा व्यवसाय छैन, तर जीवनशैली भने तडकभडकपूर्ण हुन्छ ।
राजनीतिलाई कमाइको माध्यम बनाउँदा पद दुरुपयोग, कमिसन मोह र भ्रष्टाचारका विकृति स्थानीय तहदेखि केन्द्रसम्मै छरपस्ट छन् । तर, उत्पादन र पसिनासँग नजोडिएका नेता–कार्यकर्ताको भिड बाक्लिँदै गर्दा धनकुटाका चन्द्रलाल तामाङ भने अलि भिन्न छन् ।
मिर्मिरेअघि नै धनकुटा नगरपालिका–२ भिरगाउँका तामाङको दैनिकी सुरु हुन्छ । बिहान गोठमा गाईवस्तुको स्याहारसुसार गर्नु, घाँसपानी मिलाउनु र बाल्टीभरि दूध दुहुनु उनको नियमित काम हो ।
तर, घडीमा १० बज्नासाथ उनको परिचय फेरिन्छ । बिहान गोठमा पसिना बगाउने तिनै हात १० बजेपछि वडा कार्यालयको कुर्सीमा पुगेर नागरिकका फाइल पल्टाउन र सिफारिसपत्रमा हस्ताक्षर गर्न व्यस्त हुन्छन् । कार्यालय समयपछि फेरि गोठमा बेलुकाको कर्म सुरु हुन्छ ।
चन्द्रलाल धनकुटा नगरपालिका–२ का निर्वाचित अध्यक्ष हुन् । नेकपा एमालेबाट लगातार दोस्रो कार्यकाल वडाको नेतृत्व सम्हालिरहेका उनी जनप्रतिनिधि मात्र होइनन्, सफल र उदाहरणीय पशुपालक किसान पनि हुन् ।
‘राजनीति समाजसेवा हो, जीविकोपार्जनको माध्यम होइन,’ चन्द्रलाल भन्छन्, ‘राजनीति गर्ने मान्छेको आफ्नै पेसा र व्यवसाय हुनुपर्छ, मेरो पेसा कृषि हो, सेवा राजनीति ।’
पालिकामा पनि उनी कृषिको कुरा उठाइरहन्छन् । वडामार्फत किसानलाई खेती र पशुपालनका लागि तालिम दिन्छन् ।
गोठमा काम गर्ने भएकाले चन्द्रलाल बिहान कतै जान पाउँदैनन् । ‘पालिकाको बैठक बिहान नराख्न भन्छु, राखे भने जान्न, गोठको काम नसकी हिँड्न मिलेन,’ उनी भन्छन्, ‘राजनीति गर्ने मात्रै होइन, आफ्नै पेसा–व्यवसाय पनि हुनुपर्छ ।’

चन्द्रलालको खेतबारीमा पहिले अलैँची, मौसमी–बेमौसमी तरकारी र चिया थियो । तर, धेरै मिहिनेत गरेर लगाएको चिया खेतीबाट सोचेजस्तो आम्दानी भएन । त्यसपछि उनी पशुपालनतिर लागे ।
‘मधुगंगा एग्रो पशुपालन फर्म’ मार्फत उनी गाईपालन गरिरहेका छन् । सानो लगानीबाट सुरु भएको यो यात्रा एउटा ठूलो फार्मका रूपमा विकसित भइसकेको छ । अहिले उनको गोठमा १८ वटा उन्नत जातका गाई र दुई भैँसी छन् ।
दैनिक १ सय ४० लिटर हाराहारी दूध उत्पादन गर्छन् । करिब ७ लाख ऋण लिएर सुरु भएको उनको यो फार्म ४० लाख रुपैयाँभन्दा बढीको भएको छ ।
गाईपालन मात्र होइन, चन्द्रलालले छुर्पी बनाउने घरेलु उद्योग पनि सञ्चालन गरेका छन् । बेमौसमी तरकारी खेतीमा पनि उत्तिकै सक्रिय छन् ।
जनप्रतिनिधिको जिम्मेवारी र ठूलो फार्म सँगसँगै हाँक्नु सामान्य विषय होइन । तर, चन्द्रलालको बिहान सबेरै उठ्ने बानीले उनलाई कहिल्यै कामको बोझ महसुस हुन दिएको छैन । उनी सबेरै उठेर गोठको अधिकांश काम भ्याइसक्छन् ।

उनी जनप्रतिनिधिको भूमिकामा वडावासीको समस्या सुल्झाउन गाउँ र कार्यालयतिर निस्कँदा गोठ र फार्मको व्यवस्थापन उनकी श्रीमती रामकुमारीले सम्हाल्छिन् ।
कृषि र पशुपालनमा रमाउने चन्द्रलालको योजना यत्तिकैमा रोकिने छैन । उनी गोठलाई आधुनिक बनाएर गाई थप्ने तयारीमा छन् । गाई थप्ने हुँदा चुनाव भने उठ्ने योजना छैन ।
‘दुई कार्यकाल काम गरियो, भिरगाउँको बाटो बनाउने एजेन्डा थियो, बल्ल पूरा भयो,’ उनी भन्छन्, ‘अब गोठमा अलिक ध्यान दिने, जनप्रतिनिधि हुँदा गोठको सबै काम भ्याइन्नँ ।’
प्रतिक्रिया 4