+
+

गौचनको हत्या अनुसन्धानको प्रगतिबारे जानकारी दिन सांसदहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २४ गते १५:३९

२४ असोज, काठमाडौं । सांसदहरुले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्नको खोजी तथा अनुसन्धानमा भइरहेको प्रगतीबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । उनीहरुले सुरक्षाको प्रत्याभुति दिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सभामुखसँग समय लिएर बोलेका अधिकांश सांसदहरुले गृहमन्त्री जनार्दन शर्मा स्वयम् सदनमा उपस्थित भएर जानकारी गराउनुपर्ने माग गरे ।

नेपाली कांग्रेसका सांसद दिपक गिरीले संघीय निर्वाचन र प्रदेश निर्वाचनको पूर्व सन्ध्यामा निर्माण व्यवसायी शरद गौचनको हत्या भएको भन्दै यस घटनाले मुलुकमा अपराधिकरण र नागरिकको असुरक्षा बढ्दै गएको पुष्टि गरेको बताए ।

कांग्रेसका अर्का सांसद रामहरि खतिवडाले गृहमन्त्रीको राजीनामा माग गरे ।

एमाले सांसद जनार्दन ढकालले गौचनको हत्या घटनाले आम नागरिकको सुरक्षाप्रति सरकार गम्भीर नबनेको स्पष्ट भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी, माओवादी केन्द्रका सांसद रामनारायण विडारीले गौचनको हत्या शान्ति सुरक्षाको दृष्टिले अत्यन्तै लज्जास्पद घटना भएको भन्दै हत्यामा संलग्नलाई हदैसम्मको सजाय दिन माग गरे ।

बैठकमा फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरी, नेमकिपाका सांसद प्रेम सुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी सांसद रुक्मिणी चौधरी, नेपाली कांग्रेसका सांसद रोमी गौचन थकाली लगायत सांसदले राजधानीमा नै दिन दहाडै हत्या हुनुले शान्ति सुरक्षाको कमजोर अवस्थालाई उजागर गरेको भन्दै सुरक्षाको प्रत्याभुति गराउदै त्यसबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

महासंघका अध्यक्ष शरद गौचनको सोमबार काठमाडौको शान्तिनगरको खरिबोटमा अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?