+
+

कांग्रेस नेता सिंह भन्छन्- चुनावको मिति सार्नु हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २४ गते १६:२१

२४ असोज, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति हेरफेर गर्न नहुने बताएका छन् ।

कांग्रेस नेतृत्वको सरकारले आगामी मंसिर १० गतेका लागि तोकिएको पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति सार्ने तयारी गरिरहेको बेला कांग्रेसकै नेता सिंहले त्यसको विरोध गरेका हुन् ।

मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए)हरुका लागि आफ्नै निवास चाक्सीबारीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले मुलुक निर्वाचनमा होमिसकेकाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति हेरफेर गर्न नमिल्ने धारणा राखे ।

सरकारले आगामी मंसिर १० र २१ गते दुई चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ । वाम गठबन्धनपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति सार्न राष्ट्रपति समक्ष प्रस्ताव गरेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

कार्यक्रममा नेता सिंहले प्रजातन्त्र बलियो बनाउन एनआरएनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । प्रजातन्त्र बलियो भएमात्रै देश बलियो हुने उनको भनाइ थियो ।

उनले नेपालबाट विभिन्न मुलुकमा गएर बसेका नेपाली दिदीबहिनी दाजुभाइको समस्या समाधानका लागि एनआरएनले खेलेको भूमिकाको प्रशंसासमेत गरे । उनले एनआरएनको अधिवेशनको सफलताको शुभकामना पनि दिए ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँका साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु, सांसदहरु, भ्रातृ संस्थाका प्रतिनिधि र एनआरएनको सम्मेलनमा भाग लिन विभिन्न देशबाट आएका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?