Comments Add Comment

६१ दिन मृत्युसँग जुधेका थिए अमिताभ, पढौं उनको रोचक किस्सा

आज बिग बी अर्थात अमिताभ बच्चनले आज ७५ औं जन्मदिन मनाउँदैछन् । बलिउडका निम्ति उनी श्रद्धा र आस्थाका धरोहर हुन् । अमिताभको डाइहार्ट फ्यान हामीकहाँ पनि छन् । एउटा पुस्ता त उनको डायलग कण्ठ गरेरै हुर्किएका छन् । यसै सन्दर्भमा विभिन्न स्रोत सामग्रीबाट फेला परेका अमिताभका जीवनका रोचक किस्सा पेश गर्दैछौं ।

छायांकनमा यस्तो भयो

यदि त्यो दुर्घटनामा ‘भाग्यले साथ’ नदिएको भए ? सायदै अमिताभले आज ७५ औं जन्मदिन मनाउने थिए । प्रसंग हो, फिल्म ‘कुली’ छायांकनको ।

बैंगलुरुमा छायांकन भइरहेको थियो । फाइटको दृश्य थियो । धुमधामका साथ छायांकन भइरहेको थियो । रमितेहरु ताली बजाइरहेका थिए । भीकू वर्माले द्वन्द्वकला सिकाइरहेका थिए । फिल्मको एउटा दृश्यमा पुनीत इस्सारको मुक्का अमिताभको मुखमा लागेको थियो । त्यही तोडले अमिताभ टेबलमा पछारिन पुगे ।

हुन त यतिबेला अमिताभको डुब्लिकेट राखेर पनि दृश्य कैद गर्न सकिन्थ्यो । तर, अमिताभ स्वंम त्यसमा भिडिरहेका थिए, ताकि दृश्य अप्राकृतिक नदेखियोस् । उक्त दृश्य योजना अनुसार नै पूर्ण रुपले ‘नेचुरल’ भयो । तर, ठीक यहिबेला अमिताभको पेटमा हल्का दुखाई महसुष भयो ।

असह्य पीडाको क्षण

टेबलको एउटा कुनामा अमिताभको पेट नराम्ररी थेचरिएको थियो । सबैले सोचे, सामान्य चोट होला । किनभने एक थोपा पनि रगत निस्किएन । अमिताभ होटलमा आरम गर्न गए , तर दुखाई थप बढ्यो । दोस्रो दिन दुखाई कम हुनुको साटो औधी दुख्न थाल्यो । उनलाई अस्पतालमा लगियो । एक्स रे भयो । तर, चिकित्सकले केहि भेउ पाउन सकेन् ।

पहिलो शल्यक्रियामा यस्तो देखियो

अमिताभलाई निन्द्राको औषधी दिएर सुताइयो । यो खबर सुनेर उनका सबै परिवार त्यहाँ पुगे । तेस्रो दिन अमिताभको स्थिती निकै खराब भइसकेको थियो । २७ जुलाई १९८२ मा उनको पेटको शल्यक्रिया गर्नुपर्ने भयो । पेट चिरियो । अमिताभको पेटको झिल्ली, जसले पेटभित्रको अंगलाई बचाएर राख्छ र रसायसनबाट बचाउँछ, त्यो च्यातिएको थियो । थोरै आन्द्रामा पनि घाउ भएको थियो ।

चार घण्टा बाँच्न नसक्ने अवस्थामा तीन दिनसम्म जीवित

यस्तो अवस्थामा कुनैपनि व्यक्ति चार घण्टासम्म बाँच्न मुश्किल हुन्छ । तर, अमिताभ तीन दिनसम्म यस अवस्थाबाट गुजि्रए । चिकित्सकले उनको पेट सफाई गरे, आन्द्रा सिलाइयो । त्यसबेला अमिताभ दम, जन्डिजको कारण एउटा मृगौला पनि खराब भइसकेको थियो । उनलाई मधुमेह पनि थियो । यस्तो खराब अवस्थामा अमिताभ कसरी बाँचे ? त्यो स्वंम चिकित्सा विज्ञानको लागि पनि आश्चर्यलाग्दो थियो ।

शरीरभरी बिष फैलियो

शल्यक्रियापछि अमिताभलाई निमोनिया भयो । उनको शरीरमा विष फैलियो । रगत पातलो हुँदै थियो । रगतको मात्रा बढाउन उक्त अस्पतालमा खास व्यवस्था थिएन, मुम्बईबाट मगाइयो । पछि अवस्थामा सुधार नआएपछि अमिताभलाई मुम्बई लगियो । उनको मुम्बईको अस्पतालमा उपचार भयो । तर, अवस्थामा सुधार नआएपछि पुन दोस्रो पटक शल्यक्रिया गरियो । ३ घण्टाको शल्यक्रिया चल्यो । अमिताभको अवस्था एकदमै नाजुक थियो ।

अब भगवानले मात्र बचाउँछ

उनलाई औषधीका साथ भगवानको पनि आवश्यक थियो । तमाम मन्दिर, धार्मिक स्थलमा मानिसले अमिताभको जीवनरक्षाका लागि धूपबत्ती बाले । प्राथना गरे ।

उनलाई त्यसबेला सास लिनसमेत गाह्रो भइरहेको थियो । श्वासप्रश्वासका लागि कृतिम नली लगाइयो । उनलाई रगतको आवश्यक्ता भयो । २ सय बढीले रगत दिए ।

देशभर मठमन्दिरमा प्रशंसकले पूजापाठ गरे

डाक्टर स्वंम हार खाइसकेका थिए । उनीहरु भन्थे, अब कुनै चमत्कारले मात्र बचाउँनेछ । पछि पुन तेस्रो शल्यक्रिया गर्नुपर्‍यो । लन्डनबाट विज्ञ बोलाइयो । अब उनलाई कुनै चमत्कारले मात्र बचाउन सक्थ्यो ।

अस्पतालको अगाडि लाखौं प्रशंसकको भिड लाग्यो । उनीहरु अमिताभको जीवनरक्षाका लागि प्रार्थना गर्न थाले । भिड सम्हाल्नका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरियो । जय बच्चन स्वंम मन्दिरमा गइन्, प्रार्थनाका लागि । देशभर कति स्थानमा हवन् गरियो ।

अन्ततः सकियो मृत्युको लडाई

पछि क्रमस उनको अवस्थामा सुधार आयो । उनी बिस्तारै खान, पिउन थाले । देश-दुनियाँले गरेको प्रार्थनाले साँच्चै काम गर्‍यो । उनी क्रमस तङ्गि्रन थाले । यद्यपी पूर्ण रुपले निको हुन लामो समय लाग्यो । उनले अस्पतालमै धेरै समय गुजार्नुपर्‍यो ।

जब उनी उठ्न सक्ने भए । र, अस्पतालबाट फर्किए । आफ्ना तमाम् प्रशंसकलाई धन्यवाद दिदै उनले भने, ‘जिन्दगी र मृत्युबीच यो भयानक अग्नि परीक्षा थियो । दुई महिनाको अस्पताल प्रवास र मृत्युको लडाई सकिएको छ । अब मैले मृत्युमाथि जीत हासिल गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment