Comments Add Comment

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न राष्ट्रिय फुटसल टोली इरान प्रस्थान

२६ असोज, काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप-२०१८ को छनाेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोली बिहीबार इरान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले गत महिना मात्र छनोट गरेको राष्ट्रिय फुटसल टोलीको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

बिहीबार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली टोलीलाई शुभकामनासहित बिदाई गरे । १४ खेलाडी तथा ९ अफिसियलसहित २३ जनाको टोली बिहीबारै इरान प्रस्थान गर्नेछ ।

नेपाले प्रतियोगितामा तीन खेल खेल्नेछ । नेपालले आगामी आइतबार उज्वेकिस्तान, सोमबार कीर्गिस्तान र मंगलबार तुर्किमिनिस्तानसँग तीन खेल खेल्नेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले छनोटको दोस्रो चरणमा पुग्ने नेपाली टोलीको लक्ष्य रहेको बताए । ‘पहिलो पटक राष्ट्रिय टोली छनोट गरिएको छ ।’ श्रेष्ठले भने, ‘यसलाई हामीले अनुभव हासिल गर्ने अवसरका रुपमा पनि लिएका छौं ।

छोटो तयारीका बाबजुद नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेको प्रशिक्षक श्रेष्ठले बताए ।

टोलीका कप्तान सुरज राउतले पनि अनुभव हासिल गर्नु नै मूख्य उपलब्धी हुने धारणा राखे । उनले भने, ‘टिम एकबद्ध छ, हामीले शतप्रतिशत एफोर्ट लगाएर खेल्नेछौं, राम्रो खेलेपछि नतिजा त हाम्रो पक्षमा आइहाल्छ ।’

बिदाई समारोहमा एन्फा अध्यक्ष श्रेष्ठले ढिलै भएपनि एन्फाले फुटसल राष्ट्रिय टोली बनाएको र अन्तर्राष्ट्रिय स्तरमा नेपालको शान रहनेगरी प्रदर्शन गर्न टोलीलाई शुभकामना दिए ।

फुटसल र जर्सी नेपालबीच सम्झौता

एन्फाका फुटसल राष्ट्रिय टोलीलाई जर्सी र आवश्यक किटका लागि जर्सी नेपाल प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र जर्सी नेपालका सिइओ कृष्णकुमार गुप्ताले हस्ताक्षर गरे ।

वर्षमा १० लाख बराबरका सामाग्री उपलब्ध गराउने गरी ३ वर्षका लागि ३० लाख बराबरको सम्झौता भएको एन्फाले जनाएको छ ।

फुटसल टोलीलाई जर्सी नेपालले होम र अवे गरी खेलाडी तथा अफिसियल समेतका लागि ६० थान जर्सी उपलब्ध गराउनेछ । वर्षमा दुई पटक जर्सी उपलब्ध हुनेछ । दुई भन्दा बढी अन्तर्राष्ट्रिय भएको अवस्थामा पनि जर्सी उपलब्ध गराउनेछ भने अन्य किटमा २५ प्रतिशत छुट दिनेगरी सम्झौता भएको छ ।

जर्सी नेपालले मोजा, बुट, पानीको बोत्तल, सिन प्याड, गोलकिपर पञ्जा लगायतका सामाग्री उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment