Comments Add Comment

दिपावलीः मातेको मौसम र आनन्दबोध


कोठामा टिभी हेरेर बस्ने समय हैन यो ।
बैठकमा म्यारिज जमेर बस्ने मौसम पनि हैन यो ।
मदिरामा झ्याप भएर सिरक ओढेर ढल्ने बेला त हुँदै हैन यो ।

फेसबुकमा लाइक र कमेन्ट गरेर बस्न छोडनुस्, चोरऔंलालाई पनि थकाइ मार्न दिनुस् । अनि निस्कनुस घरबाहिर र हेर्नुस् चारैतिर ।

काठमाडौंमा हुनुहुन्छ भने यसो उत्तरतिर नियाल्नुस्, हिमाल टलक्क टल्किएको देखिनेछ । मौसमको मजा लुट्नुस् । अनि सानो ब्याग बोकेर साथीभाइसँग हाइकिङमा निस्कनुस् ।

थानकोटबाट चन्द्रागिरितिर उक्लिनुस् र भञ्ज्याङमा पुगेर उत्तरतिरका गणेश हिमालदेखि जुगल हिमालसम्म हेरेर मजा लिनुस् । केवलकारबाट जाने हो भने माथि पुगेर चित्लाङ हुँदै मार्खुसम्म हाइकिङ जानुस् र इन्द्र सरोबरको भरमार मजा लुट्नुस् ।

हाइकिङका लागि यो उपयुक्त मौसम हो । चम्पादेवी होस् या फुलचोकी या शिवपुरी हुँदै चिसापानीसम्म नै किन नहोस्, हाइकिङ जान सकिन्छ । उता, बल्थलीतिरका रुटहरुमा पनि हाइकिङ जानु यतिबेला उत्तम । तराईबासीका लागि त झन् यतिबेला घुमघाम आनन्ददायक हुन्छ, धानै खेतको सौन्दर्यपान गर्दै ।

अहा, वर्षायाम सकिएर हिउँद नलाग्दैको यो मादक मौसमले मनमा आनन्द बोध गराउँदोरहेछ । नभन्दै हेर्नुस् त, मनसुनको बिदाइसँगै आकाश खुलेको छ । दन्तमञ्जनको विज्ञापनमा बत्तीस दन्त देखाएर कुनै सुन्दरी हाँसे झैं उत्तरमा हिमाल मुस्कुराएको छ । कलर कम्बिनेशन मिलाउँदै फाँटहरुमा पहेंलपुर धान झुलिरहेका छन् भने सयपत्री र मखमली फुलिरहेका छन् । नासपाती ननिख्रिँदै अम्बा र हलुवावेद करीब करीब पाकिसकेका छन् । चीन र कश्मीरका स्याउलाई चुनौती दिँदै मुस्ताङको स्याउ पनि बजारमा आइपुगेको छ । र, जतिसुकै दुःख भए पनि नेपालीको मुहारमा खुशी फक्रिएको छ ।

यतिबेला मौसम नै मातेको छ । प्रकृतिको मादकताले हामीलाई पनि लट्ठ बनाएको छ । उफ् गर्मी पनि छैन, आत्थु जाडो पनि छैन । यो मौसमी सन्तुलनलाई जनाउने ठयाक्कै शब्द हामीसँग छैन । बस बोध छ । हामी प्रकृतिको आनन्द बोध गर्न सक्छौं ।

ऋतु परिवर्तनको यो संक्रमणकालले हामीलाई अस्तित्व बोध गराउँछ । यसको आध्यात्मिक पाटो अदभूत छ । मेडिटेशन (ध्यान) घटीत हुँदा चित्त जसरी तटस्थ भावमा हुन्छ, ठीक त्यसैगरी मौसम पनि यतिबेला तटस्थ भावमा छ । न जाडो, न गर्मी ।

असली मजा अतिमा हैन, वीचमा छ । अर्थात हिउँद र गर्मीको वीचमा । असली मजा मध्यममार्गमै छ । जीवन पनि त गितारको तारजस्तै हो

जाडो र गर्मी दुई विपरीत मौसम हुन् । तर, यी दुईको वीचमा केही महिना मौसम बडा सन्तुलित हुन्छ । वर्षा सकिएपछिका असोज, कार्तिक, मँसिर तथा हिउँद सकिएपछिका फागनु, चैत र वैशाख वास्तवमै बडा आनन्दका महिना हुन् । तर के नभुलौं भने यी ६ महिनामा हामीले प्राकृतिक आनन्दबोध गर्ने भनेको हिउँद र वर्षाका कष्टहरुकै कारण हो । हिउँदको चिसोले नअत्याएको भए हामी फागुनको न्यानोमा रमाउने थिएनौं, गर्मी र वर्षाले नसताएको भए हामीलाई तिहारको यो मौसम राम्रो लाग्ने थिएन ।

जे होस्, असली मजा अतिमा हैन, वीचमा छ । अर्थात हिउँद र गर्मीको वीचमा । असली मजा मध्यममार्गमै छ । जीवन पनि त गितारको तारजस्तै हो । तार खुकुलो भयो भने संगीतको धुन निस्कदैन, कसियो भने तार चुँडिन्छ । न कसिलो, न खुकुलो, वीचको अवस्था । ऋतु परिवर्तको संक्रमणकाल पनि त्यही वीचको अवस्था हो ।

यस्तो संक्रमणकालको आनन्दको व्याख्या गर्दा हाम्रो मनको विज्ञान पनि बुझ्नुपर्ने हुन्छ । हाम्रो मन पनि शान्त, निर्विचार र तटस्थ अवस्थामै आनन्द महसुस गर्छ । यसलाई यसरी बुझौं, हाम्रो मनमा असंख्य विचारहरु खेलिरहेका हुन्छन् । ती विचार सकारात्मक/नकारात्मक, सुखद/दुःखद हुन सक्छन् । विचारपछि विचारको श्रृंखला चलिरहन्छ । एउटा विचार सेलाएर अर्को विचार उत्पन्न हुनुअघि वीचमा एउटा ग्याप हुन्छ ।

ध्यानका क्रममा मानिस निर्विचार अवस्थामा पुग्नु भनेको दुई विचारवीचको ग्याप फराकिलो हुँदै जानु हो । दुइ विचारवीचको त्यो संक्रमण काल जति लम्बिँदै गयो, त्यति मानिस विचारहरुबाट मुक्त हुँदै जान्छ । मनमा कुनै पनि विचार नभएपछिको त्यो तटस्थ, स्थीतप्रज्ञ या अकम्पित अवस्थाले नै ध्यानीहरुलाई आनन्द दिन्छ ।

यतिबेला मौसम नै मातेको छ । प्रकृतिको मादकताले हामीलाई पनि लट्ठ बनाएको छ । उफ् गर्मी पनि छैन, आत्थु जाडो पनि छैन । यो मौसमी सन्तुलनलाई जनाउने ठयाक्कै शब्द हामीसँग छैन

ठीक यही नियम हाम्रो स्वास प्रश्वासमा पनि लागू हुन्छ । हामी स्वास लिन्छौं र स्वास छोड्छौं । स्वास छोड्ने र लिनेवीचको संक्रमणकाल पनि तटस्थ हुन्छ । सास लिएर छाडनुअघि या स्वास छाडेर लिनुअघिको अवस्थालाई कुम्भक भनिन्छ । योगीहरु यो अवस्थामा लामो समयसम्म रहेर तप गर्छन् र आनन्दबोध गर्छन् ।

यस्तै हुन्छ, दिन र रातवीचको संक्रमण । दिन पूरा भइसकेको छ, तर रात सुरु भइसकेको छैन । अथवा रात पूरा भइसकेको छ, दिन सुरु भएको छैन । दिन र रातको सन्धी समय पनि तटस्थ हुन्छ । र, त्यो पल बडा रमणीय र आनन्ददायक हुन्छ । त्यसैलाई ब्रम्हमुहुर्त भनिन्छ । सन्ध्यामा आरती गरिनु अनि विहान सूर्योदय नहुँदै उठेर नुहाई विभिन्न पूजापाठ गर्नुको कारण के हो भने दिन र रातभन्दा परको त्यो समयको सदुपयोग गरिएको हो ।

दुई देशको सीमामा ‘न्यो म्यान्स ल्याण्ड’ भए झैं दिन र रातवीच पनि एउटा सूक्ष्म अवस्था हुन्छ । मनमा विचारहरुको वीचमा पनि त्यस्तै अवस्था हुन्छ र स्वास प्रश्वासको वीचमा पनि त्यस्तै पल हुन्छ ।

ठीक यसैगरी दुई ऋतुहरुवीचको अन्तरालको समय पनि मौसमातीत हुन्छ । वर्षा ऋतु पूरा भई हिउँद याम सुरु हुनुअघिको यो समय पनि यही कारण तटस्थ छ र आनन्दमय छ । हाम्रा पुर्खाहरुले दशैं र तिहारजस्ता चाडपर्वहरु ठीक यस्तै समयमा मनाउँदै आउनुको एउटा कारण के पनि हुनसक्छ भने यो मौसम आफैमा उत्सवमय छ ।

दुई ऋतुहरुवीचको अन्तरालको समय पनि मौसमातीत हुन्छ । वर्षा ऋतु पूरा भई हिउँद याम सुरु हुनुअघिको यो समय पनि यही कारण तटस्थ छ र आनन्दमय छ । हाम्रा पुर्खाहरुले दशैं र तिहारजस्ता चाडपर्वहरु ठीक यस्तै समयमा मनाउँदै आउनुको एउटा कारण के पनि हुनसक्छ भने यो मौसम आफैमा उत्सवमय छ

मौसमको यो मादक रस पान गर्न छाडेर हामी किन घरभित्र म्यारिज खेलेर बसिरहका छौं ?

पहेंलै धान काटेर सुकाइएका खेतका आली आली हिँड्दै, धानको अग्र्यानिक सुगन्धको मजा लिँदै अनि पारिलो घामको न्यानोबाट भिटामीन डी पान गर्दै मज्जाले घुमघाम गर्न छाडेर हामी किन कोठामै खुम्चिएका छौं ?

घरघरमा दिपावली भइरहेको छ र हरेक बत्तीहरुले चिच्याईचिच्याई भनिरहेका छन्, ‘अस्तित्वको यो आनन्द बोध गर । मलाई बालेर केही हुन्न, आफूभित्रको ज्योति बाल । अप्पदिपो भवः ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment