Comments Add Comment

कथाः कन्टेनरमा रातो डायरी

विमान केही घण्टाका लागि डिले भयो । प्राविधिक कारण बताएर बजेको सूचनाको सुरिलो नारी स्वर लबीमा गुञ्जियो । यात्रु चहलपहल गर्न लागे ।

उठेर दुवै घुँडा तन्काएपछि म फेरि त्यही बेन्चीमा बसेँ । पुस्तक हातमै थियो ।

त्यही बेला मैले मानबहादुर क्षत्रीलाई लबीको अघिल्लो सिटमा देखेँ । पुटुक्क खैरो झोला पिठ्युँपट्टि बोकेर ऊ पछाडि फर्किंदा हाम्रा आँखा जुधेका थिए ।

मानबहादुरसितको यो मेरो चौथो भेट थियो ।

१.

पहिलोपल्ट मैले मानबहादुरलाई लमजुङको भार्तेमा भेटेको थिएँ, ०५९ सालमा । भूमिगत थियो । त्यो सुदूर गाउँ । पूरानो स्कुल । साँझ पर्दै गरेको समय ।

पूरानो सामुदायिक स्कुलको कक्षामा भएको पत्रकार सम्मेलनमा उसले जोशिलो भाषण गरेको थियो, ‘क्रान्तिको कारवाहीमा हुने घटना सामान्य हुन् । बाँचे राज्य र मरे एउटा ज्यान भनेर हामी क्रान्तिमा हिँडेका मान्छे, देशको मुक्तिका लगि जे पनि गर्न सक्छौं ।’

उसले यसरी बोल्दा घाँटीका नसा फुलेका थिए । अनुहार रातो-रातो भएको थियो । गालामा झपक्क दारी थिए र ऊ त्यसलाई बेला-बेला दाहिने हातले सम्याएजस्तो गरिरहन्थ्यो । रातो टोपी लगाएको थियो । सामान्य सर्ट, पाइन्ट, सस्ताखाले गोल्डस्टार जुत्ता उसको पहिरन थियो ।

उसको पछिपछि हरियो कम्ब्याट ड्रेस लगाएको लडाकु पनि मैलो तर कसिलो झोला बोकेर बसेको थियो । कम्मरको दाहिनेपट्टि उसले भिरेको पेस्तोल प्रष्टसित देखिन्थ्यो ।

बोल्दा पटक-पटक मुठ्ठी बटारेर स्वरलाई भित्रैदेखि खिचेको थियो । यसो गर्दा स्वरको कडापन अझ खिरिलो भएको थियो । माइक थिएन । सानो कोठामा माइकको जरुरी पनि थिएन ।

हाते माइक त थियो तर त्यसले काम गरेन ।

‘चाहिने बेलाचैँ सधैँ बिग्रन्छ यो चिज पनि,’ हल्का पहेँलो रङको हाते माइकको बेट्री फाकलफुकल पारेर उसले भनेको थियो । उसले निकै प्रयास गरेपछि माइक स्याइँसम्म गर्ने तर गतिलोसित आवाज नदिने भयो । माइकको आवाजभन्दा उसकै आवाज प्रष्ट सुनिने भएपछि माइकको टन्टा छाडेर बिनामाइक पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलन भने पनि त्यहाँ धेरै पत्रकार थिएनन् । अरु केहीसहित म थिएँ । तिनताका म एउटा दैनिक पत्रिकामा काम गर्थें । बेलामा तलब नदिए पनि म समाचारचाहिँ लेखिहेकै थिएँ र राम्रैखाले समाचार लेख्ने पत्रकारमा पर्थें ।

ऊ धाराप्रवाह बोलिरहेको थियो । उसले बोलिसक्दा बुझेर वा नबुझेर उपस्थितले पटटट ताली बजाए । पूरानो स्कुलको किलो फुस्केर हल्लिएको बेन्चीमा बसेर मैले उसको भाषण सुनेको थिएँ, पत्रकारका रुपमा । र, हतारहतार शब्दशः उसको भाषण टिपेको थिएँ ।

दोस्रोपल्ट मैले उसलाई इलामको एउटा क्यान्टोनमेन्टमा भएको सांस्कृतिक कार्यक्रममा भेटेको थिएँ । उसका आँखामा पहिलेजस्तो जोश देखिन्नथ्यो । तर, उसले चल्तीको फिल्मी गीतमा एउटा नाच प्रस्तुत गरेको थियो, जुन कार्यक्रममा पार्टीका अध्यक्ष प्रमुख अतिथि थिए ।

‘किताब लेख्दै छु,’ कार्यक्रम सकिएको साँझ रातो डायरी देखाएर उसले भनेको थियो, ‘यसमा धेरै कुरा आउनेछन् सर । हाम्रो क्रान्ति र समाजका नयाँ कुरा । सिद्धान्त, विचार सबै यही डायरीमा छ ।’ उसले फरर पल्टाएको डायरीको पानामा मैले किरमिरे नक्सा, अस्पष्ट वाक्यमा लेखिएका टिपोट देखेको थिएँ ।

त्यसको केही समयपछि ऊ क्यान्टोनमेन्टबाट हराएको खबर आयो । त्यो खबर आएको केही दिनपछि एकाएक रातो टोपी, मैलो जिन्स, खैरो मास्क र चेग्वेभारा अंकित सेतो हाफ टिसर्ट लगाएको एउटा युवा कार्यालयको मेरो च्याम्बरमा देखा पर्‍यो । हामी लामै गफियौँ ।

शान्ति प्रक्रिया र सेना समायोजनको काम भर्खर सुरु भएको थियो, सकिएको थिएन । भन्थ्यो, ‘क्याम्पमा कडिकडाउ नै छ सर, म त निस्केँ । त्यो एउटा बन्धनजस्तो छ । यौटा बन्धन मुक्तिका लागि लागेको, अर्को बन्धनमा कसरी बस्नु भनेर म त निस्किएँ सर । म निस्केको कसैलाई थाहा छैन, खोज्दै छन् ।’

मानबहादुरसितको यो मेरो तेस्रो भेट थियो ।

‘आखिर सब भ्रम रहेछ,’ चियाको पहिलो सुर्कीसँगै ऊ बोलेको थियो, ‘महानगरको मस्त सहर छिरेपछि क्रान्तिको ज्वाला विस्तारै सेलाउने रहेछ ।’

‘किन यस्तो निराशा ?’

‘समयले यस्तो बनायो सर,’ सर्टका दुवै बाउला पट्याएर ऊ बोलेको थियो, ‘ठूलो आशा थियो नेतृत्वप्रति, उनीहरुकै योजनामा त हो हामी लडेको समाज बदल्न । तर, सत्ताको सपनाले हाम्रो सपना चकनाचुर पारिदिए । सर, कति पड्काउनु खिया लागेको बन्दुक ?’

‘पहिले नै त्यो थाहा थिएन ?’

‘कसरी थाहा हुन्छ सर ? नारा हेर्नुस् नारा, नाराअनुसार भइदिएको भए आज के भइसक्थ्यो, सिद्धान्तअनुसार भएको भए के भइसक्थ्यो, यसरी दुखेसो गर्नै पर्दैनथ्यो ।’

ऊ केहीबेर चुप रह्यो र टोलाएजस्तो देखियो । बोल्दाबोल्दै उसको स्वर कहिले अलिक रिसाएजस्तो देखिन्थ्यो । कहिले आक्रोशितजस्तो । कहिले आत्तिएजस्तो हुन्थ्यो । कहिले चनाखो भएजस्तो, कहिले टोलाएजस्तो ।

‘त्यही भएर म क्यान्टोनमेन्ट छाडेर हिँडँे,’ एक सर्को चुरोटको धूवाँ हावामा छरेपछि ऊ बोल्यो, ‘बन्दुक बोकेर, मान्छे मारेर मैले कुनै क्रान्ति गरिनछु सर । मेरा दुःख सकिएनन्, भविष्य मात्रै सकियो ।’

यति भनिसकेर उसले अनुहार बिगार्‍यो । अनुहार बिगार्दा निधार खुम्चेर मुजा परे । मुख चुस्स पर्‍यो । गाला तन्किए ।

किसान बाउआमाको असहमतिबीच बन्दुक बोकेर हिँडेकामा ऊ पछुतो मानिरहेको थियो । मकवानपुरको भित्री गाउँमा उसको घर थियो । बाउआमा खेतीपातीमै थिए । खानै नपुग्ने त थिएन तर भनेजस्तो मनग्गे र छेलोखेलो पनि थिएन । दुःखहरु थिए ।

दुःखहरुबीच बाउआमाले उसलाई नजिकैको माध्यमिक विद्यालय भर्ना गरिदिएका थिए । पाखो बारी थियो । एक हल गोरु, दुई वटा गाई, पाँच बाख्रा, दुई वटा भैसी र एउटा राँगो पनि थियो । कतैबाट पाल्न भनेर ल्याएको त हैन तर सधैँ घर बस्ने कालो कुकुर पनि थियो, जो रातरातभर भुकिरहन्थ्यो । बाल्यकाल तिनै बाख्रा चराउँदै, गाई चराउँदै, पाखो बारी खन्दै र खोला बगरतिर कुध्दै बितिरहेको थियो ।

उसमाथिका दुई दाइहरुको विवाह भइसकेको थियो । दुई दाइपछिका अरु दुई दिदीहरु थिए । उनीहरुको पनि घरजम भइसकेको थियो । दाइदिदीहरुले प्राथमिक तहभन्दा बढी पढ्न सकेका थिएनन् ।

‘कम्तीमा स्कुलको पढाइ सकेको भए कतै न कतै अल्झिन वा अल्झाइदेऊ भन्न सजिलो हुने रहेछ सर, त्यसो पनि गर्न सकिनँ,’ यसो भन्दा उसले निधार खुम्च्याएको थियो, ‘पढ्न सकिएन, कतै अल्झाइदेऊ भन्न पनि सकिएन । त्यति बेला किन पढाइ चाहियोजस्तो लागेको थियो । अहिले नभइनहुने रहेछ भन्ने बल्ल थाहा पाउँदै छु ।’

यति भनेर ऊ चुप लागेको थियो ।

चुप लाग्दा पनि ओठ खुल्ला-खुल्लाझैं हुन्थे, केके बोलेजस्तो चल्थे । अत्तालिएजसरी दायाँबायाँ हेरिरहन्थ्यो । आवाज प्रष्ट पार्न बेलाबेला खोकेर घाँटी सफा पारिरहन्थ्यो ।
·

त्यतिबेला ऊ स्कुले विद्यार्थी नै थियो । बिहानी सत्रको दोस्रो घण्टी चल्दै थियो ।कक्षामा विज्ञान सर रवीन्द्र गौतम पढाइरहेका थिए । पाठ थियो, डार्बिनको बाँच्नका लागि संघर्ष । त्यही बेला सेना र पुलिसको एक डफ्फा विद्यालय पस्यो ।

टाटोपांग्रे ड्रेस लगाएका, पछाडि गह्रुँगो झोला बोकेका मध्येको एउटा हतियारधारीले ढोकाबाट रवीन्द्र सरलाई बाहिर आउन आदेश दियो ।

‘सर, बाहिर आउनुपर्‍यो’

‘राम्रो मुखले आउनुस् भनेपछि आउनुस्, तपाइर्ं के पढाइ रहनुभएको छ हामीलाई थाहा छ । तपाईं बाहिर आउनुस् ।’

‘कक्षा नसकी म बाहिर आउन मिल्दैन, म आउन्नँ । तपाईंहरुको मसित केही काम भए कक्षा सकिएपछि गरौँला’

‘धेरै भाषण नदिनुस्, खुरुक्क बाहिर आउनुस्’

‘मैले भनिसकेँ, कक्षा नसकी म निस्कन्नँ, अहिले मेरो काम पढाउने हो’

‘तानेर निकाल् न, भाषण धेरै गर्ने रहेछ’

त्यसपछि हान्निएर भित्र पसेको सिपाहीले रवीन्द्र सरको छातिमा सर्ट मुठ्याएर समायो र तान्दै बाहिर लग्यो । रवीन्द्र सरको चस्मा र्झन लागेको थियो, एउटा हातमा डस्टर थियो, डस्टर ढोकानेर खस्यो ।

सिपाहीले झट्कारेर रवीन्द्र सरलाई चौरमा पुर्‍याएपछि दुवै हात बाँधियो । आँखामा पट्टी बाँधियो र सेना पुलिसको त्यो हुलले उनलाई बीचमा पारेर लग्यो ।

त्यसपछि स्कुलमा विद्यार्थीबीच चर्चा चल्यो, रवीन्द्र सर किन समातिए ? अनेक अड्कल भए ।

अड्कलहरुमध्येको एउटा थियो, अघिल्लो दिन गाविस भवन, स्वास्थ्यचौकी र चोकको साहुको घरमा सरकारविरोधी नारा रवीन्द्र सरको निर्देशनमा लेखिएको थियो । त्यहाँ क्रान्ति जारी रहने, सामन्तहरुको सफाया गरिने, सरकारविरुद्धको सशस्त्र युद्धलाई झन् कडा बनाएर लाने कुरा उल्लेख थियो ।

‘मास्टरको काम त पढाउने पो हो त, यसरी क्रान्ति गर्न थालेपछि, विद्यार्थीलाई पाठको सट्टा क्रान्ति पढाउन थालेपछि समातिजान्छ नि राज्यले । राज्य त राज्य हो नि,’ ढाका टोपी लगाएको सामाजिक शिक्षा पढाउने शिक्षकले ओठमा हल्का मुस्कान निकालेर भन्यो, ‘हामी पढाई खानेलाई पनि गाह्रो भयो, कुन दिन सेना पुलिसले समात्ने हुन्, त्रास छ ।’

रवीन्द्र सर विद्यार्थीका पि्रय थिए ।

विज्ञान शिक्षक भए पनि उनको रुचि साहित्य संगीतमा थियो । कक्षामा सधैँ हँसिलो भएर प्रस्तुत हुन्थे । बाटामा विद्यार्थी भेटे अँगालो मारेर गफिँदै हिँड्थे । कहिल्यै विद्यार्थीलाई ठूलो स्वरले नकराउने उनको स्वभाव थियो । मोटा किताबहरु पढिरहन्थे । भन्थे, ‘संसारमा ज्ञान भनेको किताबमा हुन्छ । हामीले समाज बुझ्न किताब पढ्नुपर्छ ।’

त्यो दिन पनि बाँच्नका लागि संघर्ष पढाइरहँदा रवीन्द्र सरले भनेका थिए, ‘बाँच्नु ठूलो कुरा होइन, बाँच्नका लागि संघर्ष गर्नु पनि ठूलो कुरा होइन । आफू अरुका लागि पनि बाँच्न सकेँ कि सकिनँ, अरुका लागि संघर्ष गर्न सकेँ कि सकिनँ, ठूलो कुरा हो ।’

हामीले सरको कुरा केही बुझे बुझेजस्तो नबुझे नबुझेजस्तो अनुभव गर्‍यौँ ।

हल्ला त के पनि थियो भने रवीन्द्र सर दिनभर विद्यालय पढाउँछन्, रातभर गाउँमा मान्छे भेला गरेर क्रान्तिका कुरा गर्छन् । धनी गरिब समान हुनुपर्छ, सबैले समान अवसर पाउनुपर्छ भन्छन् । अरु त अरु दिनभर हलो जोतेको, कोदो रोपेको ज्याला कसैलाई बढी, कसैलाई कम हुनु हुन्न पनि भन्छन् भन्ने सुनिएको थियो ।

रवीन्द्र सरलाई समातेको एक सातापछि उनको शव नजिकैको खोलामा भेटियो । रेडियो नेपालको बिहान सात बजेको समाचारमा रवीन्द्र सरको मृत्यु भएको खबर आएपछि यसको हल्ला गाउँभरि फैलिएको थियो । समाचारले सुनाएको थियो, सुरक्षाकर्मीलाई गोली हानेर भाग्दै गर्दा कारवाहीमा एक आतंककारीको मृत्यु ।

त्यो दिन स्कुलमा पढाइ भएन । सबै सरको शव हेर्न खोलामा गए । शव घोप्टो परेको थियो । सर्ट च्यातिएको थियो । खुट्टामा एउटा जुत्ता थिएन । छातिमा दुई गोली लागेको थियो । तर, छेउमा रगतको भल थिएन ।

‘त्यसपछि मनमा रवीन्द्र सरलाई किन मारे होलान् भन्ने कुरा मात्र खेलिरहेको थियो सर,’ मानबहादुर बोल्यो, ‘हामी केटाकेटी नै थियौँ, कारण कसैले बताएन । हामीले अड्कल त लगायौँ तर खास कारण पत्ता पाएनौं ।’

‘अनि, तपाईं कसरी बन्दुक बोक्न पुग्नुभयो त ?’

‘रवीन्द्र सर मारिएको केही सातापछि सैनिक पोसाकका एक हुल मान्छे फेरि स्कुलमा पसे । ती पहिला आएका सेना पुलिसभन्दा फरक थिए । मैला थिए । सेना पुलिसको जस्तो ज्यान तिनको थिएन । ख्याउटा र दुब्ला पातला थिए । त्यतिबेला सामाजिक शिक्षाको कक्षा भइरहेको थियो । उनीहरु आए र कक्षामा सरासर पसे ।

‘के यस्तो पारा हो, पढाइ रहेको ठाउँमा हृवार्र हृवार्र पस्न त भएन नि, त्यो पनि हतियार बोकेर,’ सरको बोली सकिन नपाउँदै भित्र आएका एक जोशिला युवाले कक्षामा सम्बोधन गरेर बोल्न थालिसकेका थिए ।

भाषण गर्नेले भनेको थियो, उनीहरु किन क्रान्तिमा लागे ? सेनाले कसरी उनीहरुका बाउ, आमा, दाजु, भाइलाई मार्‍यो र चेलीबेटी बलात्कारमा परे । रवीन्द्र सरलाई मार्नुको कारण के हो ?

‘रवीन्द्र सर सधैँ परिवर्तनका पक्षमा हुनुहुन्थ्यो, राज्य परिवर्तन चाहन्न । त्यही भएर रवीन्द्र सर मारिए । रवीन्द्र सरको इच्छा साकार पार्ने हो भने तपाईंहरु पनि आजैदेखि क्रान्तिमा लाग्नुस् ।’

‘त्यसपछि हो सर पढाइ छाडेर म क्रान्तिमा लागेको’

२.

‘त्यो प्रहरीचौकी हान्ने तयारी त अघिल्लो दिन साँझदेखि नै चलेको थियो, उसले भन्यो, ‘सब लडाकु लाइन बसेका थिए । मनमा एउटा भय त थियो तर हामी देशका लागि, जनताका लागि र समग्र मुक्तिका लागि लागेका हौँ भन्ने भावनाले त्यसलाई जितेकाले डरभन्दा धेरै जोस थियो ।

साँझको खाना खाएर हामी अन्तिम सेल्टरतिर लागेका थियौं । हाम्रो अन्तिम सेल्टर प्रहरीचौकीभन्दा १५ मिनट पर थियो । चौकी बस्ती नजिकै भएकाले सजिलै आक्रमण गर्न सक्ने अवस्था थिएन । तारबारसहितको घेराको त्यो चौकी कसरी हान्ने भनेर बनाइएको नक्सा कमान्डरले हामीलाई प्रशिक्षणकै क्रममा देखाएका थिए । कसले कता हान्ने । को कता बस्ने । घाइतेलाई कसरी उद्दार गर्ने निर्देशन दिइएको थियो ।

बन्दुक, बारुद, गि्रनेड, लाठी र भाला बोकेको एउटा समूह अघिअघि थियो । लडाईंमा घाइते हुनेको उद्दारका लागि डोकोसहितको टोली पछिपछि थियो । केही गुनगुन आवाज भए पनि सबै शान्त थिए । सबैको अनुहारमा भय र त्रासको मिश्रण थियो ।

मध्यरातमा हान्ने योजना थियो । अन्तिम सेल्टरमा ड्युटी राखियो । हातको इशारा र सासले कुरा गरिन्थ्यो ।

कमान्डरको संकेतपछि रुट गाइडको साथमा चाल मारेर विस्तारै हामी चौकीतिर अघि बढ्यौँ । करिब रातको १२ बजेको हुँदो हो । निस्पट्ट अन्धकार थियो । हामीले बत्ति बाल्न सक्ने अवस्था थिएन । झ्याउँकिरी कराइरहेका थिए । पिलपिल लाइट बलेको देखिन्थ्यो । हामी चाल मारेर हिँडिरहेका थियौँ ।

हामी चौकीको नजिकै पुगिसकेका थियौँ । तीनतिरबाट हाम्रो समूहले चौकी घेरा हालेको थियो । फस्ट एसल्ट कमान्डरले फायर खोल्दै हाते माइकबाट भने, ‘पुलिस दाजुभाइहरु आत्मसमर्पण गर, आत्मसमर्पण गर ।

तर, उताबाट पनि गोलीको वषर्ा भयो । हामीले पनि गोली बर्सायौँ । चौकीमा गि्रनेड फाल्न थालेपछि चौकी भित्रबाट कोकोहोलो आवाज आयो । बिहान उज्यालो हुने बेलासम्म हामी त्यहीं बन्दुक पड्काइरहेका थियौँ । छेवैको बस्ती केही नभएजस्तो सुनसान थियो । कोही बाहिर निस्केको थिएन ।

चौकीमा धूवाँ आइरहेको थियो । चौरभरि लास थिए । घाइते थिए । थाकेका लडाकु र पुलिस थिए । हामी विजयोन्मादमा थियौं । उनीहरु हारेका थिए ।’

‘त्यति बेला,’ ज्यानदार ठिटोले ओठ चलायो, ‘रातभर गोली पड्कायौं । गि्रनेड बजार्‍यौं । पुलिस चौकीमा आगो सल्कायौं । मान्छे चिच्याए । जमिनमा ढले । भुईंमा मूलको पानी भुल्केजस्तो विस्तारै रगत बग्यो । आहाल बन्यो र जमेर कट्कटियो । त्यो रगत कति हाम्रो साथीको थियो । कति हामीले दुष्मन मानेकाको थियो । ती हाम्रा साथी हुन् वा हामीले भनेको दुष्मनको, बगेको रगत सबैको रातो नै थियो ।

उसका कुरा सुनेपछि लाग्थ्यो, राजमार्गमा भारी ट्रक कुदेजस्तो बेतोडले कुद्ने मनको वेग धान्ने ब्रेक उससित अब छैन । त्यसलाई नियन्त्रणमा नलिने हो भने ऊ बालुवाको मुठ्ठीजस्तो फुस्किँदै सकिनेछ । साहसी हुन चाहेको तर कमजोर मान्छे बनेको पत्तो पाएपछि उसलाई पश्चाताप भएको छ ।

म चुपचाप उसको कुरा डायरीमा टिपिरहेको थिएँ ।

ऊ बोल्दै गयो, ‘म शान्ति चाहन्छु । सद्भावबाट प्रेम चाहन्छु । मैले गरेका सबै गल्तीको पश्चाताप गर्न चाहन्छु । झोलुंगे पुल छिनाउँदा, विस्फोट गरेर स्कुल भत्काउँदा वा पाता कसेर शिक्षकलाई बन्दुकको कुन्दाले हिर्काउँदा मैले कहिल्यै यस्तो सम्भिmन सकिनँ, किन होला सर ?’

मैले त्यसको कुनै उत्तर दिइनँ, मसित त्यसको उत्तर थिएन ।

‘एउटा विद्युतीय धरापमा घर फर्किंदै गरेका स्कुले केटाकेटी परे । एउटाको ज्यान गयो । पछि थाहा पायौं, उसकी आमा भक्कानिएर मुर्छा परिन् । राति हामी पुग्दा केही गाउँलेले उनलाई ढाडस दिइरहेका थिए । ऊ बर्बराइरहेकी थिई, उसले भन्यो, ‘हरेक रात कथा सुनाऊ आमा भन्थ्यो । अब मैले कसलाई कथा सुनाउनू ?’

उनका श्रीमान्लाई केही समयअघि सुरक्षाकर्मीले मारेका थिए ।

चन्दा नदिएपछि कारवाहीमा परेका शिक्षकलाई पाता कसेर निर्मम सेर्‍यौं । विद्यार्थीले कोकोहोलो गरे । मास्टरको धर्के सर्टको कलम अगाडि खल्तीमै थियो । यस्तोमा पनि मेरो मन अलिकति पनि दुखेन ।

कुराकानीमा उसले कडा रङ भएको चिया थप्यो । ‘सर, अहिले लाग्छ, जीवन उज्यालो रहेछ । र्झभmराउँदो उज्यालो । मैले मृत्युलाई नजिकबाट देखेको छु । मृत्युमा जीवनको यस्तो उज्यालो भेटिन्न । मैले मृत्युको बाटो रोजेको थिएँ ।

त्यसले मनमा भय पैदा गरिदियो र अहिले बेचैन भइरहेको छु,’ एउटा पूर्वछापामार पश्चातापमा दार्शनिकजस्तो भयो, ‘म उज्यालो हेर्न चाहन्छु । मनको भय बिर्सेर आफूलाई सुरक्षित अनुभव गर्न चाहन्छु । म मेरै पौरखमा बाँच्न चाहन्छु । एउटी श्रीमती, मेरी बूढी आमा र एउटा छोरालाई म अब मान्छे भएर देखाउन चाहन्छु । म डढाएको घर, भत्काएको मन्दिर, छिनाएको पुल बनाउन चाहन्छु । म पार्टीको छापामार वा कार्यकर्ता होइन, अब मान्छे बन्न चाहन्छु सर, मान्छे ।’

‘यत्रो वर्ष क्रान्तिमा लागेको मान्छे यति काँतर हुन्छ ? किन वितृष्णा ?’ मलाई लाग्यो ।

‘पहिले मलाई पनि यस्तै लाग्थ्यो । म अँध्यारो गुफामा थिएँ । संसार यति उज्यालो होला भनेर मैल सोचेकै थिइनँ । म स्कुल भत्काउनुपर्छ सोच्थेँ । किताब डढाउनुपर्छ सोच्थेँ । मसित घृणा भरिएको मन थियो । विपक्षमा बोल्ने सबै दुष्मन लाग्थे । संसारका सबै वैरी ठान्थेँ ।

मैमाथि कसैले आक्रमण गर्दै छ भन्ने त्रास मनमा गढिरहन्थ्यो,’ उसले भन्यो, ‘अहिले बल्ल थाहा पाउँदै छु मुठ्ठीभरलाई हामी भर्‍याङ भएछौं । स्कुल भत्काउँदा, किताब डढाउँदा मैले मेरा नेताका छोराछोरी कहाँ पढ्छन् सोचिनँ । यत्रो वर्ष मैले बेपत्ता साथीहरु कोही भेटिनँ ।

मरेका मरिगए, तिनका श्रीमती उदास आँखा लिएर झोक्राइरहेको देख्छु । तिनले केही सोधे मसित दिने उत्तर छैन । तिनका छोराछोरी, बाउआमा देख्छु । तिनको अघि उभिएर हिजोजस्तो भाषण गर्ने आँट अब मसित छैन । म तिनलाई हेरेर दुःखी मात्रै हुन्छु । म उनीहरुसित हारेको छु ।’ यसोभन्दा उसको अनुहार फुङ्ग उडेको देखियो ।

यति भनेर उसले कालो झोलाबाट रातो डायरी झिक्यो । खर्र पाना पल्टायो र अर्को पातलो प्लास्टिक झोलामा बेर्‍यो । त्यो त्यही डायरी थियो, जुन क्यान्टोनमेन्टको सांस्कृतिक कार्यक्रम सकिएको साँझ किताब लेख्दै छु भनेर उसले मलाई देखाएको थियो ।

‘क्रान्तिले मेरो मनमा यति चोट बनाइदियो कि थाम्नै नसक्ने गरी म थिलथिलो भएको छु,’ अलि जोसिएर सन्तुष्टि भावमा ऊ पोखियोे, ‘अब म किताब नलेख्ने निष्कर्षमा पुगेँ । यो रातो डायरीको पन्ना पल्टाउँछु, विगत पल्टिन्छ ।

म मझेरीमा अल्मलिएको कमिलाजस्तो एकोहोरो भइहाल्छु । यो डायरीले विगत सम्झाएर मलाई झस्काइरहन्छ । म हिजो मारेको शिक्षक सम्भिmन्छु । बालक सम्भिmन्छु । भत्काएको स्कुल सम्भिmन्छु । चिच्याएका केटाकेटी सम्भिmन्छु । लेख्नलाई कलमै चल्दैन ।’

त्यसपछिको आधा घण्टा उसको घर, परिवार, आर्थिक अवस्था र साथीहरुबारे कुरा भए । झन्डै तीन घण्टा मसित बसेर ऊ बाहिरिएको थियो । भन्थ्यो, ‘म मात्रै होइन सर, साथीहरु पनि धेरै प|mस्टेड छन् अहिले ।’

उसको यही भनाइसहित उसका बारे मैले लेखेको समाचार सम्पादकले प्राथमिकतासाथ पत्रिकाको पहिलो पानामा छापेका थिए, तस्बिरसहित ।

समाचार छापिएको भोलिपल्ट म ११ बजे अफिस पुगेँ ।

पार्किङमा मोटरसाइकल रोकेँ, अघिल्तिर मैलो न मैलो रिक्सा रोकिएको थियो । फोहोर उठाउने भाइ कागज-पत्रिकाबाहेकको कन्टेनरमा लानुपर्ने फोहोर त्यसमा कोच्दै थियो । रिक्सामा फोहोर खाँद्दै गर्दा कालो प्लास्टिक झोलाबाट एउटा सग्लो किताब मेरै अघिल्तिर भुईंमा पछारियो । मैले देखेँ, त्यो किताब त्यही रातो डायरी थियो । जसको पान्ना हिजो मानबहादुर क्षत्रीले खरर्र पल्टाउँदै भनेको थियो, ‘यसमा धेरै कुरा आउनेछ सर । हाम्रो क्रान्ति र समाजका नयाँ कुरा । सिद्धान्त, विचार सबै यही डायरीमा छ ।’

फोहोर उठाउने रिक्सावाला भाइले त्यो डायरी टिप्यो र अरु फोहोरसँगै रिक्सामा फेरि कोच्यो ।

आज अन्तर्राष्ट्रिय विमानस्थलको यो लबीमा मलाई देखेर उसले असजिलो महशुस गर्‍यो । दायाँबायाँ हेर्‍यो । ब्याग हल्का पिठ्युँपट्ट िसार्‍यो ।

दाहिने हात उठाएर सोधेँ, ‘ओ हो, तपाइर्ं पनि, कता ?’

हल्का मुस्काएर ऊ म बसेतिर बढ्यो । उल्टो हत्केलाले निधारको अबिर हल्का पुछ्दै बिस्तारै बोल्यो, ‘खेतबारी पुग्दो छैन । यता केही काम पाइन्न । राम्रो काम पाउन बेलामा पढिएन । बस्नै पो गाह्रो हुन लाग्यो त । मलेसियामा सेक्युरिटी गार्डको काम मिलेको छ । अब दुई वर्षलाई म त ढुक्कै मलेसिया हिँडेको सर ।’

ऊ त्यसपछि मौन । अरु केही कुराकानी भएन । मैले उसको डायरी रिक्सावाल भाइले कन्टेनर लाने फोहोरमै कोचेको कुरा सुनाइनँ ।

·
विमानस्थलको प्रस्थान द्वार अझै खुलेको थिएन । ऊ सेतो रङको छत्रे टोपी लगाएका साथीहरुकै लाममा मिसियोे । हुलमुलका कोही युवा साउदी र कतारको गफ गरिरहेका थिए । केही उदास थिए र चुपचाप । मैले सोधिनँ, त्यसमध्ये कति जना हिजोका क्रान्तिकारी कमरेड हुन् ? र, क-कसले रातो डायरी कसैले थाहा नपाउने गरी कन्टेनरमा फालेर आए ?

म फेरि हातको पुस्तकमै घोरिएँ । मसिना अक्षर पढ्दा आँखा पोलेजस्तो हुन्थ्यो ।

अक्षरबाट आँखा हटाएर बेलाबेला यताउता हेर्थें । आँखा तन्काउँथेँ झिमझिम पार्थें । यसो गर्दा ढोका नजिकै राखिएको पानीको जारमा दृष्टि ठोकिन्थ्यो । त्यस नजिकैको कुर्सीमा एकोहोरिएको उसलाई पटकैपिच्छे म उदास देख्थेँ । मैले हेरेतिरै उसले पनि हेरेकाले हाम्रा आँखा फेरि जुधेनन् ।

त्यसपछि पुस्तक झोलामा राखेर मैले ल्यापटप काखमा झिकेँ र इन्टरनेटमा फेसबुक ब्राउज गरेर नयाँ स्टाटस अपलोड गरेँ, ‘कसले भेट्यो होला क्रान्तिकारी कमरेडको त्यो रातो डायरी ?’

(सांग्रिला बुक्सले छापेको अनमोलमणिको दोस्रो कथा संग्रह ‘१९ नम्बर’बाट । संग्रहमा ९ वटा कथा छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment