Comments Add Comment

प्रदेशसभाका ७४ सिटमा डेढ सय प्रतिस्पर्धी (पूर्णविवरण)

मुख्यमन्त्री ताक्दै 'हेबिवेट' नेतासमेत प्रदेशको चुनावी मैदानमा

ताप्लेजुङमा मनोनयन दर्ता गर्दै कांग्रेस उम्मेदवार । तस्वीर: रविन भट्टराई/अनलाइनखबर

५ कात्तिक, काठमाडौं । एकातर्फ वामपन्थी गठबन्धन र अर्कातर्फ कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाएर मुख्य दलहरु प्रदेशसभाको चुनावी मैदानमा होमिएका छन् । पहिलो चरणका लागि आइतबार प्रदेशसभाका ७४ सिटमा उम्मेदवारी दर्ता भइरहेको छ ।

प्रदेशका ७४ सिटमध्ये माओवादीले ३३ सिट पाएको छ भने एमालेले ३९ सिट पाएको छ । दुईवटा प्रदेशसभा सिट राष्ट्रिय जनमोर्चाले पाएको छ । जनमोर्चाले पहिलो चरणमा बाग्लुङबाट दुईवटा प्रदेशसभाका सिटहरु पाएको छ ।

नेपाली कांग्रेसले पनि प्रदेशसभाका केही सिट गठबन्धनका अन्य दललाई बाँडेको छ । कांग्रेसले भोजपुर (क) मा संघीय समाजवादी फोरमलाई छाडेको छ । त्यसैगरी बैतडी (ख) र धादिङ २ (ख) मा कांग्रेसले राप्रपालाई सघाउने भएको छ । गोरखा २ (क) र रसुवा (ख) मा नयाँ शक्ति र कांग्रेसवीच तालमेल भएको छ । बाँकी ६९ सिटमा कांग्रेसले एक्लै उम्मेदवारी दिएको छ ।

मुख्यमन्त्री ताक्दै एमालेका ‘हेबिवेट’ चुनावी मैदानमा

भावी मुख्यमन्त्री बन्ने गरी प्रमुख दलका माथिल्लो तहका नेताहरु प्रदेशसभाको उम्मेदवार बन्नुपर्नेमा एमाले बाहेक अन्य दलबाट प्रदेशमा ‘लो प्रोफाइल’ का नेतालाई उम्मेदवार बनाइएको छ । सम्भवतः दोस्रो चरणमा ती प्रदेशबाट हेबिवेट नेता उम्मेवदार बन्नेछन् ।

एमालेले केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङसहित पोलिटव्यूरोका केही प्रभावशाली नेताहरुलाई प्रदेशसभामा उम्मेदवार बनाएको छ । पहिलो चरणमा चुनाव हुने जिल्लामा एमालेका दुई सचिव मैदानमा छन् ।

कांग्रेस र माओवादीका माथिल्लोस्तरका नेताहरु प्रदेशसभाको उम्मेदवार बनेका छैनन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवनवहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् ।

शाहीलाई ६ नम्बर प्रदेशको मुख्यमन्त्री उम्मेदवारका रुपमा कांग्रेसले अघि सारेको छ । माओवादीबाट पनि ऊर्जामन्त्रीबाट बिना बिभागीय बनेका महेन्द्रवहादुर शाही कालिकोट(ख) बाट प्रदेशसभा उम्मेदवार बनेका छन् ।

उनले आफू मुख्यमन्त्री बन्ने गरी नेतृत्वको आदेश अनुसार प्रदेशसभाको उम्मेदवार बनेको बताएका छन् ।

एमालेका तर्फबाट पहिलो चरणमा चुनाव लडेका दुई सचिवमध्ये योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बन्दैगर्दा अर्का सचिव पृथ्वीसुब्बा गुरुङ लम्जुङ (ख) बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीसँगै भावी मुख्यमन्त्रीमा सर्वसम्मत भएका किरण गुरुङका प्रतिस्पर्धी थपिएका छन् ।

तीनजना पोलिटब्यूरो सदस्यहरु प्रदेशसभाको उम्मेदवार बनेपछि एमालेमा ३ नम्बर प्रदेशको भावी मुख्यमन्त्री को भन्ने बहस शुरु भएको छ

एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री शेरधन राई भोजपुर (ख) बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । उनलाई १ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको छ ।

भोजपुरमा एमालेले अर्का युवा नेता अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्र राईलाई पनि प्रदेशसभामै उम्मेदवार बनाएको छ । उनलाई भोजपुर (क) बाट उम्मेदवार बनाइएको हो ।

प्रदेश नम्बर ३ मा चार पटकसम्म केन्द्रीय सांसद जितेका पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डे धादिङ १ (क) बाट प्रदेशसभा उम्मेदवार बनेका छन् । त्यस्तै दुईपटक संविधानसभा चुनाव हारेका अर्का पोलिटव्यूरो सदस्य अरुण नेपाल पनि सिन्धुपाल्चोक १ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् । अर्का पोलिटव्यूरो सदस्य तथा दुई पटक सांसद भइसकेका पशुपति चौलागाई दोलखा (ख) बाट प्रदेशसभा उम्मेदवार बनेका छन् ।

तीनजना पोलिटब्यूरो सदस्यहरु प्रदेशसभाको उम्मेदवार बनेपछि एमालेमा ३ नम्बर प्रदेशको भावी मुख्यमन्त्री को भन्ने बहस शुरु भएको छ । तीनैजनाले आफू मुख्यमन्त्री बन्ने गरी मात्र प्रदेशसभाको उम्मेदवार बनेको बताएपछि पार्टीभित्र बहस सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment