Comments Add Comment

महोत्तरीमा फैलिएको डेंगु नियन्त्रण बाहिर

संकटग्रस्त क्षेत्र घोषणा गरेर काम थाल्न सरोकारवालाको माग


६ कात्तिक, महोत्तरी । जिल्लाको बर्दिवासलगायत क्षेत्रमा फैलिएको डेंगु नियन्त्रणबाहिर गएको छ । भदौ अन्तिम साता देखिएको डेंगु कात्तिकको पहिलो हप्तासम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।

बर्दिवास नगरपालिकामा आइतबारसम्ममा मात्रै २ सय ६३ जना डेंगु देखापरेको छ । संक्रमितमध्ये ५ जना गम्भीर छन् । उनीहरुलाई थप उपचारका लागि टेकु रिफर गरिएको छ ।

बर्दिवासमा मात्रै २ सय ४५ जना डेंगुका बिरामी भेटिएको र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाको रहेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले जानकारी दिए । बर्दिवास नगरपालिकाको वडा नम्बर १, २, ३, ५, ६, ९, ११ र १४ मा सबैभन्दा बढी डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।

सरोकारवाला निकायले डेंगु नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैन । डेंगु नियन्त्रणको प्रयास प्रभावकारी नहुँदा यस क्षेत्रमा संक्रमण हुनेहरुको संख्या दिनानुदिन थपिँदै छ ।

असोजमा स्वास्थ्यकर्मीसहित ५ जनामा देखापरेको डेंगु अहिले २ सय ६३ जनामा फैलिएको छ । बर्दिबास अस्पताल, बर्दिवास जनसेवा हस्पिटल, शुभस्वस्तिक हस्पिटलमा दिनहुँ १० देखि १५ जना डेंगुका बिरामी आउने गरेका छन् ।

डेंगु रोगका बिरामी दिनहुँ ठूलो संख्यामा फेला पर्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । डेंगु नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रोय कार्यक्रम सञ्चालन गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

डेंगु बिरामी बढेसंगै यस क्षेत्रमा डेंग नियन्त्रण कार्यक्रमअन्तर्गत केही दिनअघि स्प्रे गर्न भन्दै क्षेत्रीय स्वास्थ्य कार्यालय हेटौंडाबाट खटिएको टोली बर्दिवास नगरपालिकाको वेवास्ताको करण त्यसै फर्किएको स्रोतले जनाएको छ । टोली स्प्रे गर्न भन्दै चार दिन बर्दिवास बसेको थियो ।

यसैबीच बर्दिवास नगरपालिकालाई सरोकारवालाहरुले डेंगु रोगको दृष्टिकोणले संकटगस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका सम्पूर्ण प्रयास गर्न नगरवासीले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment