Comments Add Comment

वामपन्थी गठबन्धनले यसरी टुंगो लगाउँदैछन्, बाँकी क्षेत्रको भागबण्डा

दोस्रो चरणमा माओवादीले ४० प्रतिशत सिट नपाउने

७ कात्तिक, काठमाडौं । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ केन्द्र र ७४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डा सहज रुपमा गरेका एमाले र माओवादी नेताहरु बाँकी क्षेत्रको भागबण्डा गर्न मंगलबार बिहानैदेखि छलफलमा जुटेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलले साँझसम्म क्षेत्र बाँडफाँट टुंगो लगाउने सचिव प्रदीप ज्ञवालीले बताए ।

कार्यदलमा एमालेबाट महासचिव पोखरेलसहित शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव सदस्य छन् । कार्यदलले मोटामोटी निर्वाचन क्षेत्र टुंगो लगाएपछि बुधवार बस्ने पार्टी एकता संयोजन समिति बैठकमा पेश गरिनेछ ।

पहिलो चरणमा एमाले र माओवादीबीच ६०/४० को मापदण्डअनुसार सिट बाँडफाँट भएको छैन । माओवादीको प्रभाव रहेका क्षेत्रहरु पहिलो चरणमा परेकाले उसले प्रतिनिधिसभामा ३७ मध्ये १६ सिट पाएको थियो भने प्रदेशमा माओवादीले ३३ सिट पाएको थियो ।

दोस्रो चरणमा माओवादीले ४० प्रतिशतभन्दा कम सिट पाउनेछ । स्रोतका अनुसार प्रदेश २ मा एमाले र माओवादीबीच बराबरी निर्वाचन क्षेत्रको बाँडफाँट हुँदैछ । अरु प्रदेशमा माओवादीले ३० प्रतिशत हाराहारीमा सिट पाउनेछ ।

प्रदेश १ मा माओवादीले अब प्रतिनिधिसभातर्फ झापामा पाँचमध्ये एक र मोरङमा दुई सिट पाउने सहमति भएको छ । यस्तै, उदयपुरमा एक सिट पाउनेछ । सुनसरीमा माओवादीले प्रदेशसभा मात्र पाउने सम्भावना छ ।

प्रदेश ३ मा माओवादीले सिन्धुलीमा दुईमध्ये एक, ललितपुरमा एक र काठमाडौंमा दुई सिट पाउनेछ । यस्तै, काभ्रेमा संघीय संसदको एक सिट र मकवानपुरमा प्रदेशसभा मात्र पाउने गरी छलफलअघि बढेको स्रोतले जनाएको छ ।

यस्तै, चितवनमा एक, नवलपरासीमा एक, कपिलवस्तु र रुपन्देहीमा १/१ सिट माओवादीले पाउँदैछ । अर्घाखाँची, दाङ, बाँके र बर्दियामा पनि माओवादीले १/१ सिट पाउँदैछ । प्युठानमा भने प्रतिनिधिसभा राष्ट्रिय जनमोर्चाले पाउँदैछ ।

प्रदेश ६ अब बाँकी रहेका जिल्लामध्ये दैलेख र सुर्खेतका चारै सिट एमालेले पाउने र सल्यानमा माओवादीले पाउनेगरी छलफल भइरहेको छ । यदि माओवादीले सुर्खेतमा एक सिट मागेमा सल्यान छाड्नेछ ।

प्रदेश ७ मा माओवादीले कैलालीमा दुई, कञ्चनपुरमा एक र डडेलधुरा र अछाममा १/१ सिट पाउनेगरी छलफल अघि बढेको छ । तर, माओवादीले कञ्चनपुरमा दुई सिट दाबी गरिरहेको स्रोतले जनाएको छ ।

एमालेले यसअघि पहिलो चरणमा बैतडी, बझाङ, बाजुरा र दार्चुला चारै जिल्लामा प्रतिनिधिसभाको सिट पाएको छ । एमालेले अब अछाममा एक, कञ्चनपुरमा दुई, कैलालीमा तीन र डोटीमा प्रतिनिधिसभा सदस्य लिन खोजेको छ ।

प्रदेशसभातर्फ पनि सोहीअनुसार छलफल भइरहेको महासचिव पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment