काठमाडौं । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ ।
बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् ।
संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ मिनेटमै निभाइएको थियो ।
१३ जना धुवाँको असरका कारण बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको सम्मेलन आयोजक समितिका अनुसार उनीहरूको स्वास्थ्य अवस्थामाथि निगरानी भइरहेको छ र आवश्यक चिकित्सकीय सहयोग प्रदान गरिएको छ ।
आगलागीका कारण सम्मेलन रोकिएको छ । वार्ताकारहरू जलवायु संकट सामना गर्न अन्तर्राष्ट्रिय प्रयास बलियो बनाउने समझदारी टुंग्याउने तयारी गरिरहेका बेला अवरोध आएको हो ।
आयोजकले भनेको छ, ‘सम्मेलनस्थलको ब्लु जोनमा आगलागी भएको थियो । दमकल र युएन सुरक्षाकर्मीहरू तत्कालै परिचालन भएर आगो करिब ६ मिनेटमै नियन्त्रणमा ल्याइयो । मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो ।’
आगलागीको कारण भने अझै खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय दमकल विभागलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार सम्भवत: कुनै विद्युतीय उपकरण (शायद माइक्रोवेभ) बाट आगो लागेको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया 4