Comments Add Comment

प्रत्यक्ष तर्फको मतपत्र एउटै छाप्ने तयारी


८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मतपत्र एउटै छाप्ने तयारी गरेको छ । मतपत्र छाप्ने काम आगामी १० गतेदेखि शुरु हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अनलाइनखबरसँग भने, ‘प्रत्यक्ष तर्फको एउटै मतपत्र बनाउने हाम्रो योजना हो । मतपत्र छाप्ने काम १० गतेबाट हुन्छ ।’

यसअघि प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अलग-अलग मतपत्र बनाउन माग गर्दै सर्वेन्द्रनाथ शुक्लले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा माग गरिएअनुसार सर्वोच्चले स्पष्ट फैसला त गरेन तर फैसलाको पूर्णपाठमा भने अलग-अलग हुनुपर्ने आसय छ ।

सर्वोच्चको फैसला लगत्तै के गर्न सकिन्छ भनेर राय सुझाव पेश गर्न निर्वाचन आयोगले कार्यदल नै गठन गरेको थियो । सहसचिव दिनेश घिमिरे नेतृत्वको कार्यदलले आफ्नो प्रतिवेदन आयोगमा बुझाइसकेको छ ।

आयोगका प्रवक्ता ढकालले कार्यदलको रिपोर्टको निष्कर्षमा के छ भनेर आफूलाई थाहा नभएको दावी गर्दै भने, ‘प्रमुख आयुक्त र आयुक्तहरुले छलफल गरेपछि आयोग एउटा निष्कर्षमा पुग्छ । अदालतले के गर्न सकिन्छ हेर भनेको छ त्यो पनि हेर्दैछौं । तर, हाम्रो योजना एउटै मतपत्र बनाउने हो ।’

अहिले समानुपातिक तर्फको मत पत्र एउटै छ र त्यो छापिइसकिएको छ । अब प्रत्यक्ष तर्फको मतपत्र छाप्ने तयारी भइरहेको छ । सर्वोच्चको आसय अलग-अलग मतपत्र हुनुपर्ने भए पनि त्यस्तो व्यवस्था गर्न भने अहिले व्यवहारिक रुपमा कठिन हुने आयुक्तहरु बताउँछन् । अलग-अलग मत पत्र छाप्दा मतदान केन्द्र, मत पेटिका, मसी, छापलगायतका निर्वाचन सामाग्रीका साथै सुरक्षाकर्मीको संख्या पनि थप चाहिने भएकाले अहिले सम्भव नहुने आयुक्तहरुको तर्क छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो चरणको चुनाव मंसिर १० गते र दोस्रो चरणको चुनाव मंसिर २१ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment