+
+

यी हुन्, पाँच वर्ष चीन हाँक्ने नेता

सामान्य मजदूरदेखि प्राज्ञिक व्यक्तित्वसम्मको पृष्ठभूमि

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ८ गते १२:४६

८ कात्तिक, काठमाडौं । उत्तरी छिमेकी चीनले आगामी पाँच वर्षका लागि देश हाँक्ने नेतृत्व छनोट गरेको छ । सात सदस्यीय पार्टी स्थायी समितिमा पूरानै नेताहरु आएका छन् ।

नयाँ अनुहारले प्रवेश पाएनन्, यसपटक पार्टीको उच्च तहमा । आगामी पाँच वर्षमा हालका नेताहरु अवकाशमा जाने सम्भावनाका बावजुद त्यसपछिका सम्भावित राष्ट्रपतिलाई अगाडि सारेको देखिएको छैन ।

६४ वर्षीय सी जिनपिङ १८औं पार्टी कंग्रेसबाट महासचिव र राष्ट्रपति निर्वाचित भएका थिए । सर्वोच्च नेताका रुपमा उनी कार्यकालको दोस्रो इनिङ सुरु गर्दैछन् ।

सर्वोच्च नेता देङ सियाओ पिङले पनि लिपिवद्ध नगरेको आफ्नो विचार पार्टी विधानमा उल्लेख गराएर उनी जनवादी गणतन्त्र चीनका संस्थापक माओत्से तुङकै समकक्षमा उभिएका छन् । ‘चिनियाँ प्रकृतिको समाजवादमा सी जिनपिङको विचारधारा’ विधानमा लेखाउँदै उनी उदीयमान महाशक्ति राष्ट्रको शक्तिशाली नेता बनेका छन् ।

उनको परिवार नै राजनीतिक पृष्ठभूमिको हो । उनका पिता सी चोङसुन ‘नवजात जनवादी गणतन्त्र चीन’का ख्यातिप्राप्त नेता मात्र थिएनन्, त्यसअघिको क्रान्तिमा सक्रिय सहभागीमध्ये एक पनि थिए ।

अर्थात्, उनी कम्युनिस्ट पार्टीको पहिलो पुस्ताका नेता थिए । राष्ट्रपति सीकी आमा क्वि सिन पनि कम्युनिस्ट पार्टीकै सदस्य थिइन् । राष्ट्रपति सीमाथि ‘राजकुमार’ पृष्ठभूमिको आरोप लाग्नुको कारण पनि त्यही हो ।

कम्युनिस्ट युथ लिगबाट राजनीतिक करिअर सुरु भएको हो, उनको ।

राष्ट्रपति सीभन्दा दुई वर्ष कान्छा ली खछ्याङले पार्टीको ‘सेकेन्ड इन कमान्ड’मा निरन्तरता पाएका हुन् । आगामी पाँच वर्षसम्म लीलाई नै चीनको प्रधानमन्त्रीको रुपमा पाएका छन्, आन्तरिक र बाह्य राजनीतिले ।

उनी अर्थशास्त्री हुन् र चिनियाँ आर्थिक नीतिमा उनको भूमिका नेतृत्वदायी छ । संयोगवस, प्रधानमन्त्री लीको राजनीतिक करिअर पनि कम्युनिस्ट युथ लिगबाटै सुरु भएको हो ।

उनको जन्मथलो आन्हुई प्रान्तको हेफेई नगर हो । उनका पिता स्थानीय सरकारी अधिकारी थिए । उनका पिता लीलाई स्थानीय पार्टी नेतृत्वमा अगाडि बढाउन चाहन्थे । तर, उनले बाबुको प्रस्ताव अस्वीकार गरे र बेइजिङ विश्वविद्यालयमा कानुनका बिद्यार्थी बने । त्यहींबाट उनले कानुनमा स्नातक (एलएलबी) गरे ।

पढाइकै क्रममा विश्वविद्यालयको स्टुडेन्ट काउन्सिलका अध्यक्ष बने । अर्थशास्त्रमा विद्यावारिधि गर्दै गर्दा उनले चीनकै उच्च पुरस्कार मानिने ‘सुन येफाङ’ प्राप्त गरे ।

तेस्रो वरियताका ली चान्सु उमेरमा प्रधानमन्त्री लीभन्दा एक वर्ष कान्छा छन् । हेबेई प्रान्त जन्मथलो भएका उनको राजनीतिक करिअर कम्युनिस्ट पार्टी सदस्यबाट सुरु भएको हो, सन् १९७५ मा । उनी पनि एक समयमा हेबेई प्रान्तको कम्युनिस्ट युथ लिगका प्रमुख बनेका थिए ।

चीन र रुसबीचको सम्बन्ध सहजीकरणमा मुख्य भूमिका निर्वाह गरेको कारणले उनी चीनमा लोकपि्रय छन् । ‘पोस्ट-माओ’ युगको विदेश मामिला सञ्चालनमा उनको योगदान महत्वपूर्ण मानिन्छ । राष्ट्रपति सीको आन्तरिक वृत्तमा उनी अति प्रभावशाली सदस्य मानिन्छन् ।

यस्तै, हाल उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहेका वाङ याङ श्रमिक परिवारका सन्तान हुन् । एक सामान्य शहरी कामकाजी परिवारमा सन् १९५५ मा आन्हुई प्रान्तको सुचोउमा जन्मेका हुन् उनी । वाङ आफैं चार वर्षसम्म एक खाद्य कारखानामा कामदार थिए ।

२० वर्षको उमेरमा उनी कम्युनिस्ट पार्टीका सदस्य बनेका थिए । र, राजनीतिक अर्थशास्त्र अध्ययन गरेका छन् । उनको लामो समय आफ्नै प्रान्तमा पार्टी नेताका रुपमा बित्यो, जहाँ उनी मेयर पनि बने ।

उनी तिनै उच्च नेता हुन्, जसले गत साउनमा अन्तिममा नेपाल भ्रमणमा आएर नेपाल चीनको उच्च प्राथमिकतामा रहेको सन्देश दिएका थिए ।

अर्का नेता वाङ हुनिङ चीनको व्यापारिक केन्द्र सांघाईमा जन्मेका हुन् । हुनिङको शाब्दिक अर्थ ‘शान्त सांघाई’ हुन्छ । नेता वाङको जन्मथलोप्रतिको आशक्ति उनको नामबाटै स्पष्ट हुन्छ ।

उनको अर्को पहिचान पनि छ, फुदान विश्वविद्यालयमा सबैभन्दा कान्छा प्राध्यापकको । तत्कालीन राष्ट्रपति जियाङ जेमिनको ‘सिग्नेचर’ मुद्दा ‘थ्री रिपि्रजेन्ट्स’को मस्यौदा वाङले नै लेखेका थिए । त्यसपछिका राष्ट्रपति हु जिनताओका पनि उनी विश्वासपात्र रहे । र, हुको सिग्नेचर मुद्दा ‘विकासको वैज्ञानिक दृष्टिकोण’का पनि उनी नै मस्यौदाकार थिए । र, हालका राष्ट्रपति सीका पनि निकटस्थ छन् ।

विद्वान छविका नेता वाङका राजनीतिक दृष्टिकोणयुक्त धेरै पुस्तक प्रकाशित छन् । तीमध्येका हुन्, ‘लजिक अफ पोलिटिक्स- दी पि्रन्सिपल अफ माक्सिर्जम पोलिटिक्स’, ‘अमेरिका अगन्स्ट अमेरिका’, ‘जनरल इन्ट्रोडक्सन टु न्यु पोलिटिक्स’, ‘एनालाइसिस अफ मोर्डन वेस्टर्न पोलिटिक्स’, ‘एनालाइसिस अफ कम्पेरेटिभ पोलिटिक्स’ ।

अर्का स्थायी समिति सदस्य चाओ लिजी क्विन्गाई प्रान्तमा सन् १९५७ मा जन्मेका हुन् । सन् १९७५ मा कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए, उनले । बेइजिङ विश्वविद्यालयमा दर्शनशास्त्र पढेका हुन्, चाओले । एक समयमा उनी पनि कम्युनिस्ट युथ लिगका प्रशिक्षक थिए । प्रान्तीय वाणिज्य विभागका प्रमुख पनि बनेका थिए ।

नेता चाओलाई अनुशासन अनुगमन केन्द्रीय आयोगका प्रमुख बनाइएको छ ।

अर्का नेता हान चेङ सांघाईका पूर्वमेयर हुन् । र, सांघाईका पार्टी सचिव पनि बनेका थिए । उनलाई कम्युनिस्ट पार्टीमा सांघाई गुटका एक सक्रिय सदस्य मानिन्छ । सन् १९७९ मा कम्युनिस्ट पार्टीका सदस्य बनेका थिए, उनी । सन् १९९० मा उनी सांघाईमा कम्युनिस्ट युथ लिगमा प्रवेश गरे । र, १९९१ मा लिगको सांघाई प्रमुख बने ।

इस्ट चाइना नर्मल युनिभर्सिटीबाट स्नातकोत्तर गरेका उनलाई वरिष्ठ अर्थशास्त्री पनि मानिन्छ, चीनमा ।

सांघाईका बासिन्दामाझ उनको छवि सकारात्मक छ । खुलापन र पारदर्शिताको मुद्दामा उनको प्रशंसा हुने गरेको छ ।

पार्टीको २५ सदस्यीय पोलिटब्युरोमा दिङ सुसियाङ, सी जिनपिङ, वाङ चेन, वाङ हुनिङ, लिउ हे, सु क्विलियाङ, सुन चुन्लान, ली सी, ली क्वियाङ, ली खछ्याङ, ली हङचङ, याङ जिइची, याङ सियाओदु, वाङ याङ, चाङ युसिआ, चेन सी, चुन क्वान्गुओ, चेन मिनर, चाओ लिजी, हु चुन्हुआ, ली चाङसु, गुओ सेङ्कुन, हुआङ कुन्मिङ, हान चेङ र काई क्वि निर्वाचित भएका छन् ।

उनीहरुमध्ये सुन चुन्लान मात्र महिला हुन् ।

यो पनि पढ्नुस्

चीनको नयाँ नेतृत्व सार्वजनिक, कोको छन् सीका सारथि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?