Comments Add Comment

डन गणेश लामा कांग्रेसमा टिकटको दाबेदार

८ कात्तिक, काभ्रे । छिमेकी जिल्ला रामेछाप र सिन्धुपाल्चोकमा उम्मेदवारी दर्ता भएर चुनावी अभियान शुरु भइसक्दा काभ्रेपलान्चोकमा भने कसले टिकट पाउने भन्ने चासो बढिरहेको छ ।

वाम कांग्रेस गठबन्धनबाट केही नेताको उम्मेदवारी निश्चित देखिए पनि धेरैजसो दौडधूपमै छन् ।

काभ्रे जिल्लामा २ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुनेछ । १३ वटा स्थानिय तह रहेको काभ्रेमा पाँच नगरपालिकिा सहित ७ स्थानीय तहमा एमालेले जितेको छ भने कांग्रेसले ४ र माओवादी केन्द्रले २ स्थानीय तह जितेका छन् ।

वाम गठबन्धमा गोकुल मात्रै सर्वसम्मत

वाम गठबन्धनबाट उम्मेदवार हुनेमा सर्वसम्मत एमालेका गोकुल बास्कोटा मात्रै रहेका छन् । वाम गठबन्धन भन्दा पहिले प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पार्टीको जिल्ला कमिटी र क्षेत्रिय कमिटीले बास्कोटाको नाम सर्वसम्मत सिफारिस गरिसकेको थियो ।

वाम गठबन्धनको भागबन्डामा पनि यहि क्षेत्र एमालेको भागमा पर्ने निश्चित भइसकेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ माओवादी केन्द्रको भागमा पर्ने सम्भावना छ ।

माओवादीबाट पूर्व राज्यमन्त्री सुर्यमान दोङ, चौरीदेउराली गाउँपालिकका प्रमुख दिनानाथ गौतम, पूर्वराजदूत कमानसिंह तामाङ, गंगाबहादुर तामाङ र रुकु चौलागाई प्रतिस्पर्धामा छन् ।

प्रदेशसभामा भने तीन सिट एमाले र एक सिट माओवादीले लिने समझदारी बनेको स्रोतको दाबी छ ।

प्रदेशका लागि एमालेले क्षेत्र नम्बर १ को क मा चन्द्र लामा, रामकृष्ण हुमागाइ, शेखर लामा लगायतको नाम प्रदेश कमिटीमा जिल्ला कमिटीले सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का मुख्य आकांक्षी रहेका रामहरी सुवेदी प्रदेशसभा क्षेत्र नं. १ को ख तिर लागेका छन् । सुवेदी २०७० सालको निर्वाचनमा यहि क्षेत्रबाट विजयी भएका थिए ।

क्षेत्र नम्बर २ को क मा कञ्चन अधिकारी, विदुर सापकोटा, टिकाबल्लभ सापकोटा लगायत सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ को ख मा बसुन्धरा हुमागाई, हरिशरण दाहाल, हरिदेव गिरी र कुमार थापाको नाम सिफारिस भएको छ ।

गणेश लामा प्रदेशसभामा

फोरम लोकतान्त्रिकको एकतामा आएपछि कांग्रेस काभ्रेको नेताहरुको सूचीमा गणेश लामा पनि थपिएका छन् । सम्पत्ति शुद्धीकरणको मुद्दा झेलिरहेका गुण्डा नाइके लामा टिकटका दाबेदार हुन् ।

उनले प्रतिनिधिसभा क्षेत्र नं. १ कै टिकट दाबी गरेका छन् । तर, प्रदेशसभामा जाने सम्भावना छ । प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा तीर्थ लामालाई टिकट दिने तयारी छ । डन पृष्ठभूमिबाटै ठेक्कापट्टामा लागेका लामा २०७० को संविधानसभा निर्वाचनमा काभ्रे १ बाटै जितेका थिए ।

प्रतिनिधिसभा क्षेत्र नं.२ मा कांग्रेसबाट जिल्ला सभापति मधुप्रसाद आचार्य उम्मेदवार हुनेछन् । जिल्लाबाट आचार्यसँगै कन्चनचन्द्र वादेको नाम सिफारिस भएको थियो ।

तर, उनीहरुबीच बादे प्रदेशसभामा र आचार्य प्रतिनिधिसभाको उम्मेदवार बन्ने सहमति जुटेको छ ।

काभ्रे कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र नं.१ को क मा सीबी लामा, दिनेश लामा, शंखबुद्ध लामा र दिनेश भुर्तेल लगायतको नाममा सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभा क्षेत्र नं. १ ख मा तिर्थ पसखल, इन्द्रमणी अधिकारी, इश्वरी ओझा लगायतको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment