८ कात्तिक, गोरखा । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सबैको ध्यान अहिले गोरखामा छ । डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको प्रतिस्पर्धा बहुप्रतिक्षित छ भने क्षेत्र नम्बर १ मा पनि हरि अधिकारी र चीनकाजी श्रेष्ठबीचको चुनावी भिडन्त दर्शनीय हुने नै छ ।
प्रतिनिधिसभामा ‘ठूला’ उम्मेदवारहरुबीचको प्रतिस्पर्धा रोचक बनिरहँदा गोरखाका चार प्रदेशमा दुई गठबन्धनको उम्मेदवारको प्रतिस्पर्धा पनि कम्ता पेचिलो छैन । कांग्रेस र नयाँशक्ति सम्मिलत लोकतान्त्रिक गठबन्धनमा कांग्रेसले क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ तथा २ को ‘ख’ मा उम्मेदवारी दिएको छ भने २ को ‘क’ मा नयाँ शक्तिका उम्मेदवार छन् ।
त्यस्तै माओवादी केन्द्र र एमाले सम्मिलित वाम गठबन्धनबाट माओवादीले क्षेत्र नम्बर १ को ‘क’ तथा क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’ मा उम्मेदवारी दिएको छ । एमालेले क्षेत्र नम्बर १ को ‘ख’ मा उम्मेदवारी दिएको छ ।
वाम र लोकतान्त्रिक गठबन्धनबाट गोरखाका चार प्रदेश क्षेत्रका ८ जना उम्मेदवारलाई यसरी चिन्नुहोस्
धिरन थापा, नेपाली कांग्रेस
क्षेत्र नम्बर १, प्रदेश ‘क’
नेपाली कांग्रेसका महासमिति सदस्य धिरन थापा विद्यार्थी राजनीतिबाट आएका हुन् । ४९ वर्षीय थापा ०६७ सालयता साविकको गोरखा निर्वाचन क्षेत्र नम्बर १ को सभापति छन् ।
गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरका स्थायी बासिन्दा थापा ०४३ सालदेखि राजनीतिमा लागेका थिए । गोरखा क्याम्पसमा पढ्दादेखि कांग्रेसको राजनीति थालेका थापा ०५७ देखि ०६६ सालसम्म तरुण दल जिल्ला अध्यक्षको भूमिकामा थिए ।
लेखबहादुर थापा, माओवादी केन्द्र
क्षेत्र नम्बर १, प्रदेश ‘क’
लेखबहादुर थापा नेकपा माओवादी केन्द्रका गोरखा जिल्ला अध्यक्ष हुन् । जिल्ला अध्यक्ष पदमा उनी ०६० सालदेखि नै छन् । माओवादीका पोलिटब्यूरो सदस्य थापा बिद्यार्थी तथा जनजाति आन्दोलनबाट उदाएका नेता हुन् ।
जिल्लाका ‘हेवी वेट’ नेता मानिने ४२ वर्षीय थापा ०५२ सालमा बिद्यार्थी राजनीति सुरु गरेका थिए । तत्कालिन नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको केन्द्री सदस्यता लिएर ०५३ सालदेखि पूर्णकालीन सदस्य रहे ।
जनयुद्धकालमा ०५४ देखि ०५७ सम्म चार वर्ष जेल जीवन बिताएका उनी माओवादी सेनाको बटालियन कमिसारसम्म बने ।
राजेन्द्र बजगाईं, कांग्रेस
क्षेत्र नम्बर १, प्रदेश ‘ख’
नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईं पनि बिद्यार्थी राजनीतिबाटै आएका नेता हुन् । भीमसेन गाउँपालिकाका स्थानीय बासिन्दा ४५ वर्षीय बजगाईं ८ कक्षा पढ्दाताका नै नेपाल बिद्यार्थी संघको सदस्यता लिएर राजनीति सुरु गरेका थिए ।
त्यसो त बजगाईंलाई राजनीतिज्ञभन्दा बढी ब्यापारी हुन् । काठमाडौंको सांगि्रला क्यासिनोका सञ्चालक बजगाईं पर्यटन व्यवसायी हुन् ।
उनी ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल टानका पूर्वमहासचिव हुन् । ठमेलमा उनले गोरखा इन्काउन्टर नामको ट्रेकिङ अफिस छ ।
माओवादीे आफ्नो लाल किल्ला मान्ने गोरखामा माओवादीलाई चुनौति दिने उम्मेदवारको रुपमा राजेन्द्रलाई लिइएको छ ।
रामशरण बस्नेत, नेकपा एमाले
क्षेत्र नम्बर १, प्रदेश ‘ख’
गोरखाली राजनीतिमा रामशरण बस्नेत अभागी नेताका रुपमा चिनिन्छन् । संगठन कमजोर रहेको गोरखामा एमालेबाट राजनीति गरेर बस्नेत २ वटा चुनावमा पराजित भएका थिए ।
०५६ सालको आम निर्वाचन र ०७० सालको संविधानसभा निर्वाचनमा उनी साविकको क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।
गोरखा नगरपालिका ३ घलाङका ५६ वर्षीय बस्नेत पनि बिद्यार्थी राजनीतिबाटै उदाएका हुन् ।
नेकपा एमालेको बैकल्पिक केन्द्रीय सदस्य रहेका बस्नेत ०३९ सालमा नेपाल राष्ट्रिय स्वतन्त्र होटल मजदूर युनियनको अध्यक्ष बनेपछि भूमिगत बनेका उनी ०४२ सालमा पिपल्स कलेजको अनेरास्ववियू सहसचिवमा चुनिए ।
०४६ सालको आन्दोलनमा सक्रिय भूमिका खेलेका बस्नेत घाइते समेत भएका थिए । त्यसयता गोरखाको साविकको नारेश्वर गाविसको अध्यक्ष हुँदै ०५२ सालमा नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य भए र निर्वाचन क्षेत्र नम्वर १ को संयोजक पनि बने ।
जिल्ला कमिटीको उपसचिव, सल्लाहरकार समितिको अध्यक्ष हुँदै दुई पटक जिल्ला कमिटी अध्यक्ष भए ।
कमला नहर्की, माओवादी केन्द्र
क्षेत्र नम्वर २, प्रदेश ‘क’
२०५७ सालमा गोरखा जिल्ला कारगारबाट भागेर चर्चामा आएका १२ माओवादी लडाकूमध्येकी एक हुन् कमला नहर्की । गोरखा नगरपालिका वडा नम्बर १४ देउरालीकी नहर्की ८ कक्षा पढ्दादेखि नै अखिल क्रान्तिकारीबाट बिद्यार्थी राजनीति सुरु गरिन् ।
१६ वर्षको उमेरमै २०५४ सालमा माओवादीको महिला संगठनमा आबद्ध भएकी उनी २०५५ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बनिन् ।
पार्टीको एरिया सदस्य हुँदै, जिल्ला सदस्य, उपब्युरो सदस्य र व्युरो सदस्य भइन् । अहिले उनी पार्टीको पोलिटव्यूरो सदस्य छिन् ।
नहर्कीले जनमुक्ति सेनामा इञ्चार्ज हुँदै बटालियन कमिसार र बिग्रेड कमाण्डरको रुपमा पनि काम गरिन् ।
हरिशरण आचार्य, नयाँ शक्ति
क्षेत्र नम्बर २, प्रदेश ‘क’
०७२ सालमा डाक्टर बाबुराम भट्टराईसँगै एमाओवादी छाडेर नयाँ शक्तिमा लागेका हरिशरण आचार्य बिद्यार्थी नेता हुन् । ११ वर्षको उमेरमै ०४६ सालदेखि कम्युनिष्ट राजनीति सुरु गरेका आचार्य ०५४ सालमा माओवादीको पूर्णकालीन सदस्य भए ।
०५४ साल पक्राउ परेर सात दिन प्रहरी हिरासतमा रहेका उनी पुन ०५५ सालमा गिरप्तार परेर चार महिना जेलमा बसे । ०६१ सालमा कास्की जिल्लामा नेपाली सेनाले गिरप्तार गरेर आचार्यलाइ १२ दिनसम्म वेपत्ता बनायो ।
अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य हुँदै गण्डक क्षेत्रीय संयोजक भएका उनी काठमाडौंलाई कार्यक्षेत्र बनाएर दश बर्ष तमुवान-काठमाडौं सम्पर्क मन्चको अध्यक्ष भएर काम गरे । बाबुरामले नयाँ शक्ति पार्टी बनाएपछि उनी गोरखा क्षेत्र नम्बर २ को इञ्चार्जका रुपमा कार्यरत छन् ।
अमर तमु, माओवादी केन्द्र
क्षेत्र नम्बर २, प्रदेश ‘ख’
०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अमर तमु गोरखाको जनजाति राजनीतिमा सादगी नेताका रुपमा चिनिन्छन् ।
शहिद लखन गाउँपालिका-९ नाम्जुङमा जन्मिएका तमुले नौ कक्षा पढ्दै गर्दा मोटो मसालसम्वद्ध बिद्यार्थी संगठन अखिलको स्कुल इकाइ सचिव भएर राजनीतिक यात्रा शुरु गरेका थिए । ०४७ सालमा युवालीग गाउँ कमिटी सचिव हुदै उनी होटल मजदुर संगठनको जिल्ला उपाध्यक्षसमेत भए ।
०५१ सालमा काठमाडौ-गोरखा सम्पर्क समितिको जिल्ला सदस्य बनेका तमु पार्टीको संगठित सदस्य हुँदै ०५३ सालमा पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा लागे ।
त्यसयता पार्टीको जिल्ला सदस्य हुँदै जनसरकार प्रमुख, क्षेत्रीय व्युरो सदस्य र तमु राष्ट्रिय मुक्ति मोर्चाको केन्ऽीय अध्यक्षसमेत भए । ०७० सालमा जिल्ला इञ्चार्ज बनेका तमु अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन् ।
प्रकाशचन्द्र दवाडी, कांग्रेस
क्षेत्र नम्बर २, प्रदेश ‘ख’
नेपाली कांग्रेसका महासमिति सदस्य प्रकाशचन्द्र दवाडी पनि विद्यार्थी जीवनदेखि नै राजनीतिमा प्रवेश गरेका हुन् ।
अजिरकोट गाउँपालिका ४ सिम्जुङका स्थायी बासिन्दा ४२ वर्षीय दवाडीले ७ कक्षा पढ्दादेखि नै नेपाल बिद्यार्थी संघको सदस्यता लिएका थिए । त्यसयता जिल्लामा रहेर उनी कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
प्रतिक्रिया 4