Comments Add Comment

प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?

८ कात्तिक, सप्तरी । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव निर्वाचन आचार संहिता पालना गर्न दलहरुलाई आग्रह गरेका छन् ।

गृहजिल्ला सप्तरी आएका यादवले जिल्लाको सुरक्षा अवस्था र चुनावको तयारीबारे लिए । लगतै राजनीतिक दलका प्रतिनिधी, निर्वाचन अधिकृत, सुरक्षा अधिकारीसँग भएको छलफलमा यादवले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।

‘सबैले आचारसंहिता पालना गर्नेछन् भन्ने आयोगको विश्वास छ’ उनले भने, ‘आचारसंहिता उल्लंघन गरे जिल्ला तहलाई केही भन्दैनौं । सिधै केन्दि्रय अध्यक्षसँग स्पष्टिकरण माग्छौं । एक लाखसम्म जरिवाना समेत तिराउँछौं ।’

उनले चुनाव चिन्ह अंकित टि-शर्ट, टोपी, गम्छा प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् । चुनावको समयमा बितरण गरिने चुनावचिन्ह अंकित पहिरनबारे उनको टिप्पणी छ, ‘गरीबलाई कहिले एक गम्छा पनि दिन नचाहनेहरु चुनावको बेला टि-शर्ट नै बितरण गर्छन् । यो कदापि हुन दिन्नँ ।’
पत्रकार र पर्यवेक्षकले पनि दिउँसो आफ्नो ड्युटी गर्ने तर, राति दलको झण्डा बोकेको पाइएको बताउँदै उनले सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

मधेसी हुँ तर, राष्ट्रसेवक हुँ

प्रमुख आयुक्त डा. यादवले आफू मधेसी मूलको र जातको यादव भएपनि राष्ट्रसेवक भएको बताए ।

उनले भने, आचारसंहिता पालना गराउने सवालमा सबैलाई समान दृष्टिले हेर्छु । त्यत्तिबेला मधेसी र यादव हो भनेर कसैले केहि नभन्नुहोला र सबैले आचारसंहिता पालना गर्नुहोला ।’

आफ्नो मान्छे हो छुट देला भन्ने अपेक्षा कसैको छ भने त्यो दिवास्वपन मात्रै हुने उनले बताए ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति दिनेश यादवले मंसिर २१ गते हुने निर्वाचनलाई केहि दिनका लागि सार्न आग्रह गरे । गठबन्धन बनाउन समय नपुग्ने उनको तर्क छ ।

प्रतिउत्तरमा प्रमुख आयुक्त डा. यादवले कुनै पनि हालतमा निर्वाचन सार्न नमिल्ने बताए । उनले उम्मेदवारी दर्ता भइसकेको समयमा निर्वाचन सार्नु अपराध हुने बताए ।

एमाले नेता सुखराम यादवले स्वतन्त्र उम्मेदबारलाई कुकुर जस्तो चुनाव चिन्ह दिएर आयोगले अपमान गरिरहेको बताए ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त यादवले आगामी दिनमा यस्ता कुरामा ध्यान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment