+
+

धोबीखोलामा दुई अर्बः २० वर्षमा पनि नबन्ने भयो करिडोर

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७४ कात्तिक १० गते १३:१५

१० कात्तिक, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको निश्कर्ष छ- कोरिडोर सडक सञ्चालनमा ल्याउन सके काठमाडौंको सवारी जाम ४० प्रतिशतसम्म स्वतः हट्छ ।

तर, कोरिडोर सडकहरुको निर्माणको अवस्था र गति कस्तो छ भन्ने जान्न मध्य काठमाडौं छिचोलेर बनिरहेको धोबीखोला करिडोरलाई हेर्दा पुग्छ । ०६४ सालदेखि निर्माण थालिएको हो यो कोरिडोर । तर, काम गराईले भने अझै यसले कहिले पूर्णता पाउला भन्ने अनुमानसम्म गर्न नसकिने अवस्था छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारी अहिलेकै गतिमा काम गर्दा २ वर्ष यता काम सक्न मुस्किल पर्ने स्वीकार्छन् । उनको भनाइले धोबीखोला कोरिडोर निर्माण प्रक्रियामा गएको २० वर्षमा नसकिने स्पष्ट गर्छ ।

राम मन्दिरदेखि बागमती दोभानसम्म झण्डै १२ किलोमिटर खण्डमा दुईतर्फी २४ किलोमिटरको सडक बनाउने गरी काम भइरहेको छ । तर, गति भने कछुवाकै जस्तो छ ।

‘हामीले गर्ने काममा मात्रै धोबीखोला कोरिडोर निर्भर छैन । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको सुस्त काम गराइले हामीलाई धेरै समस्यामा पारेको छ,’ प्रमुख आयुक्त तिवारीले प्राधिकरणलाई लाग्ने दोष पन्छाए ।

१८ वर्षको कामः धुले सडक

काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रुपमा धोबीखोला करिडोरलाई ०५६ सालमै अघि सारेको थियो । महानगर अन्तर्गतको काठमाडौं भ्याली म्यापिङ प्राजेक्टबाट यो कोरिडोर सुधार आयोजना सुरु भएको थियो ।

तर, त्यसमार्फत राम्रो काम नभएपछि ०६४ पुसमा आयोजनाको जिम्मा सरकारले नै लियो । अहिले उपत्यका विकास प्राधिकरणलाई दिइएको छ । निर्माण प्रक्रिया थालेको १८ वर्ष नाघ्दा समेत पहिलो खण्डको काम पनि सकिएको छैन । अहिलेसम्म यो कोरिडोरको २० किलोमिटरभन्दा बढी ट्रयाक धुलाम्य नै छ ।

कोरिडोर दुई चरणमा निर्माण गरिँदैछ । पहिलो चरणअन्तर्गत बुद्धनगरस्थित बागमती दोभानदेखि चाबहिलको बैजनीपुलसम्म साढे ५ किलोमिटरको दुईतर्फी सडक छ ।

गत वर्षबाट कोरिडोरको यो भागमा कालोपत्रे थालिएको थियो । अहिलेसम्म मुस्किलले एक किलोमिटर पनि कालोपत्रे भएको छैन । कामको गति सुस्त हुँदा स्थानीय भने धुलो र हिलोको चपेटामा छन् । सवारी गुडाउन नमिल्ने अवस्थाका यो सडकमा बनेका खाल्टाले दुर्घटनाको जोखिम पनि उच्च बनाएको छ ।

‘धोबीखोलाको दुर्गन्धले त यसैपनि रोगी बनाएकै थियो । कोेरिडोर अलपत्र छाड्दा हामी झन् प्रताडित भयौं,’ रातोपुलका बासिन्दा प्रकाश तुलाधरले भने, ‘कि फट्टाफट काम गर्नू कि यो कहिल्यै बन्दैन भनेर बन्द नै गरिदिनू । ज्यादै सकस भो ।’

२ अर्ब सकियो

उपत्यका विकास प्राधिकरणले पर्याप्त बजेट नआएको कारण पनि सडक निर्माणमा समस्या भएको बताउने गरेको छ । तर, तथ्य र तथ्यांकले भने त्यसलाई पुष्टि गर्दैन । निर्माण सुरु भएको ९ वर्षमा धोबीखोला कोरिडोरमा सरकारले बजेटको ‘खोलो’ नै बगायो । यो वर्षसम्म धोबीखोेला कोरिडोरमै २ अर्बभन्दा बढी बजेट गइसकेको छ, जसमध्ये प्राधिकरण एक्लैले १ अर्ब ७१ करोड खर्चिएको छ ।

यो वर्ष प्राधिकरणलाई ४५ करोड रुपैयाँ बजेट आएको छ । यसले निलोपुलसम्म कालोपत्रे गर्ने योजना बनाइएको छ । त्यसका लागि ठेक्का पनि आह्वान भइसकेको प्रमुख आयुक्त तिवारीले जानकारी दिए । उनले यो वर्षको बजेटले त्यसभन्दा माथिको ट्रयाकमा कालोपत्रे गर्न नपुग्ने बताए ।

अपजस अर्कैलाई

कोरिडोरको अधिकांश खण्ड भर्खरै गाउँघरतिर डोजर लगाएर खोलिएका ट्रयाकजस्तो भएर बसेको छ ।

तर, काम नगरेको अपजस भने प्राधिकरण लिन चाहँदैन । ‘ढलसहितको सबै काम हामीलाई दिने हो भने एक वर्षभित्रै २४ किलोमिटरकै ट्रयाक कालोपत्रे गरिसक्छौं,’ आयुक्त तिवारीले भने, ‘ढलको काम समयमै नभएर हामी कालोपत्रे गर्न सकिरहेका छैनौं ।’

यो कोरिडोरमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ढल बिछ्याउने काम गरिरहेको छ । ढलको काम नसकिँदा सडकमा पिचको काम गर्न नसकिएको उपत्यका विकास प्राधिकरणको तर्क छ ।

‘गत वर्ष पनि योजनाअनुसार काम हुन सकेन,’ आयुक्त तिवारीले भने, ‘बाग्मती सभ्यताको आयोजनाले समयमै ढल बिछ्याइदिने हो भने समस्या नै हुने थिएन ।’

करिडोरमा ट्रयाक खोल्ने, फुटपाथ बनाउने, पर्खाल, रेलिङ लगाउने काम प्राधिकरणले गर्छ । यसको अधिकांश काम सकिएको तिवारी बताउँछन् ।


फलदायी योजना

यो कोरिडोर बनेर सञ्चालनमा आएपछि काठमाडौंको पूर्वी र मध्य सहरी क्षेत्रको उत्तर-दक्षिणी भागमा सवारी चाप करिव ४० प्रतिशत कम हुने विश्वास गरिएको छ ।

धोबीखोला करिडोर सडकखण्ड सहायक सडक बन्न सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी उपरीक्षक मधुसुदन सिलवालले बताए । रिंगरोडदेखि प्रशासनिक केन्द्र सिंहदरबार हुँदै प्रसूतिगृह पुग्न यो सडकले अहिले कायम दूरी घटाउनेछ । यसले समय र इन्धन बचतमा पनि सहयोग पुर्‍याउनेछ ।

साथै धोबीखोला करिडोर सम्पन्न भएपछि सडकखण्ड भित्रको ढल नदीमा मिसिने छैन । धोबीखोलालाई स्वच्छ बनाउन सडकमा रुख विरुवा पनि हुर्काइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?