+
+

४० करोडमा नयाँ उद्योग खोल्दै केडिया समूह

आगलागी भएको कारखानाको बीमा रकम १५ करोड प्राप्त

सुदिल पोखरेल सुदिल पोखरेल
२०७४ कात्तिक १० गते १५:००


१० कात्तिक, काठमाडौं । भक्तपुर २ सल्लाघारीस्थित यती कार्पेट इन्डष्ट्रिजमा आगो लागेको चार महिनापछि केडिया समूहले नयाँ उद्योग खोल्ने तयारी थालेको छ ।

सल्लाघारीको जग्गा साँघुरो हुने भएकाले उक्त समूहले अन्यत्रै ठाउँ खोजिरहेको छ ।

केडिया अर्गानाइजेसनका मार्केटिङ एन्ड कर्पाेरेट म्यानेजर राजकुमार साहका अनुसार नयाँ उद्योगको लागत करिब ४० करोड रुपैयाँ अनुमानित छ । र, त्यसमा अत्याधुनिक प्रविधि प्रयोग गर्ने लक्ष्य पनि उक्त समूहको छ ।

सल्लाघारीस्थित उद्योगमा गत ३ असारमा आगलागी भएको थियो । नजिकैको ट्रान्सर्फमर पड्किँदा खसेको आगोको झिल्को उद्योगले सञ्चित गरेको फर्निस आयलमा खसेको थियो । सोही कारण आगलागी भएको केडिया समूहले बताउँदै आएको छ ।

त्यहाँको १२ मध्ये ६ रोपनी समूहकै थियो भने ६ रोपनी भाडामा लिइएको थियो । १२ रोपनी अपर्याप्त रहेकाले २० रोपनी खोजिरहेको छ, उक्त समूहले ।

साहले भने, ‘आवश्यक जग्गा भेटिनासाथ निर्माण थाल्छौं ।’

साँघुरो ठाउँमा स्टोर, फर्निस आयल र उत्पादन स्थल नजिक-नजिक हुँदा ठूलो क्षती बेहोर्नुपरेकाले फराकिलो जग्गाको खोजी गरिएको साहको भनाइ छ ।

नेपालमा प्रतिष्ठा प्राप्त गरेकाले यती कार्पेटको उत्पादन पुनः सुरु गर्ने तयारी उक्त समूहले गरेको हो । पूरानै कामदारालाई लिएर नयाँ उद्योग सञ्चालन गर्ने योजनामा छ, उक्त समूह । उक्त उद्योगमा ३५ स्थायी र ३५ अस्थायी कामदार/कर्मचारी थिए ।

साहका अनुसार उपत्यकाबाहिर उद्योग सञ्चालनको योजना छैन । पूरानै कामदार/कर्मचारीका लागि त्यसो गर्दा अपायक पर्ने भएकाले उपत्यकाभित्रै जग्गा खोज्नुपरेको उनले बताए ।

नयाँ कारखानामा आसपासका बासिन्दालाई पनि रोजगारी दिने उक्त समूहको योजना छ ।

क्षमता विस्तारको तयारी


यती कार्पेटले तीन वर्ष अघिसम्म मासिक ५० देखि ६० हजार मिटर कार्पेट उत्पादन गथ्र्याे । नयाँ मेसिन थपेसँगै ९० हजार मिटरसम्म उत्पादन गर्दै आएको थियो । अब भने मासिक डेढ लाख मिटर दैनिक उत्पादन गर्ने लक्ष्य छ ।

ठूलो क्षेत्रफलमा उत्पादन स्थल, पेट्रोलियम पदार्थ र स्टोरको दूरी कम्तिमा ५० मिटर राख्ने केडिया अर्गानाइजेसनको तयारी छ ।

साहले भने, ‘अब भने एक स्थानमा आगो लाग्यो भने पनि अर्काेमा नसर्ने र छिट्टै नियन्त्रण गर्न सकिनेगरी संरचना बनाउनेछौं ।’

कम्तिमा १० चक्के गाडी जाने बाटो भएको स्थानमा नयाँ उद्योग खोल्ने योजना छ ।

सकिँदै स्टक

बजार हिस्सा ७० प्रतिशत ओगटेको यती कार्पेटको उत्पादन अहिले बजारमा सकिने चरणमा छ । डिलरहरुसँग भएको स्टक सकिन लागेकाले केडिया अर्गानाइजेसनलाई जतिसक्दो छिटो नयाँ उत्पादन थाल्नुपर्ने बाध्यता छ ।

बीमाको १५ करोड पेश्की

अर्गानाइजेसनका अनुसार आगलागीका कारण ९० करोडदेखि एक अर्ब रुपैयाँबराबरको क्षती भएको थियो ।

भर्खरै ल्याएकाले त्यतिबेला २० करोड रुपैयाँबराबरको नयाँ मेसिनको बीमा गरिएको थिएन । त्यसका लागि तयारी मात्र भइरहेको थियो ।

साहका अनुसार ४० करोड रुपैयाँको मात्रै बीमा गरिएको थियो । त्यसमध्ये बीमा कम्पनीबाट यसले १५ करोड रुपैयाँ पेश्कीका रुपमा प्राप्त भएको छ ।

उक्त उद्योगका लागि आवश्यक ऋण नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकबाट लिएको थियो । यस्तै, नेसनल इन्स्योरेन्समा बीमा गराएको थियो । उक्त कम्पनीबाट प्राप्त रकमलाई बैंकहरुको ऋण चुक्ता गर्न प्रयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?