Comments Add Comment

दरबारको अग्लो पर्खाल तोडेर यस्तो बन्यो ‘गणतन्त्र स्मारक’

१५ जेठदेखि सर्वसाधारणका लागि खुल्ने

१३ कात्तिक, काठमाडौं । गणतन्त्रप्राप्तिको आन्दोलनबाट बढारिएका पूर्वराजा ज्ञानेन्द्र शाह अझै पनि नारायणहिटी फर्किने इच्छा जनाइरहन्छन् । ‘जनताको नासो’का रुपमा उनले छाडेको नारायणहिटी दरबार राष्ट्रिय संग्रहालय बनिसकेको छ ।

र, त्यसकै समीपमा अब ‘गणतन्त्र स्मारक’ पनि खुल्दैछ ।

नारायणहिटी दरबारले करिब अढाइ सय वर्ष पूरानो शाह वंशीय राजतन्त्रको प्रतिनिधित्व गर्छ । अब दरबार परिसरमा निर्माण भएको छ, गणतन्त्र स्मारक, जुन ११ वर्षयता चलिरहेको जनताको शासनको प्रतीक हो ।

स्तम्भले राजतन्त्रको बहिर्गमन र गणतन्त्रको आगमनका कारण र औचित्य विश्लेषण गर्न भावी पुस्तालाई सहयोग गर्ने विश्वास छ ।

किनभने, गणतन्त्रका लागि बगेको रगत र पसिनाको स्मरण अब आलिशान दरबारको छायामा बनेको स्मारकमै बसेर सर्वसाधारणले गर्न सक्नेछन् ।

१५ जेठ ०७५ देखि उक्त स्मारक सर्वसाधारणका लागि खुला गरिनेछ । मुख्य भौतिक संरचनाहरुको निर्माण लगभग सकिएको छ ।

दरबार वरिपरि लगाइएको अग्लो पर्खाल तोडेर निर्माणाधीन छ, स्मारक ।

नागपोखरीतर्फको भागमा शान्त वातावरणमा आधुनिक पार्कसहित बनेको स्मारक आगामी गणतन्त्र दिवसदेखि खोल्ने गृहकार्य भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

उक्त स्मारक चैत ०६९ देखि निर्माण सुरु भएको थियो । भवन निर्माण विभागले २१ मंसिर ०७२ मा सक्नेगरी काम थालेको थियो । तोकिएभन्दा करिब तीन वर्ष ढिलो भए पनि स्मारक तयार हुने क्रममा छ ।

निर्माणको जिम्मा बिकोई–स्काई–बंगलामुखी जेभीले लिएको छ । यसका लागि सरकारको ४२ करोड रुपैयाँ खर्च हुँदैछ ।

सुरुमा नारायणहिटी दरबारको ८२ रोपनी स्मारकलाई उपलब्ध गराउने निर्णय भएको थियो । तर, सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली सेनाले ३५ रोपनी मात्रै हस्तान्तरण गर्‍यो ।

सोही क्षेत्रफलमा स्मारक निर्माण भएको छ । त्यसभित्र हिमाल, पहाड र तराई झल्किने गरी ठूलो नक्सा निर्माण गरिएको छ । गणतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदान सम्झना गराउने तस्बिर, वस्तु र कलाकृतिहरु राखिनेछन् ।

ग्यालरीमा कस्ता कलाकृति र सामग्री राख्ने भन्नेबारे हालसम्म निर्णय भएको छैन । तर, ग्यालरी निर्माण लगभग सकिएको भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर मचकाजी महर्जनले जानकारी दिए ।

‘अहिले रंगरोगन, बगैँचा सजावट, फिनिसिङलगायत काम भइरहेको छ,’ महर्जनले भने, ‘अब मुख्य रुपमा स्मारक क्षेत्रलाई पर्खालले घेर्ने काम बाँकी छ । त्यसका लागि टेन्डर भइसक्यो ।’

निर्माण सकिएपछि नारायणहिटी दरबार संग्रहालयले यसलाई सञ्चालन गर्नेछ । यो स्मारकसँगै आकर्षक बगैँचा पनि रहनेछ । शान्त वातावरण रुचाउनेहरुका लागि यो काठमाडौंको मध्यक्षेत्रमै नयाँ गन्तव्यका रुपमा विकास हुनेछ ।

स्मारकका चार वटा स्तम्भमा गणतन्त्र प्राप्तिको आन्दोलन र संघर्षहरुमा मृत्यु भएका, बेपत्ता पारिएका, अंगभंग भएकाहरुलाई स्मरण गराउने योजना छ ।

अपांगमैत्री स्मारक परिसरमा वाटर फाउन्टेन र विशेष बत्तीसहितको बगैँचा बन्नेछ । प्रवेश शुल्क कति लिने भन्ने तय भएको छैन ।

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शिलान्यास गरेको यो स्मारक गणतन्त्रका लाागि भएको संघर्षको एक इतिहास द्रष्टाको रुपमा रहने सरकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment