+
+
Shares

उम्मेदवार टुंगो लगाउन एमाले स्थायी समिति बैठक बस्दै

विवाद मिलाउँदै ओली–प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १४ गते १०:२७
फाइल तस्वीर

१४ कात्तिक, काठमाडौं । नेकपा एमालेले माओवादीसँग सहमति भइसकेका क्षेत्रका उम्मेदवारको नाम आज टुंग्याउने तयारी गरेको छ । त्यसका लागि एमालेले पार्टी उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा अहिले बिहान ११ बजे स्थायी समिति बैठक डाकेको छ ।

वाम गठबन्धन आवद्ध दल नेकपा एमाले र माओवादी केन्द्रबीच दैलेख, सुर्खेत, सल्यान, झापा र चितवनका केही क्षेत्रबाहेकमा उम्मेदवार उठाउनेबारे सहमति जुटिसकेको छ ।

यद्यपि, एमाले र माओवादी केन्द्रले आन्तरिक गृहकार्य बाँकी रहेकाले पार्टीको तर्फबाट उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् । सोमबार ७ नं. प्रदेशको उम्मेदवारको अन्तिम टुंगो लगाएको एमालेले आज बाँकी सबै क्षेत्रका उम्मेदवार टुंग्याउने तयारी गरेको छ ।

एमाले प्रचार विभाग सचिव विष्णु रिजालले ७ नं. प्रदेशको उम्मेदवार सोमबार टुंगिएको र अहिले बिहान ११ बजे बस्ने बैठकले बाँकी सबै क्षेत्रका उम्मेदवारको विषयमा निर्णय गर्ने जानकारी दिए । ‘७ नं. प्रदेशको उम्मेदवारी टुंगो लगाएको हाम्रो पार्टीले बाँकी क्षेत्रको उम्मेदवार आज स्थायी समिति बैठकबाट टुंग्याउँदै छ’, रिजालले अनलाइनखबरसँग भने ।

बाँकीमा सहमति जुटाउँदै दुई अध्यक्ष

यसैबीच, एमाले र माओवादी केन्द्रका बीच सहमति जुट्न नसकेका निर्वाचन क्षेत्रबारे अन्तिम टुंगो लगाउन दुई पार्टीका अध्यक्ष छलफलमा बस्दै छन् । एमाले प्रचार विभाग सचिव विष्णु रिजालका अनुसार, दुई अध्यक्ष बाँकी क्षेत्रमा सहमति जुटाउन बैठक बस्न लागे पनि समय भने तय भइसकेको छैन ।

एमाले र माओवादीबीच चितवन–२, सल्यान–२ र झापा–२ मा सहमति जुट्न सकेको छैन । त्यस्तै दैलेख र सुर्खेतमा उम्मेदवार उठाउनेबारे पनि सहमति जट्न बाँकी छ ।

दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनय कात्तिक १६ गते हुँदैछ । यसअघि कात्तिक ५ गते पहिलो चरणमा हुने निर्वाचनको उम्मेदवारी मनोनय दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?