Comments Add Comment

सेलरोटीलाई चुनाव लाग्यो ! रञ्जु दर्शना भन्छिन्- हामीलाई अल्मल्याउन एमाले प्रवेशको हल्ला

'चुनावमा उठ्न मन थियो, उमेरै पुगेन'

१९ कात्तिक, काठमाडौं । स्थानीय तहको चुनावकी एक ‘हाइलाइट’ थिइन् रञ्जु दर्शना । काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि मिडियादेखि चिया पसलसम्म उनको चर्चा थियो । तर, केन्द्रीय संसद र प्रदेशको चुनावमा उनी गुमनाम छिन् ।

रञ्जु यो चुनावमा उम्मेदवार नभएकाले उनको चर्चा कम भएको हो । यद्यपि उनी विवेकशील साझा पार्टीका उम्मेदवारहरुका लागि भोट माग्न दौडिरहेकी छिन् ।

काठमाडौंमा विवेकशीलले उम्मेदवारी दिएका क्षेत्रहरुमा हिँडिरहेकी रञ्जुलाई धेरै मतदाताले सोध्ने गर्छन्, ‘तपाईं चाहिँ यसपालि किन उठ्नुभएन ?’

‘मलाई मात्र होइन, हाम्रो सिंगो पार्टी पंक्तिलाई प्रत्येक दिन यो प्रश्न आएको आयै छ,’ रञ्जुले सुनाइन्, ‘यो मतदाताहरुको मप्रतिको माया र भरोसा हो ।’

रञ्जूले भनिन्, ‘म कुनै पार्टीविशेषप्रति नकारात्मक टिप्पणी गर्न चाहन्न, तर पुराना पार्टीहरुको खराब आचरणले गर्दा नै विवेकशील साझा पार्टी जन्मिनुपरेको हो

रञ्जु कम उमेरका कारण संसद बन्ने दौडबाट बाहिर भएकी हुन् । संसदको उम्मेदवार बन्न २५ वर्ष पुगेको हुनुपर्छ, उनी भर्खर २२ वर्षकी भइन् । उमेर नै नपुग्ने भएकाले विवेकशीलमा उनको उम्मेदवारीको चर्चा चलेन ।

‘मलाई यो चुनावमा पनि उठ्न मन थियो,’ उनले भनिन्, ‘तर, उमेर नपुगेपछि के लाग्यो र ?’

स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी रञ्जुले ठूला दलहरुलाई अनपेक्षित धक्का दिएकी थिइन् । २३ हजारभन्दा बढी मत ल्याएर उनी एमाले र कांग्रेसका उम्मेदवारपछि तेस्रो स्थानमा रहिन् ।

यसपालि विवेकशील र साझा पार्टीबीच एकता भएकाले काठमाडौंमा स्थानीय चुनावको भन्दा राम्रो रिजल्ट आउने रञ्जुको अपेक्षा छ । उनले आफूले चुनाव लड्दाको अनुभव अन्य उम्मेदवारहरुका लागि काम लागिरहेको बताइन् ।

‘तर यो चुनावमा तपाईंको पार्टीको चर्चा त रवीन्द्र मिश्रको उम्मेदवारीमा मात्रै सीमित छ नि ?’ रञ्जुलाई सोधियो ।

उनले मिश्रको ‘हाइट’ का कारण यो स्वाभाविक भएको बताइन् ।

‘उहाँको पहिल्यै एउटा हाइट थियो, त्यसैले चर्चा भयो । तर, अन्य उम्मेदवारहरु पनि कमजोर हुनुहुन्न,’ उनले भनिन् ।

एमाले प्रवेश निराधार

दुई-तीन दिनयता सामाजिक सञ्जालमा रञ्जु दर्शना एमाले प्रवेश गरेको हावा चल्यो । रञ्जुले सार्वजनिक रुपमा यसको खण्डन नै गर्नुपर्‍यो ।

हामीले सोध्यौं, ‘साँच्ची, एमाले पार्टी तपाईंलाई कस्तो लाग्छ ?’

उनले भनिन्, ‘म कुनै पार्टीविशेषप्रति नकारात्मक टिप्पणी गर्न चाहन्न, तर पुराना पार्टीहरुको खराब आचरणले गर्दा नै विवेकशील साझा पार्टी जन्मिनुपरेको हो । त्यसैले म यो पार्टी छाडेर पुराना कुनै पनि पार्टीमा जाने कुरा असम्भव छ ।’

रञ्जुले आफ्नो पार्टीलाई अल्मल्याउनका लागि एमाले प्रवेशको हल्ला चलाइएको हुन सक्ने अनुमान गरिन् ।

सेलरोटीलाई चुनाव लाग्यो

गत तिहारदेखि रञ्जुले घरमा आफैंले सेलरोटी बनाएर बेच्न सुरु गरेकी थिइन् । उनको यो व्यवसायलाई चुनावले प्रभावित बनाइदिएको छ ।
चुनावी अभियानमा हिँड्नु परेकाले सेलरोटीको व्यवसाय अलि सुस्त भएको उनले बताइन् ।

‘अहिले धेरै अर्डर लिएर बनाउन भ्याएकी छैन,’ उनले भनिन्, ‘चुनाव सकिएपछि फेरि यसलाई स्पिडमा लैजान्छु ।’
आफूले पकाएको सेलरोटीको पनि निकै तारिफ आएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment