+
+

बाबुराम भन्छन्-नारायणकाजीप्रति सहानुभूति छ

'उहाँलाई पार्टीले बलीको बोको बनायो'

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २० गते १९:१०

२० कात्तिक, गोरखा । नयाँशक्ति पार्टीका संयोजक तथा गोरखा-२ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्ना प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठप्रति सहानुभूति व्यक्त गरेका छन् ।

गोरखा नगरपालिका-१० छेपेटारमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै डा. भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता श्रेष्ठलाई भारी मत अन्तरले पराजित गर्ने जिकिर गरे । ‘उहाँ मेरो मित्र हुनुहुन्छ, पार्टीले मसँग चुनावमा भिडाएर उहाँलाई बलीको बोको बनाएको छ,’ भट्टराईले भने, ‘मसँग मित्रलाई सहानुभुति व्यक्त गर्नुबाहेकका शब्द छैनन् ।’

गृहजिल्लामा आफूले अगाडि बढाएको विकास र मतदातासँग नियमित सम्पर्क नै जित्ने बलियो आधार भएको उनको जिकिर थियो । ‘तपाईंजस्तो मित्र संसदमा सँगै हुने अपेक्षा थियो, जुन पूरा नहुने भयो,’ उनले भने, ‘गोरखा-२ मा राष्ट्रिय/अन्तर्राष्ट्रिय समुदायको ध्यान परेको छ, किनकि यहाँ मजस्तो सशस्त्र आन्दोलनबाट आएको र कांग्रेसजस्तो लोकतन्त्रका लागि लडेको शक्तिबीच चुनावी तालमेल छ ।’

डा. भट्टराईका लागि उम्मेदवारीबाट पछाडि हटेका कांग्रेस युवा नेता सुरेन्द्र पाण्डेले गोरखा-२ मा नयाँशक्तिसँग तालमेल गर्नु मुलुकका हितमा रहेका बताए । वाम गठबन्धनका कारण मुलुकमा अधिनायकवादको जोखिम बढेकाले लोकतान्त्रिक गठबन्धन अनिवार्य सर्त बनेको पाण्डेको भनाइ थियो । ‘सर्वसत्तावाद नस्वीकार्न, मुलुकको समृद्धि र विकासका लागि म उम्मेदवारीबाट पछाडि हटेको हुँ’ पाण्डेले भने, ‘कांग्रेसजनले नयाँशक्तिका संयोजक डा. भट्टराईलाई आफ्नै उम्मेदवारका रुपमा स्वीकार्नुपर्छ र आत्मसात गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?