Comments Add Comment

उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस

उम्मेदवार भन्छन्: मलाई नलड्न निर्देशन छ

२२ कात्तिक, सप्तरी । प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नं. २ का संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णयबाट नेपाली कांग्रेस पछि हटेको छ ।

कांग्रेसले महोत्तरी ३ मा महन्थ ठाकुर र सप्तरी २ मा यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन निवेदन दिएको थियो । यादवको क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका सकलदेव सुतिहारले उम्मेदवारी फिर्ताका लागि निवेदन पनि दिएका थिए । तर, ढिला भएका कारण फिर्ता भएन ।

उम्मेदवारी कायमै रहेपनि यादवलाई समर्थन गर्दै कांग्रेसका उम्मेदवारले प्रचार-प्रसार नगर्ने बताएका थिए । तर, अब कांग्रेसले प्रतिनिधिसभातर्फ पनि आफ्नै उम्मेदवारलाई भोट माग्ने भएको छ ।

बुधबार राजविराजस्थित पार्टी कार्यालयमा भएको बैठकले आफ्नै उम्मेदवारलाई भोट माग्ने निर्णय गरेको हो ।

भेलामा सहभागी २ को (क) का कांग्रेस उम्मेदवार महानन्द यादवले क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका उम्मेदवारको लागि पनि मत माग्ने र प्रचार-प्रसारलाई तीव्र बनाउने निर्णय भएको बताए । ‘पार्टीका मुख्य सचिव कृष्ण पौडेलसँग म आफैं कुरा गरें,’ क्षेत्रिय सभापति समेत रहेका महानन्दले भने, ‘उहाँले समर्थन नरहेको भनेपछि हामी चुनावको तयारीमा लागेका छौं ।’

उनले क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार सकलदेव सुतिहारसहित दुबै प्रदेशका उम्मेदवारले संयुक्त रुपमा प्रचार प्रसार गर्दै मत माग्ने बताए ।

भेलामा कांग्रेसका सप्तरी सचिव रामकुमार यादव, सहसचिव महानन्द यादव, राजविराजका नगरपालिकाको १८ वटै वडाका वडा सभापति, नगर सभापति र अधिकांश क्षेत्रीय सभापतिहरुको उपस्थिति रहेको थियो ।

म चुनाव लड्दिनँः सुतिहार

यसैबीच सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि कांग्रेसको तर्फबाट उम्मेदवार बनेका सकलदेव सुतिहारले आफूले चुनाव नलड्ने बताएका छन् । ‘जिल्लामा के निर्णय भयो मलाई थाहा छैन,’ उनले भने, ‘तर, पार्टीले नै उम्मेदवारी फिर्ता लिन भनेपछि चुनाव लड्ने कुरा आएन ।’

जिल्लामा त कांग्रेसका मुख्य सचिवले केहि थाहा नभएको भन्दै प्रचार प्रसारको तयारी गरिएको छ नि ?’ प्रश्नको उत्तरमा उनले भने, ‘मुख्य सचिवलाई के थाहा हुन्छ ? पार्टी सभापति शेरबहादुर देउवाले नै चुनाव नलड्न निर्देशन दिएकाले चुनाव लड्ने कुरै आएन ।’

अहिले काठमाडौंमा रहेका सुतिहारले टेलिफोन सम्पर्कमा भने, ‘आफू चुनाव लड्दिनँ । तर अरु उम्मेदवारलाई जिताउन बिहीबार नै जिल्ला आउँदैछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment