Comments Add Comment

मेयर शाक्यले भने-जाम बढेर हैरान भयो, ट्राफिक प्रहरीले टेर्दैन


२६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको सवारी व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले असहयोग गरेको आरोप लगाएको छ ।

आइतवार सुन्धारा, जमल, रत्नपार्क लगायतका क्षेत्रको स्थलगत अवलोनपछि मेयर मेयर विद्यासुन्दर शाक्यले ट्राफिक प्रहरीले महानगरको योजनाअनुरुप काम नगरेको आरोप लगाए ।

‘मैले सडक छेउमा सार्वजनिक सवारी रोकेर यात्रु कुर्न दिनु हुँदैन भनेको छु । पटक-पटक पिक एण्ड ड्रप सिस्टम लागू गर्न आग्रह गरेपनि ट्राफिक प्रहरीले बेवास्ता गर्‍यो,’ शाक्यले भने,’समस्या हामीले दिएका सुझावलाई ट्राफिकले मनन नै गरेन ।’

उनले सडक छेउमा यात्रु कुरेर बसिरहने प्रवृत्तिले जाम बढेको सुनाए । त्यसले यात्रुलाई पनि सास्ती भएको र सडकको ट्राफिक व्यवस्था अस्तब्यस्त बनेको उनको दावी छ ।

‘सुन्धारामा सार्वजनिक सवारीहरु चौंथो लेनसम्म रोकेर यात्रु कुरिरहेका छन् । यसो गर्न नदिऔं भनेको ट्राफिकले पनि वास्ता गरेन,’शाक्यले भने,’ काठमाडौंको मुख्य भागमै जाम भएपछि शहरभरि त्यसको असर सबैतिर पर्छ । सुन्धारको जामले टेकुमा असर गर्छ ।’

उनले यात्रुले बस चढेर छिटो जाउँ भन्दै चालकसँग झगडा गर्नुपर्ने अवस्थाले समस्या मात्रै बढाएको बताए । पटक-पटक ‘पिक एण्ड ड्रप’ लागू गर्नेबारे ट्राफिकसँग छलफल भएपनि सडकमा त्यसको कार्यान्वयन नहुनु दुःखद भएको महानगरको ठहर छ ।

‘अब सडकमा गाडी रोकेर बस्ने नै होइन । झर्ने यात्रुलाई ड्रप गरेर चढ्ने यात्रुलाई हालेर गाडी कुदिहाल्ने हो,’ शाक्यले भने,’यसको ध्यानाकर्षण मिडियाले पनि ट्राफिकलाई गराइदिनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment