Comments Add Comment

जन्मँदै मधुमेहको जोखिममा नेपाली

रोगी दुबोमा हिँड्नु हानिकारक !

काठमाडौं । फलानोलाई सुगर भएछ यार ! मलाई त सुगरले दिक्कै पारिसक्यो ।

भेटघाट र जमघटहरुमा हिजोआज यस्ता संवाद सुनिनु सामान्यजस्तै भइसकेको छ ।

विश्वमा महामारीका रुपमा फैलिरहेको मधुमेहसम्बन्धी प्रशस्त जानकारी दिइँदै आएको छ । यसबारे जति धेरै सूचना र सचेतना प्रवाह भइरहेको छ, त्यही मात्रामा भ्रम पनि पैदा हुँदै गएको छ र सर्वसाधारण भ्रमित बनिरहेका छन् ।

बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा एक सय २६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि सयदेखि एक सय २६ मिलिग्रामबीचमा देखियो भने मधुमेह लाग्ने सम्भावना रहेको मानिन्छ ।

यस्तै, खाना खाएपछि सुगर दुई सय मिलिग्रामभन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ । चिनीको मात्रा एक सय ४० देखि एक सय ९९ सम्म हुनुलाई जोखिम मानिन्छ । रगतमा ग्लुकोजको मात्रा एक सय ८० मिलिग्रामभन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर मधुमेह पत्ता लगाउन सकिन्छ ।

एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । आठ घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०-१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको दुई घण्टामा जाँच्दा यो मात्रा करिब एक सय ४० मिलिग्रामसम्म पुग्न सक्छ ।

जन्मँदै जोखिममा

दक्षिण एसिया मधुमेहको उच्च जोखिममा छ । एसियाली मुुलुकमध्ये भारत र चीनमा मधुमेहका रोगीको संख्या उच्च छ । दुवैका बीचमा रहेको नेपाल पनि यसबाट अछुतो छैन ।

यस क्षेत्रमा मधुमेह उच्च देखिनुको कारण वंशाणुगत हो । कतिपय कुरा प्राकृतिक हुन्छन् । जब प्रकृतिविरुद्ध मानवीय व्यवहार जान थाल्छ, त्यसपछि रोगको विकास हुने हो । यसै पनि रगतमा चिनी वा चिल्लो मात्रा हुनु अस्वाभाविक होइन तर त्यसको प्रयोग भएन भने रोगको रुप लिन्छ ।

यस क्षेत्रमा मधुमेह हुनुको कारण जातीय पनि हो । यस क्षेत्रका जातिमा वंशाणुगत रुपमै चिनीको मात्रा उच्च हुन्छ ।

त्यसको मुख्य कारण हो, विगतमा उनीहरुको खानामा ग्लुकोजको मात्रा कम हुनु । हाम्रा पुर्खाले खानामा भातभन्दा बढी तरकारी र फलफूल खान्थे । चिल्लो पदार्थ उच्च भएका खाना पनि नियमित हुन्थेनन् ।

यस क्षेत्रका बासिन्दाको जीवनशैली कडा शारीरिक श्रम हो । कृषि कार्य गर्ने भएकाले कडा शारीरिक श्रम गर्नुपथ्र्याे । बाह्य स्रोतबाट चिनीको आपूर्ति कम तर खपत धेरै हुने भएपछि यस क्षेत्रका जातिको रगतमा प्राकृतिक रुपमै चिनीको मात्रा उच्च रहन्थ्यो ।

त्यो प्रक्रिया वंशाणुगत रुपमा सर्दै गयो तर अहिले आएर जीवनशैलीमा एकाएक परिवर्तन आयो । भौतिक सुख, सुविधाका कारण शारीरिक परिश्रम घट्यो र पश्चिमा देशको खानपान अपनाइयो, जुन प्रकृतिअनुसार ठीक उल्टो भयो । शरीरमा ग्लुकोजको बाह्य आपूर्ति उच्च भयो भने शारीरिक परिश्रम कम भयो । सोही कारण मधुमेहको समस्या निकै बढ्न गयो ।

बदलौं जीवनशैली

नेपालीमा देखिएको मधुमेहको मूल कारण बदलिँदो जीवनशैली नै हो । अब हामीले यो रोगबाट जोगिन फेरि पुर्खाकै जस्तो जीवनशैली अपनाउन सक्छौं ।

खानामा भात कम, तरकारी र दाल बढी खान सकिन्छ । चिल्लो खानेकुरा कम खाने गर्नुपर्छ । विशेषगरी शारीरिक व्यायाम बढाउनु पर्छ । त्यसका नाममा एकाबिहानै दौडिने धेरै हुन्छन् ।

मधुमेहको समस्या दूर गर्न भने खाना खाएको एक घण्टापछि हिँड्दा राम्रो हुन्छ । नेपालमा साइकल लेन नै छैन । यो रोगको महामारी नियन्त्रण गर्न सरकारी तवरबाटै साइकल प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्छ ।

गोडाको विशेष हेरचाह गरौं

मधुमेहका कारण आँखा, किड्नी, मुटु र मिर्गौलामा क्षति पुग्ने कुरा धेरैलाई थाहा छ । अति संवेदशील अंग भएकाले यिनलाई जोगाउन मान्छेहरुले बेला-बेला जाँच गरिरहेका पनि हुन्छन् ।

तर, विश्वमा हरेक ३० सेकेन्डको अन्तरमा एक जनाले मधुमेहकै कारण खुट्टा गुमाइरहेका हुन्छन् । मधुमेह भइसकेकाले खुट्टाको उचित हेरचाह गर्न नसक्दा यस्तो अवस्था आएको हो ।

मधुमेह भएपछि दिमागबाट सबैभन्दा टाढाको अंग खुट्टाको चेतनास्तर कमजोर हुन्छ, जसका कारण घाउचोट लाग्ने सम्भावना उच्च रहन्छ ।

मधुमेह भएपछि हरियो दुबोमा हिँड्नुपर्छ भन्ने ठूलो भ्रम छ । यो सबैभन्दा खतरनाक हो । किनभने खाली हिँड्दा त्यहाँ रहने कुनै पनि वस्तुले खुट्टामा घाउ लगाउन सक्छन् ।

यो रोग भएका बिरामीको घाउचोट ठीक हुने सम्भावना कम हुने भएकाले त्यो क्यान्सरमा परिणत हुन सक्छ । तातोपानीले खुट्टा धुने नाममा असाध्यै तातोपानी पर्न सक्नेतर्फ होसियार हुनुपर्छ । जहिले पनि तातोपानी प्रयोग गर्नुअघि हातले त्यसको ताप मापन गर्नुपर्छ ।

सुतीको मोजा लगाउने गरौं, जसले पसिना सोस्छ ।

जुत्ता किन्दा साँझ मात्रै किन्नुपर्छ । किनकि, दिनभरि सुन्निएको खुट्टा बिहान सुक्छ, फेरि दिनमा सुन्निन्छ । बिहान किनेको जुत्ता दिउँसो टाइट भएर फोका उठाउने हुन सक्छ ।

खुट्टालाई सफा राख्नुपर्छ, धोएपछि औंलाको काप पनि धुने गर्नुपर्छ । पैताला सधैं हेर्नुपर्छ, यत्तिकै हेर्न कठिन हुने हुनाले ऐना देखाउनुपर्छ ।

(प्रा.डा श्रेष्ठ वरिष्ठ चिकित्सक तथा मधुमेह रोग विशेषज्ञ हुन् । उनी हाल थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment