Comments Add Comment

यी हुन् काठमाडौंका मुख्य प्रतिस्पर्धी २४ उम्मेदवार

१ मंसिर, काठमाडौं । काठमाडौंका १० वटा क्षेत्रमा प्रतिनिधिसभातर्फ यसपालि एक सय ७१ जना चुनावी मैदानमा छन् ।

तीमध्येका २४ जनालाई मुख्य प्रतिस्पर्धीका रुपमा मतदाताले हेरेको पाइएको छ । काठमाडौंका सबै क्षेत्रको चुनावी अभियान उत्तिकै चर्चामा छ ।

क्षेत्र नम्बर १ मा कांग्रेस नेता प्रकाशमान सिंह चुनावी मैदानमा छन् । उनलाई वाम गठबन्धनबाट माओवादीका अनिल शर्माले चुनौती दिँदैछन् । दुवै उम्मेदवारको साझा चुनौतीका रुपमा विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल वाम गठबन्धनका उम्मेदवार हुन् । कांग्रेसका दीपक कुइँकेल उनका प्रतिद्वन्द्वी हुन् । विवेकशील साझा पार्टीका डा. सूर्यराज आचार्यले दुवै नेताको विकल्पका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

क्षेत्र नम्बर ३ मा कांग्रेस नेतृ एवं सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत मैदानमा छिन् । उनका प्रतिस्पर्धी एमालेका कृष्ण राई वाम गठबन्धनका उम्मेदवार हुन् ।

यस्तै, क्षेत्र नम्बर ४ का कांग्रेस युवा नेता गगन थापा उम्मेदवार छन् । थापालाई वाम गठबन्धनका डा. राजन भट्टराईले चुनौती दिँदैछन् । सोही क्षेत्रबाट उम्मेदवारी दिएकी छन्, विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले पनि ।

क्षेत्र नम्बर ५ मा एमाले महासचिव ईश्वर पोखरेल वाम गठबन्धनका उम्मेदवार हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका प्रकाशशरण महत छन् । सोही क्षेत्रबाट विवेकशील साझाका उज्वल थापा पनि उठेका छन् ।

काठमाडौं-६ मा कांग्रेसबाट रक्षामन्त्री भीमसेनदास प्रधान र माओवादीका झक्कु सुवेदीबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, काठमाडौं-७ मा वाम गठबन्धनबाट एमालेका रामवीर मानन्धर मैदानमा छन् । उनलाई कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राप्रपाका बिक्रमबहादुर थापाले टक्कर दिँदैछन् ।

काठमाडौं-८ मा कांग्रेसबाट पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशी उठेका छन् । एमालेका जीवनराम श्रेष्ठले उनलाई चुनौती दिँदैछन् ।

काठमाडौं-९ मा कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई एमालेका कृष्णगोपाल श्रेष्ठले चुनौती दिँदैछन् । यसैगरी, काठमाडौं-१० मा कांग्रेसबाट युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसी मैदानमा छन् । उनलाई माओवादीका हीतमान शाक्यले चुनौती दिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment