+
+

तीन दशकदेखि पूर्जाविहीन जग्गाधनीः कहिले समाधान होला झोडा समस्या ?

नेताहरुबाट समस्या हल हुने विश्वास छैन, मतदातामा

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ मंसिर ११ गते ८:४१

११ मंसिर, विराटनगर । मोरङको पथरी शनिश्चरे-९ का फूलबहादुर लिम्बु सधैंझैं घर नजिकैको सडकका बाँसको चोया काड्न व्यस्त थिए । उनलाई चुनाव आएको थाहा छ तर त्यसप्रति खासै चासो छैन ।

५८ वर्षीय उनी भन्छन्, ‘धेरै नेतालाई भोट दिएर जिताइयो तर हाम्रो समस्या कहिल्यै सुल्झेन । हामी जस्ताको त्यस्तै ।’

उनको परिवार उक्त ठाउँमा ०२७ सालदेखि बसोवास गर्दै आएको छ । भोगचलन गर्दै आएको १० कठ्ठाको धनीपूर्जा हातमा छैन । संखुवासभाबाट झरेका उनको परिवारले झोडा फाँडेर त्यहाँ बसोवास गर्न थालेका थिए ।

‘जंगल फाँडेर यहाँ बसेको ३० वर्ष हुन लाग्यो तर जग्गाको धनी अहिलेसम्म हुन सकिएको छैन,’ उनी भन्छन् । भोट माग्न आउने सबैजसो नेताले उनलाई जग्गाको धनी बनाउने आश्वासन दिन थालेको पनि तीन दशक बित्न लाग्यो । भन्छन्, ‘अब त विश्वास लाग्न छाड्यो ।’

पथरी शनिश्चरे-४ का रामबहादुर लिम्बु ७६ वर्ष कटे । त्यहाँ बस्न थालेको ०३६ सालदेखि हो । तर, अझै जग्गाधनी बन्न सकेका छैनन् ।

दुई नाति र चार नातिनीका धनी उनले आफ्नो लालपूर्जा अर्कैको हातमा छ भन्ने सुनेका छन् । कोसँग छ त ? उनीसँग जवाफ छैन । भन्छन्, ‘मर्ने बेलामा भए पनि धनीपूर्जा देख्न पाए सजिलै प्राण जाने थियो ।’

जग्गा एउटै, स्वामित्व र भोगचलनमा फरक-फरक व्यक्ति । मोरङ र सुनसरीका धेरै परिवारले ३१ वर्षदेखि भोगिरहेको समस्या हो यो

पथरी, शनिश्चिरे, हसन्दह र बयरवनका केही परिवार तीन दशकदेखि जग्गाको दोहोरो स्वामित्वको विवादमा अल्झेका छन् । स्थानीय प्रशासनले विवाद समाधान गर्ने प्रयास पटक-पटक गरिसकेको छ । तर, सफलता हात लागेको छैन ।

साविकका पथरी र शनिश्चरे जोडेर नगरपालिका बनेको छ । तत्कालीन बयरवन गाविस अहिले कानेपोखरी गाउँपालिकामा पर्छ । यी सबै ठाउँ अहिले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा समावेश भएका छन् ।

दोहोरो स्वामित्व विवाद रहेको हसन्दह भने क्षेत्र नम्बर २ मा पर्छ ।

जग्गा एउटै, स्वामित्व र भोगचलनमा फरक-फरक व्यक्ति । मोरङ र सुनसरीका धेरै परिवारले ३१ वर्षदेखि भोगिरहेको समस्या हो यो ।

विगतमा पथरी शनिश्चरेका बासिन्दालाई हात्ती लगाएर लखेट्न खोजियो । सेना लगाएर धपाउने प्रयास भयो । किसानका पक्षमा आन्दोलन गरेका कांग्रेस नेता देवानसिंह राईको हत्या भयो । त्यसैले ‘बयरवन झोडाकाण्ड’को इतिहास रक्तरञ्जित छ ।

३१ वर्षपछि सर्वोच्च अदालतले कोशीटप्पुको मध्यवर्ती क्षेत्रलगायतबाट उठाएर त्यहाँ पुर्‍याइएका परिवारलाई पुरानो लालपूर्जाअनुसार बसोवास गरिरहेको जग्गा सदर गर्न आदेश दिएको छ । उक्त आदेशले फेरि सुनसरी र मोरङमा झोडा विवाद बल्झेको छ ।

‘दोहोरो स्वामित्व विवाद सुल्झाउने भए क्षतिपूर्तिलगायत विषयमा राज्यले ध्यान दिनुपर्छ,’ पथरी शनिश्चरे-९ का वडाध्यक्ष भानुभक्त राई भन्छन् ।

के हो समस्या ?

मोरङका साविकका चार वटा गाविसमा बसोवास गरिरहेको ३० हजार जनसंख्या भूमिहीनजस्तै छ । जमिन छ, भोगचलन गरिरहेका छन् तर लालपूर्जा नहुँदा जुनसुकै बेला उठिवास हुनुपर्ने त्रासमा छन् ।

२०३५ र ०३६ सालको राजनीतिक उथलपुथलसँगै विभिन्न पहाडी जिल्लाबाट बसाइँ सरेका मानिस पथरी, शनिश्चरे, बयरवन र हसन्दहमा आइपुगे । कांग्रेसले आफ्नो मुक्ति सेनाका परिवारजनलाई बयरवनमा पुनःस्थापना गर्ने प्रयास गरेको थियो ।

पञ्चायती सरकारले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष, इलामका बाँझो, चुलाचुली र मोरङका हम्सेदुम्से, चन्दनेलगायत क्षेत्रमा बसोवास गर्ने मानिसलाई ती गाविसमा स्थानान्तरण गरेको थियो । त्यसको नाम दिइएको थियो, केचना सट्टभर्ना क्षेत्र ।

तत्कालीन सरकारबाट करिव पाँच सय परिवारले मोरङका केचना, बयरवन क्षेत्रमा सट्टाभर्ना जग्गा पाएका थिए । सट्टाभर्ना पाएकाहरुले लालपूर्जा पाए तर भोगचलन गरिरहेकाहरु सुकुम्वासी बने ।

केचना क्षेत्रअन्तर्गत् साविकका पथरी, शनिश्चरे, बयरवन र हसन्दह गाविस पर्छन् ।

तीन दशकदेखि भोग गर्दै आएको जग्गा नछाड्ने अडानमा सुकुम्वासी परिवार छन् भने सट्टाभर्ना पाएकाहरु जसरी पनि प्राप्त गरेरै छाड्ने मनस्थितिमा ।

करिब एक हजार बिघा जमिनमा द्वैध स्वामित्व छ ।

भोग गर्दै आएकाहरुले घरधुरी कर तिरेको प्रमाण पनि सुरक्षित राखेका छन् । स्वामित्व विवाद हुँदाहुँदै पनि घरजग्गाको बेचबिखनसमेत हुँदै आएको छ । त्यसले समस्यालाई अझ जटिल बनेको छ ।

दर्जनौं आयोग, समस्या जहाँको त्यहीं

सरकारी सट्टाभर्नाबाट उत्पन्न समस्या समाधान गर्न धेरै आयोग बने । तर, ती कुनैले समस्या समाधान गर्न सकेनन् । त्यसरी गठन हुने आयोगका पदाधिकारीले स्थानीयस्तरमा पुगेर समस्या पहिचान गरेर सरकारलाई प्रतिवेदन दिएको देखिँदैन ।

२०३६ सालमै गणेशबहादुर खत्री र जयदेव भट्टको आयोग बनेको थियो । त्यस आयोगले दुई नम्बर श्रेस्ताको छानविन गरेको थियो । तर, छानविन पूरा गर्न नसकेपछि किसानले धनीपूर्जा पाएनन् ।

त्यसपछि ०४१ सालमा न्यायाधीश तुंगध्वज खाँडको अध्यक्षतामा अर्को आयोग बन्यो । उक्त आयोगले भूगोलको वस्तुस्थिति नहेरी व्यक्तिको दाबीकै आधारमा गलत नक्सा बनाएर कित्ताकाट गर्दै लालपूर्जा बाँडेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

एउटाले जोतभोग गरेको जग्गामा अर्काले धनीपूर्जा पाएपछि थप समस्या उत्पन्न भयो । खाँड आयोगले समस्या सुल्झाउनुको साटो झनै बढायो ।

कोशीटप्पुबाट सट्टाभर्ना पाएर मोरङको पथरीमा केही मानिस पुग्दा त्यहाँ पहिल्यै जग्गा भोगचलन गरिरहेका मानिस थिए, जसले गर्दा एउटै जग्गामा दोहोरो स्वामित्व खडा हुन गई थप विवाद उत्पन्न भयो ।

सरकारले केही समयअघि मालपोत कार्यालय सुनसरीका तत्कालीन प्रमुख श्रवणकुमार पोखरेलको संयोजकत्वमा समस्या अध्ययन गर्न तीन सदस्यीय समिति बनाएको थियो । उक्त समितिले सम्बन्धित मन्त्रालयमा प्रतिवेदन बुझाउने भनिए पनि काम गर्न सकेन ।

के भन्छन् त्यस क्षेत्रका उम्मेदवार

कम्युनिस्टको गढ भनेर चित्रण गरिँदै आएको मोरङ क्षेत्र नम्बर ३ मा एमाले नेता भानुभक्त ढकाल चुनावी मैदानमा छन् । उनीसँग नोबेल मेडिकल कलेज, विराटनगरका सञ्चालक सुनिल शर्मा प्रतिस्पर्धामा छन् ।

दुवै उम्मेदवारले दोहोरो स्वामित्वको समस्या समाधान गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका छन् ।

वाम गठबन्धनका उम्मेदवार ढकालले दोहोरो स्वामित्वको विवाद सुल्झाउने आफ्नो पहिलो प्रयास हुने बताए ।

कांग्रेसका उम्मेदवार शर्माले पनि यसबारे गहन अध्ययन गरेर समस्या समाधान गराउने बताए । उनले भने, ‘घरदैलोमा पुग्दा धेरैले धनीपूर्जाको पहल गरिदिन आग्रह गरेका छन्, त्यसमा लागिपर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?