Comments Add Comment

ताप्लेजुङमा दमकल बेवारिसे, आगो केले निभाउने ?


१४ मंसिर, ताप्लेजुङ । आगलागीका बेला प्रयोग हुने दमकल फुङ्लिङ नगरपालिकाका लागि खुर्पाकाे बिड भएकाे छ ।  नगरपालिकाले दमकल जतन नगरी  खुला अाकाशमुनि बेवारिसे छाड्दा बिग्रिदै गएकाे छ ।

दुई वर्षअघि ताप्लेजुङमा ल्याइएको दमकल सुरक्षित स्थानको अभावमा मेची राजमार्गमा रहेको सशस्त्र प्रहरीको चेक प्वाइन्टछेउमा पार्किङ गरी राखिएको छ ।

खुल्ला आकाशमुनि राखिएको दमकल घाम र पानीले खिया लाग्न थालेको छ । दमकलको रेखदेख गर्दै आएको सशस्त्र प्रहरीका अनुसार, ब्याट्री डाउन हुँदा दमकल स्टार्ट हुनै छाडेको छ । अहिले कुनै स्थानमा आगलागी भइहालेमा निभाउने दमकल जिल्लामा छैन ।

अलपत्र अवस्थामा राखिएको दमकललाई सुरक्षित स्थानमा सार्नुपर्नेमा नगरपालिकाले भने बिग्रिएको ब्याट्री खरिद प्रक्रिया अघि बढाएको छ ।

अत्यावश्यकीय सवारी साधनको रुपमा लिइने दमकल बेवारीसे बन्दा पनि नगरपालिकाले चासो नदिएको स्थानीयको गुनासो छ ।

केही वर्ष अघिसम्म जिल्लामा दमकल नहुँदा सयाैं घर जलेर नष्ट भएपछि जिल्लाबासी र नगरपालिकाको दबाबमा सरकारले ताप्लेजुङको फुङ्लिङलाई दमकल दिएको थियो । तर, त्यही दमकल पनि बेवारिसे अवस्थामा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment