Comments Add Comment

अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो

१७ मंसिर, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका खेलका लागि युएईमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा केन्याबिरुद्ध ६ विकेटको जित निकालेको छ ।

नेपाल शुक्रबार भएको पहिलो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।

पाँच जना सिनियर खेलाडीबिना मैदानमा उत्रिएको नेपालले केन्याले दिएको १११ रनको लक्ष्य १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी र सोमपाल कामीलाई आजको खेलमा आराम दिइएको थियो ।

नेपालले सुरुवाती तीन विकेट सस्तैमा गुमाएको थियो । इनिङको पहिलो बलमै नेपालका ओपनर दिलिप नाथ बोल्ड भएका थिए । दोस्रो ओभरमा अर्का ओपनर सागर पुन पनि व्यक्तिगत १ रनमा पेविलियन फर्किए । अनिल साह १३ रन बनाएर आउट हुँदा नेपालले २९ रन बनाएको थियो ।

तर चौथो विकेटका लागि कप्तान शरद भेषावकर र युवा स्टार दिपेन्द्र सिंह ऐरीले ७६ रनको साझेदारी गर्दै स्कोर १०५ पुर्‍याए । जितका लागि ६ रन आवश्यक हुँदा व्यक्तिगत ४६ रन जोडेका दिपेन्द्र १९औं ओभरमा रनआउट हुन पुगे । त्यसपछि आएका आरिफ र शरदले इनिङको अन्त्य गरे । शरद ३१ र आरिफ ४ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ३२.२ ओभरमा सबै विकेट गुमाएर ११० रनको झिनो योगफल बनाएको थियो । केन्याका लागि ओपनर सुशव पटेल र अलेक्सुमा ओवान्दाले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेपछि अन्यले उल्लेखनीय रन बटुल्न सकेनन् । पटेलले २७ र ओवान्दाले २५ रन बनाए । उनीहरुका अलावा गुरपि्रत सिंहले पनि २२ रन बनाए । केन्याका ४ ब्याट्सम्यान खाता खोन्लै नपाइ पेविलियन फर्केका थिए ।

बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिँला आरिफ शेखले २ तथा करण केसी, सागर पुन र सन्दिप लामिछानेले १/१ विकेट लिए ।

नेपाले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका दुई खेलहरु नेपालले युएईसँग आगामी बुधबार र शुक्रबार खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment