Comments Add Comment

डडेल्धुरामा मतदाता परिचयपत्र वितरण सुरु

आशिष मल्ल । १९ मंसिर, डडेल्धुरा । दोस्रोचरण अन्र्तगत यही मंसिर २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि डडेल्धुरामा बुधबारदेखि जिल्लामा रहेका ११७ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ ।

डडेल्धुरामा पहिलेका मतदाता परिचयपत्र नलगेका र थप नयाँ मतदाता परिचयपत्रका लागि नाम दर्ता भएका गरी जम्मा १६ हजार ५ सय ७ मतदाता परिचय पत्र वितरण हुने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी कृष्ण नायकले जनाकारी दिए ।

बुधबार र बिहीबार मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । मतदाता परिचयपत्र लिनका लागि युवादेखि वृद्धवृद्धाको समेत उलेख्य सहभागिता रहेको छ ।

मतदाता परिचयपत्र लिनका लागि आएकाहरुलाई मतदान केन्द्रमै मतदाता शिक्षा समेत दिइन थालिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी नायकले जानकारी दिए ।

डडेल्धुरामा दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी पूरा भएको जनाइएको छ ।

जिल्लामा रहेका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेको डडेल्धुराका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी मतदानस्थल व्यवस्थापन गर्ने काम भइरहेको छ ।

निर्वाचनको सुरक्षा व्यवस्था पनि कडा पारिएको मुख्य निर्वाचन अधिकृतले जनाएका छन ।

जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा कर्मचारी व्यवस्थापनदेखि मतदान स्थलमा आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्ने काम गरिरहेको छ ।

एक प्रतिनिधि र दुई प्रदेशसभा सदस्य क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ६ सय ३२ मतदाता रहेका छन् । ७७ मतदानस्थल रहेको डडेल्धुरामा १ सय १७ मतदान केन्द्र रहेका छन् ।

सुरक्षाका हिसावले सवेदनशीलतालाई हेरी नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र र नेपाली सेना खटाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

अति, मध्यम र न्यून संवेदनशील स्थानमा रहेका मतदान केन्द्रहरुमा जोखिमता हेरी सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment