Comments Add Comment

प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल

'औपचारिकता पूरा गर्न मात्र बाँकी छ'

२१ मंसिर, दाङ । नेकपा एमालेका नेता शंकर पोखरेलले प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीमा आफ्नो विकल्प नभएको बताएका छन् ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री बनाउने औपचारिकता पूरा गर्न मात्र बाँकी रहेको बताए ।

दाङको घोराहीमा अनलाइनखबरसँग कुरा गर्दै नेता पोखरेलले भने, ‘प्रचण्डको प्रस्ताव र पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन बनिसकेपछि प्रक्रियाको हिसाबले औपचारिकता त बाँकी छन् तर अरु ठूलो कुनै कुरा छैन । सातवटा प्रदेशहरुमध्ये यो एउटा मात्रै यस्तो प्रदेश हो जहाँ नेतृत्वको प्रश्न आधारभूतरुपमा टुंगिएको छ ।’

देशभर जस्तै दाङमा पनि एमाले र माओवादी मिलेर चुनाव लडेका छन् । पोखरेल दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभामा र  माओवादी नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् ।

नेता पोखरेलले दाङमा वाम गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित रहेको दावीसमेत गरे ।

‘देशभरै वामपन्थीको लहर छ । दाङमा दुईवटा ठूला पार्टीहरु बीचको तालमेलले गर्दा विजयको सन्दर्भमा कुनै प्रश्न छैन,’ पोखरेलले भने, ‘प्रदेशको नेतृत्व गर्ने गरी मैले जुन प्रकारको जिम्मेवारी प्राप्त गरेको छु । कति लोकप्रिय मतका साथ दंगाली जनताले पठाउनुहुन्छ भन्ने प्रश्न नै यतिबेला मुख्य हो । मुलतः वाम उम्मेदवारले कति मत प्राप्त गर्छन् भन्ने प्रश्न मुख्य हो ।’

उनले चुनावमा आफ्नो प्रतिस्पर्धा अरु कोही नभएर आफैसँग भएको बताए ।

‘मेरो प्रतिस्पर्धी म आफै हुँ । किनकी मैले जनतालाई कति कुरा बुझाउन सक्छु त्यसका आधारमा परिणाम प्राप्त हुन्छ । हाम्रा एजेण्डा यति प्रभावकारी छन् कि जति हामी जनताको बीचमा पुग्न सक्छौं त्यति नै जनताको मत प्राप्त गर्छौं,’ उनले भने ।

उनले वाम गठबन्धनले राजनीतिलाई नयाँ मोडमा लैजानेसमेत बताए । माओवादी नेता महरा र आफू मिलेर दाङ जिल्लामात्र नभइ पाँच नम्बर प्रदेशलाई समृद्धिमा लैजाने बताए ।

पोखरेलले भने, ‘पाँच नम्बर प्रदेश भूराजनीतिक हिसाबले अत्यन्त महत्वपूर्ण प्रदेश बन्न पुगेको छ । पहाड र तराई जोडिएको सबैभन्दा चर्चाको केन्द्रविन्दु बनेको छ । त्यसको नेतृत्वको जिम्मेवारी प्रमुख नेताहरुले मलाई सुम्पनु भएको छ । त्यो च्यालेन्जलाई मैले आत्मसाथ गरेको छु ।’

उनले थपे, ‘दाङको एकीकृत विकासका लागि हाम्रा केही सोचहरु छन् । मुलतः कृष्णबहादुर महरा जी र म मिलेर विकसित र समृद्ध दाङ निर्माण गर्ने संकल्प गरेका छौं । यो परिप्रेक्ष्यमा जनताको साझा उम्मेदवारको रुपमा हामी स्वीकार्य छौं ।’

दाङलाई प्रदेश ५ को राजधानी बनाउने आफूहरुको अठोट रहेको र त्यसलाई पूरा गर्ने पोखरेलले बताए ।

मध्यपश्चिममै दाङमा मात्र दुईवटा उपमहानगरपालिका भएको, सबैभन्दा सुरक्षित उपत्यका भएको, रुकुमदेखि मर्चवार र बर्दियादेखि नवलपुरसम्मको केन्द्रमा परेको, मानव बसोबासका लागि उपयुक्त भएको र भौतिक पूर्वाधार पनि भएकाले प्रदेश नम्बर ५ को राजधानी दाङ नै उपयुक्त भएको उनले बताए ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment