Comments Add Comment

भोट नहाल्ने ‘कांग्रेस मामा’ बाबुरामको विजयी जुलुसमा !

२५ मंसिर, गोरखा । कांग्रेसले नयाँ शक्ति सँग गरेको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउदै आएका गोरखा छोप्राकका चन्द्रप्रसाद न्यौपानेले बाबुराम भट्टराइलाई भोट हालेनन् ।

पार्टीको दर्शन र बिचार विपरित तालमेल भएको भन्दै उनी नेतृत्वको गोरखा क्षेत्र नम्वर २ का केही काग्रेस कार्यकर्ताले प्रत्यक्षतर्फ मतदान नगर्ने बताउँदै आएका थिए । गोरखा २ मा काग्रेसको उम्मेदवार नभएको भन्दै कात्तिक १९ गते पत्रकार सम्मलेन गर्दै उनीहरुले मतदानमा विवेक प्रयोग गर्न सबैलाइ आग्रह गरे । जबकी नाताले न्यौपाने र भट्टराई मामा-भान्जा पर्छन् ।

भट्टराईलाई मतदान नगर्ने तिनै न्यौपाने आइतवार गोरखामा भएको बिजयी जुलुसमा भने सहभागी भए । विजयी जुलुसमा प्रयोग भएको गाडी भित्र उनी थिए भने भट्टराइसहित गोरखा २ का विजयी उम्मेदवार गाडी माथि थिए । सोमबार न्यौपानेलाई गोरखा सदरमुकाममा भेट्दा हामीले सोध्यौं, ‘भट्टराइलाई भोट हाल्दिन भन्नु भएको थियो तर, विजयी जुलुसमा त सँगै हुनुभयो ?’

न्यौपानेले भने, ‘प्रकाशचन्ऽ दवाडीले तपाई बुढो हुनुहुन्छ हिड्न गाह्रो होला, मेरो गाडी भित्र बस्नुस् भन्यो, म भित्र बसेँ तर म चढेको गाडीमाथि भट्टराई रहेछन् थाहा नै भएन ।’

दवाडी कांग्रेसको तर्फबाट गोरखा २ को ख प्रदेश सभाका विजयी उमेदवार हुन् ।

न्यौपानेले प्रतिनिधिसभाको मतपत्रमा भोट नहालेको दाबी गरे । ‘प्रतिनिधि सभाको बाहेक अरु मतपत्र दिनु भनेको प्रतिनिधिसभाको मतपत्र नलिइ अरु दिन मिल्दैन भने’ न्यौपानेले भने, ‘मतपत्र त लिए तर, छाप नलगाई बाक्सामा खसालिदिए ।’

नाताले भान्जा परेपनि बाबुराम भट्टराईको जितप्रति उनी सन्तुष्टि नभएको उनले संकेत गरे । मत माग्नका लागि भट्टराइ चुनाव अघि न्यौपानेको घरमा पुगेका थिए । तर, उनले विवेक प्रयोग गर्छु भन्दै भट्टराइलाई फर्काइदिए ।

कुराकानीका क्रममा एक व्यक्ति आइपुगे । उनले आराम हुनुहुन्छ भन्दै न्यौपानेतिर हात अघि बढाए । तर, न्यौपानेले ठट्टा गर्दै भने, ‘बिटुलो हातसँग म हात मिलाउदिँन ।’ उनको असन्तुष्टि बाबुरामलाई भोट हालेकोमा थियो ।

उनले आफू क्षेत्र नम्वर १ को भएको बताएपछि बल्ल न्यौपानेले हात मिलाए । अरुलाई बोकेर हिँडेकाले काग्रेस डोले भएको आरोप न्यौपानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment