Comments Add Comment

प्रतिनिधिसभामा कांग्रेस दोस्रो कि तेस्रो पार्टी ?

इतिहासमै पहिलो पटक तेस्रो दल बन्ने संघारमा कांग्रेस


२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेस तेस्रो पार्टी भएको छ । त्यो पनि एमालेसँग मात्र होइन, माओवादी केन्द्रभन्दा पनि निकै कम सिटसहित ।

सोमबार साँझसम्ममा प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५६ स्थानको अन्तिम परिणाम आइसकेको छ । एमालेले ७४ स्थान जितेको छ भने माओवादीले ३४ सिट जित्दा कांग्रेसले २१ मा चित्त बुझाएको छ ।

संघीय समाजवादी फोरम र राजपाले १०/१० स्थानमा जित हात पारेका छन् । राजमो, राप्रपा, नयाँशक्ति र नेमकिपा १/१ सिटमा विजयी बनेका छन् । यस्तै, एमालेसमर्थित दुई स्वतन्त्र र माओवादीका बागी एक जना पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

अब नौ सिटको मात्र अन्तिम परिणाम आउन बाँकी छ, जसमध्ये पाँचमा एमाले, दुईमा माओवादी र दुई स्थानमा संघीय समाजवादी फोरमका उम्मेदवार अगाडि छन् । यदि यो अग्रताअनुसार नै परिणाम आयो भने कांग्रेस एमालेभन्दा ५८ र माओवादीभन्दा १५ सिटले पछाडि पर्नेछ ।

मत परिणामले दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेस दोस्रो कि तेस्रो पार्टी भन्ने प्रश्न जन्माएको छ ।

निर्वाचन आयोगका अनुसार दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा एक करोड पाँच लाख ८७ हजार पाँच सय २१ मत खसेको छ ।

प्रतिनिधिसभामा एक सय १० वटा समानुपातिक सिट छन् । कुन दलले कति सिट पाए भन्ने थाहा पाउन समानुपातिकको सबै मत गणना सक्नुपर्छ । प्रारम्भिक गणनामा एमाले पहिलो स्थानमा छ भने कांग्रेस दोस्रो र माओवादी तेस्रो देखिएका छन् ।

तर, एमाले र कांग्रेसबीच ठूलो अन्तर छैन । माओवादीले पाएको मत कांग्रेस/एमालेको भन्दा आधा छ ।

दोस्रो संविधानसभा र स्थानीय चुनावमा पनि माओवादीले कांग्रेस/एमालेले भन्दा आधा मत ल्याएको थियो । स्थानीय चुनावमा एमाले र कांग्रेसको मत ३१ लाख बढी थियो भने माओवादीको १६ लाख बढी । यदि यसपटक पनि यसभन्दा धेरै फरक हुने देखिँदैन ।

यदि त्यसो भएमा कांग्रेसलाई पछाडि पार्दै समग्रमा माओवादी दोस्रो पार्टी बन्न पनि सक्छ । अर्थात्, कांग्रेस प्रत्यक्षमा मात्र होइन, समग्रमा प्रतिनिधिसभाकै तेस्रो दल हुनेछ, जुन उसका लागि निकै कठिन अवस्था हो । कांग्रेसले अहिलेसम्म तेस्रो दल हुनु परेको थिएन ।

यद्यपि, गणना जारी रहेका नौ सिटमध्ये केहीमा कांग्रेस उम्मेदवारले जिते भने माओवादीसँगको दूरी १५ भन्दा कम हुनेछ र समानुपातिकमा पाएको मतले कांग्रेस दोस्रो हुनेछ ।

यसका वाबजुद समग्रमा प्रतिनिधिसभामा कांग्रेस र माओवादीको अन्तर केही सिट मात्र हुनेछ । कांग्रेस पहिलो दल एमालेभन्दा निकै सानो हैसियतमा हुनेमा भने अब शंका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment