Comments Add Comment

चित्रबहादुर केसी भन्छन्- एमाले र माओवादीसँग हाम्रो मतभेद छ

'भावनामा उद्वेलित हुँदा गलत परिणाम आउन सक्छ'

२६ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धनलाई पार्टी एकतासम्म लैजाने कुरामा भावनात्मकरुपमा उद्वेलित हुँदा गलत परिणाम आउन सक्ने बताएका छन् ।

एमाले र माओवादीसँग चुनावी तालमेल गरेर प्युठान र बाग्लुङमा चुनावी सफलता प्राप्त गरेपछि अध्यक्ष केसीले प्रेस वक्तव्य जारी गर्दै एमाले र माओवादीसँग आफूहरुको कैयौं कुरामा मतभेद रहेको बताएका छन् ।

राजमो अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री केसीले कम्युनिष्टहरुवीच एकता होस् भन्ने जनताको चाहनाप्रति आफूहरु सकारात्मक रहेको बताएका छन् ।

तर, एकताका लागि सिद्धान्त, राजनीति र संगठनमा ध्यान दिनुपर्ने बताउँदै केसीले वक्तव्यमा भनेका छन्- ‘ कम्युनिस्टप्रति सहानुभूति राख्ने जनसमुदायले हामीहरु सहितको संगठनात्मक एकताको अपेक्षा गरेका छन् । हामी त्यो अपेक्षाप्रति सकारात्मक छौं ।’

केसीले अगाडि भनेका छन्- ‘तर, त्यसका लागि हामीले सिद्धान्त, राजनीति र संगठनको विषयमा सही समझदारीमा पुग्नुपर्दछ, अन्यथा भावनात्मकरुपले उद्धेलित हुँदा त्यसको राष्ट्रिय राजनीतिमा नै गलत परिणाम आउन सक्छ । त्यसकारण यी सबै कुरामा विचार गरेर अहिले र आगामी राजनीतिका लागि पनि वाम गठबन्धनको विस्तार र मजबुत धरातल निर्माणका लागि हामीले जोड दिन्छौं ।’
वाम गठबन्धन गरेर निर्वाचन जिते पनि राष्ट्रिय जनमोर्चासँग एमाले र माओवादीको मतभेद रहेको केसीले बताएका छन् । उनको वक्तव्यमा भनिएको छ-‘सैद्धान्तिकरुपले वामपन्थी भए पनि एमाले, माओवादी र हाम्रा वीचमा कैयन राजनीतिक नीतिहरुमा मतभेद छ ।’

राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा दुई सिट जितेको छ । गिलास चिन्हबाट प्युठानमा जनमोर्चा उपाध्यक्ष दूर्गा पौडेलले प्रतिनिधिसभामा जितेकी छिन् भने बाग्लुङका दुईवटा प्रदेशसभामा कृष्ण थापा र टेकबहादुर घर्तीले जितेका छन् ।

केसीको पार्टी राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकसिट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने सम्भावना भने न्यून देखिएको छ । यो समाचार तयार पार्दासम्म जनमोर्चाले समानुपातिकतर्फ ३० हजार १४६ मत मात्रै पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment