Comments Add Comment

प्रदेश ७ का मन्त्री र पूर्वमन्त्री जो चुनावमा असफल भए

२८ मंसिर, कैलाली । प्रदेश नम्बर ७ बाट तीन बहालवाला र चार जना पूर्वमन्त्री गरी सात जना प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पराजित भएका छन् ।

बहालवाला भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायर, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी चुनावमा असफल भए । यसैगरी, पूर्वमन्त्रीहरु रामजनम चौधरी, मोहनसिंह राठौर, एनपी साउद र रमेश लेखक चुनावमा पराजित भएका छन् । पराजित सबै नेपाली कांग्रेसका हुन् ।

केन्द्रीय राजनीतिमा पहुँच राख्ने यी नेताहरुले पराजय भोगेपछि विभिन्नखाले टिकाटिप्पणी सुरु भएका छन् । ठूला नेताहरुको हार प्रदेश नम्बर ७ को लागि ‘ब्याड लक’ रहेको चर्चा परिचर्चा पनि हुन थालेको छ । तर, उनीहरुको हारले काम गर्नका लागि नयाँलाई अवसर मिलेको पनि बताउन थालिएको छ ।

कैलाली क्षेत्र नम्बर ३ बाट चुनाव लडेका पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरीलाई माओवादी उम्मेदवार एवम् पूर्व कृषि मन्त्री गौरीशंकर थारुले पराजित गरे । प्रतिनिधि सभा सदस्यमा पराजित चौधरीले २० हजार ४ सय ७३ मत प्राप्त गरेका छन् । विजयी भएका थारुले २४ हजार ८ सय ७३ मत पाएका छन् ।

यसैगरी, कैलाली क्षेत्र नम्बर २ मा पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरलाई उनकै पूर्वस्वकीय सचिव झपट रावलले हारको स्वाद चखाएका छन् । राठौर एमालेबाट २०६४ सालमा शिक्षा राज्यमन्त्री बन्दा रावल स्वकीय सचिव थिए ।

चुनावको मुखमा एमाले परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरी चुनावी मैदानमा उत्रेका राठौरले २३ हजार ३ सय १३ मत प्राप्त गरे । एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका रावलले २५ हजार १ सय ५७ मत प्राप्त गरी विजयी भए ।

यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा चुनाव लडेका बहालवाला मन्त्री जनकराज चौधरीले प्रदेश सभा सदस्यमा पराजय भोगेका छन् । मत प्राप्तीको हिसाबले तेस्रो स्थान चित्त बुझाएका चौधरीलाई ९ हजार ३ सय १३ मत आएको छ । यसअघि, ०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा उनी सोही क्षेत्रबाट संविधान सभा सदस्यमा अत्यधिक मतका साथ निर्वाचित भएका थिए ।

यसैगरी, नेपाली कांग्रेसका लोकपि्रय एवम् चतुर नेताका रुपमा चिनिएका पूर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन् । उनलाई झिनो मतान्तरका साथ नेकपा एमालेका उम्मेदवार डा. दिपकप्रकाश भट्टले पराजित गरे । लेखकलाई २६ हजार १ सय ०६ मत प्राप्त भयो । जित हासिल गरेका डा. भट्टले २६ हजार ३ सय ६४ भोट पाए ।

कञ्चनपुरमै क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा पूर्व सिचाइँमन्त्री एनपी साउद पनि पराजित भएका छन् । एमालेका नरबहादुर धामीले साउदलाई फराकिलो मतान्तरका साथ हारको स्वाद चखाए । पराजित साउदको पक्षमा २४ हजार ८ सय ९३ र विजयी धामीको पक्षमा ३३ हजार २ सय २० मत खसेको छ ।

डोटीबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडेका बहालवाला मन्त्री वीरबहादुर बलायरलाई एमालेका प्रेमबहादुर आलेमगरले पराजित गरे । मन्त्री बलायरले ३० हजार ८ सय ७८ मत प्राप्त गरेर हारको स्वाद चाख्न बाध्य भएका छन् । विजयी आलेमगरको पक्षमा ३२ हजार ५ सय १० मत आएको छ ।

गत ०७० सालको संविधान सभाको चुनावमा दुई क्षेत्र रहेको डोटीबाट आले र बलायर दुबैजना निर्वाचित भएका थिए ।

यस्तै, बहालवाला वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द बैतडीबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन् । उनलाई पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारीले ३९ हजार ५ सय २४ मत ल्याएर पराजित गरे । चुनावमा हारेका मन्त्री चन्दले २८ हजार २ सय ९१ मत पाए ।

सात जना भीआईपी चुनाव हारे पनि भीभीआईपी प्रधानमन्त्री शेरबहादुर देउवा सहित पूर्व उपप्रधानमन्त्री भीम रावल, पूर्व मन्त्रीद्वय लेखराज भट्ट र गौरीशंकर थारुले सफलता प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा डडेल्धुराबाट, माओवादी नेताद्वय भट्ट र थारु क्रमशः कैलाली क्षेत्र नम्बर ४ र ३ बाट विजयीको माला लगाए ।

यसैगरी, नेकपा एमालेका उपाध्यक्ष समेत रहेका भीम रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट जित हासिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment